शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बीमावापतको रकम भुक्तानी गर्न उच्च अदालतको परमादेश

बिहीबार, ०९ असार २०७९, ०९ : ५४
बिहीबार, ०९ असार २०७९

उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासले कोरोना  विपक्षी बीमा कम्पनीको नाममा परमादेश आदेश जारी गरेको छ । 

कोरोना बीमासम्बन्धी रिटको अन्तिम सुनुवाइ गर्दै नेपालगञ्ज उच्च अदालतका न्यायाधीश केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासले विपक्षी बीमा कम्पनीको नाममा सो आदेश जारी गरेको हो । रिट निवेदकको पक्षमा अधिवक्ता सुनिलकुमार श्रेष्ठ, लोकबहादुर शाह, विकाश आचार्य, प्रभाकर भट्टराई, बलबहादुर चन्द, केवलसिंह थारुलगायतले बहस गरेको अधिवक्ता वसन्त गौतमले जानकारी दिए। 

विपक्षी बीमा कम्पनीको तर्फबाट वरिष्ठ अधिवक्ता इद्रजित तिवारी, भोलासिंह हमाल र अधिवक्ता ईश्वरी ज्ञवालीले बहस गरे । कोरोना सङ्क्रमणको बीमा गरेका बीमितले बीमा रकम पाउन नसकेको विषयमा नेपालगञ्जका सात अधिवक्ता र अधिकारकर्मीले २०७८ कात्तिक १५ गते उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासमा बीमाको रकम भुक्तानी माग राख्दै परमादेशको रिट दायर गरेका थिए । 

बाँकेमा रहेका राष्ट्रिय बीमा संस्थानलगायतका २० बीमा कम्पनीले कोरोना बीमा गराए पनि सम्झौताअनुसार बीमा रकम उपलब्ध नगराएपछि मर्कामा परेका बीमितको हकमा एडभोकेसी फोरम नेपालका प्रदेश संयोजकसमेत रहेका  अधिवक्ता वसन्त गौतम, नेपाल बार एशोसिएशनका निवर्तमान उपाध्यक्ष एवं महिला कानुन र विकास मञ्चका अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह, विश्वजित तिवारी, बलबहादुर चन्द र अधिकारकर्मी इन्सेकका भोला महतले संयुक्तरुपमा रिट दायर गरेका थिए। 

कोरोना सङ्क्रमणको सुरुआती अवस्थामा सम्भावित कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर बीमा गरेका बीमितले दाबी गरेको लामो समयसम्म पनि बीमाबापतको रकम पाउन नसकेपछि रिट दायर गरिएको अधिवक्ता सुनिलकुमार श्रेष्ठले जानकारी दिए। 

पहिलो कोरोना सङ्क्रमणको बेला बीमा गराएका सीमित बीमितले रकम पाए पनि अधिकांश बीमितले बीमावापतको रकम पाउन सकेका छैनन् । बीमा कम्पनीको बदमासी र गैरजिम्मेवारी कार्यले सम्झौता अनुसारको बीमा रकम उपलब्ध नगराएपछि नेपालगञ्जका अधिकारकर्मी र कानुन व्यवसायी कानुनी उपचारमा जानुपरेको रिट निवेदक अधिवक्ता लोकबहादुर शाहले बताए । बीमा कम्पनीले शर्त बमोजिमको कानुनी दायित्व पूरा नगर्दा बिमित मर्कामा परेका छन् । कोरोना सङ्क्रमणको पुष्टि भएको कागजात, आइसोलेसनमा बसेर उपचार गराएको प्रमाण र बीमा सम्झौताको कागजात पेश गर्दा पनि धेरै बीमितले न्याय नपाएकाले रिट दायर गर्नुपरेको रिट निवेदकले बताएका छन् । 

भुक्तानीका निम्ति माग दाबी गरेको वर्ष दिनभन्दा बढी समय हुँदासमेत बीमा कम्पनीले आलटाल गरी सरकारबाट रकम प्राप्त भएपछि भुक्तानी गरिनेछ भनेर बिमित झुक्याउने कार्य गरेको रिट निवेदनमा उल्लेख गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप