शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गन्धित साँघुरो भवनबाट गर्भवती सेवा लिन बाध्य महिलाहरु

सामान्य भिडियो एक्सरे र ल्याबको समेत अभाव
बिहीबार, ०९ असार २०७९, ०६ : २०
बिहीबार, ०९ असार २०७९

साँघुरो भवन, साना ३ वटा कोठा, सबैतिर अस्तव्यस्त, फोहरमैला र दुर्गन्ध । सेवाग्राहीको लागि न बस्ने ठाउँ, न प्रतीक्षालय । बाराको जीतपुर स्थित स्वास्थ्य चौकीमा सञ्चालित प्रसूति गृह (बर्थिङ्ग सेन्टर)को अवस्था हो यो ।

विगत ४ वर्षदेखि सञ्चालनमा रहेको प्रसूति गृहमा गर्भवतीहरुका लागि सामान्य सुविधासमेत उपलब्ध नहुँदा विपन्न महिलाहरु चर्को शुल्क तिरेर निजी क्लिनिक पुग्न बाध्य छन् ।

सो प्रसूति गृहमा गर्भवती, सुत्केरी सेवा लिन आएका महिलाहरुका लागि शय्या, भिडियो एक्सरे, रगत, दिसा, पिशाव परीक्षणका लागि ल्याबको समेत व्यवस्था छैन भने प्रतीक्षालयको पनि अभाव छ ।

जीतपुरकी फद्मा खातुन गर्भवती महिलाहरु सामान्य भिडियो एक्सरेको  सुविधा नहुँदा वीरगञ्ज पुग्नुपर्ने बाध्यता रहेको बताउँछिन् । ‘उपचार गर्न वीरगञ्ज पुग्नुपर्छ, पैसा नभएको बेला हामीलाई धेरै समस्या हुन्छ,’ खातुनले भनिन्, ‘यहाँ खाली चेकअपमात्रै हुन्छ, अरु कुनै सुविधा छैन ।’

सो प्रसूति गृहमा असार ८ गते बुधबारमात्र ४७ जना गर्भवती महिलाले स्वास्थ्य परीक्षण गराएको स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरीले जानकारी दिइन् । घना बस्ती र पथलैया–वीरगञ्ज औद्योगिक करिडोरको मध्य भागमा रहेका कारण जीतपुर सिमरा उपमहानगर, पर्सागढी र वीरगञ्ज महानगरका केही वडाका गर्भवती महिलाहरु यहाँ प्रसूति सेवा लिन आउने गर्दछन् ।

‘यहाँ आउनेमध्ये १५ देखि २० प्रतिशत केसहरु शल्यक्रिया गर्नुपर्ने अथवा भ्याकुम डेलिभरी गराउनुपर्ने अवस्थाका हुन्छन्, त्यस्ता केसलाई हामी यहाँ राख्दैनौं, वीरगञ्ज पठाउँछौं’ जीतपुर स्वास्थ्य चौकीका इन्चार्ज प्रविणकुमार झाले भने, ‘नर्मल डेलिभरी मात्रै हामी राख्छौँ ।’

बारा हरपुरकी सल्या खातुन गर्भवती सेवा लिन फागुन ५ गते जीतपुर प्रसूति गृह पुग्दा उनको पेटको बच्चाको निधन भइसकेको थियो । समयमै स्वास्थ्य चौकी पुग्न नसक्दा खातुनले नौ महिना पेटमा हुर्काएको बच्चालाई गुमाउनु पर्यो । त्यतिमात्र होइन, प्रसूति गृहमा भ्याकुम डेलिभरीको सामान्य सुविधासमेत नहुँदा खातुनको ज्यानसमेत जोखिममा पुगेको थियो ।

बर्थिङ्ग सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी मनिषा कुमारी चौधरी प्रसूति गृहमा सामान्य सुविधाहरु नहुँदा खातुनकै जस्तो समस्या धेरै महिलाले भोग्नुपरेको बताउँछिन् ।

‘गर्भवती महिलाहरुको स्वास्थ्य परीक्षण तथा सुत्केरी गराउने ठाउँ अत्यन्तै साँघुरो छ । ‘एकैपटक २÷३ वटा केस आयो भने हामीलाई धेरै गाह्रो हुन्छ, डेलिभरी गराएपछि राख्ने ठाउँ छैन, बेड पनि ३ वटामात्रै छ,’ स्वास्थ्यकर्मी चौधरीले भनिन्, ‘हामीले अर्को भवन बनाउन उपमहानगरसँग भनेका छौं, कहिलेसम्म बन्छ कुन्नि !’

विपन्न परिवारका महिलाहरु जीतपुर स्वास्थ्य चौकीबाट सुविधा नपाएपछि बाध्य भएर वीरगञ्ज जाने गरेको चौधरी बताउँछिन् ।

उपमहानगरभित्र एउटै सुविधासम्पन्न अस्पताल छैन । उपमहानगर अन्तर्गत रहेका करिब डेढ दर्जन स्वास्थ्य संस्थामध्ये सिमरास्थित प्राथमिक स्वास्थ्य केन्द्र र जीतपुर स्थित स्वास्थ्य चौकीले मात्रै सामान्य गर्भवती परीक्षण तथा प्रसूति सेवा दिँदै आएका छन् । शल्यक्रिया गनुपर्यो वा अन्य जटिल अवस्था आयो भने तत्कालै वीरगञ्ज पुग्नुपर्ने भएकाले बाटोमै ज्यान जानसक्ने जोखिम पनि उत्तिकै हुने गर्दछ ।

सूर्य नेपालले १ करोड लगानीमा प्रसूतिगृह बनाउँदै
सूर्य नेपाल प्रालिले एक करोड लगानीमा बाराको जीतपुरमा सुविधा सम्पन्न प्रसूति गृह निर्माण गर्ने भएको छ । जीतपुर सिमरा नगर उद्योग वाणिज्य संघको पहलमा सूर्य नेपालको लगानीमा निर्माण हुनेगरी बुधबार सो प्रसूति गृहको शिलान्यास भएको हो ।

‘५÷६ महिनाभित्र हस्तान्तरण गर्ने गरी स्वास्थ्य मन्त्रालयको डिजाइनमा बर्थिङ्ग सेन्टरको शिलान्यास भएको छ,’ जीतपुर सिमरा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलले भने, ‘जग्गा, प्राविधिक र नक्सा उपमहानगरको हो, लगानी सूर्य नेपालको हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शारदा पोखरेल
शारदा पोखरेल
लेखकबाट थप