बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हनी ट्र्याप : सम्पत्ति कुम्ल्याउन पटकपटक विवाह र सम्बन्धविच्छेद !

एक करोडभन्दा बढी सकिएपछि भयो आपराधिक विश्वासघातको खुलासा
बिहीबार, ०९ असार २०७९, ०६ : ०८
बिहीबार, ०९ असार २०७९

झट्ट हेर्दा २५–२६ वर्षकी जस्तो देखिने युवती, सुन्दर अनुहार अनि मीठो बोली । आफूलाई अविवाहित, राम्रो केटा पाए विवाह गर्ने तयारीमा रहेको जापानमा बसेर व्यापार व्यवसाय गरिरहेको बताउने । उनी हुन् भावना तामाङ ।

सिन्धुपाल्चोकको पिपलडाँडा वडा नम्बर ८ घर भई जापानमा बसिरहेकी तिनै भावनाको नामबाट मलेसियामा व्यापार व्यवसाय गरेर बसिरहेका फुर्वा मोक्तानलाई फेसबुकमा रिक्वेस्ट र म्यासेज आउँछ । सुरुमै भावनाले फुर्वालाई आफू उनको समाजसेवाबाट प्रभावित भएको र साथी बन्न चाहेको कुरा बताउँछिन् । यो कुरा सन् २०२१ को जनवरीको हो ।

मकवानपुरमा जन्मिई रौतहटमा बसाइसराई गरेका ३४ वर्षीय फुर्वाको मलेसियामा रेस्टुरेन्ट व्यवसाय थियो । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका फुर्वाले त्यहाँ आफ्नै रेस्टुरेन्ट सञ्चालन गरेर बसेका थिए । व्यवसायसँगै उनले मलेसियामा समस्यामा परेका युवायुवतीको उद्धार लगायतका काममा पनि सहयोग गर्थे ।

भावनाको म्यासेजलाई फुर्वाले सुरुमा सामान्य रूपमै लिँदै कुराकानीलाई निरन्तरता दिए । कुरा अघि बढ्दै गएपछि फुर्वाले आफू विवाह गर्न लागेको र राम्री युवतीको खोजीमा रहेको कुरा भावनालाई सुनाउँछन् । उता भावनाले पनि आफ्नो विवाह गर्ने उमेर भएको कुरा राख्छिन् । त्यति बेला भावनाले आफू २०४६ सालमा जन्मिएको र उमेर ३१ वर्ष पुगेको बताएकी थिइन् ।

दुवै तामाङ परिवारका थिए । फुर्वाले पनि कुण्डली हेरेर सबै कुरा मिले विवाह गर्ने प्रस्ताव गरे । भावनाले पनि हुन्छ भन्ने जवाफ दिइन् । जनवरीबाट सुरु भएको कुराकानी फेब्रुअरीमा प्रेम र विवाहसम्मको कुराकानी भइसकेको थियो । दुवै जना विवाह गर्ने तयारीमा पुगे ।

तर भावनाले आफूलाई ढाडमा समस्या भएकाले काम नगरेको तर आफ्नो व्यापार भाइहरूले हेरिरहेको बताइन् । उनले आफूले काम नगरेकाले तत्काल आफूसँग त्यति धेरै रकमसमेत नभएको बताइन् । मलेसियामा राम्रो व्यवसाय गरिरहेका फुर्वाले तत्कालै भावनाका लागि भन्दै नेपालमा रहेकी उनकी आमाको नाममा ८ लाख पठाइदिए ।

फुर्वाले प्रेम दिवस अर्थात् फेब्रुअरी १४ तारेखका दिन विवाह गर्न अनुरोध गरे । सुरुमा भावनाले पनि हुन्छ भनिन् । तर उक्त समयमा टिकट नपाइएको भन्दै भावना १९ फेब्रुअरी २०२१ मा मात्र नेपाल आइन् । फुर्वा भने १३ फेब्रुअरी २०२१ मै नेपाल आइसकेका थिए ।

२०७७ फागुन ७ गते नेपाल आइपुगेकी भावनाले त्यसको तीन दिनपछि अर्थात् २०७७ फागुन १० गते फुर्वासँग विवाह गरेर फुर्वाको घर भित्रिइन् । विवाहका लागि फुर्वाले दुलही भावना तामाङ, उनकी आमा, उनकी दिदी लगायतका आफन्तका लागि करिब २५ तोला सुन किने । अन्य कामका लागि भन्दै उनले करिब १५ लाख थप खर्च गरे ।

विवाह गरेको तीन दिन फुर्वाको घरमा बसेपछि भावना माइतीमा केही काम छ भन्दै फुर्वाको घरबाट निस्किइन् । त्यसको भोलिपल्टदेखि उनको मोबाइल अफ भयो । घरबाट निस्किएको चार दिनपछि बल्ल भावनाको मोबाइलको स्वीच अन भयो । किन अफ गरेको भन्दा माइतीमा केही काम थियो भन्ने जवाफमात्रै दिइन्, अरू केही बताइनन् ।

फुर्वाले भावनासँग विवाह गरी जापान जाने र उतै व्यापार व्यवसाय गर्ने भनेर मलेसियामा भएको दुईवटै रेस्टुरेन्ट बेचेर नेपाल आएका थिए । नेपालमा बुवाको नाममा घर र दुई स्थानमा जग्गासमेत थियो । जापान जान सम्पत्ति देखाउनुपर्ने भन्दै भावनाले बुवाको नाममा रहेको घरसमेत आफू र फुर्वाको नाममा ल्याउन लगाइन् भने जग्गासमेत बिक्री गर्ने गरी ग्राहक खोजे । भावनाको नाममा बौद्धको नयाँ बस्ती र थलीमा घर थियो । फुर्वाले ती सबै घर पनि अब आफ्नोसमेत रहेको भन्दै भावनाले जे जे भने त्यही त्यही गरिरहे । भावनाले घरसमेत बेच्ने योजना सुनाए पनि फुर्वाको बुवाले नमानेपछि त्यही घर धितोमा राखेर ऋण लिने योजना बनाइन् । फुर्वाले भावनाको त्यो योजनामा समेत साथ दिए ।

नेपाली परम्परा अनुसार विवाह गरेपछि केटाको घरमा गएर बस्ने भए पनि भावना भने फुर्वाको घरमा बस्न मानिनन् । बरु बौद्ध नयाँ बस्तीमा रहेको आफ्नै घरमा बस्न जान्थिन् । फुर्वा पनि भावनासँगै नयाँ बस्तीमै गएर बस्न थाले ।

जब फुर्वा भावनाको नाममा रहेको नयाँ बस्तीको घरमा पुगे, त्यसपछि भावनाले सम्पत्ति हाम्रै त हो, यो घरको ऋण छ तिर्नुपर्‍यो भनी फुर्वासँग पैसा मागिन् । फुर्वाले पनि भावना आफ्नो श्रीमती भएको र सम्पत्ति आफ्नो पनि त हो नि भन्दै घर बनाउँदाको ऋण तिर्न सहमत भए ।

तर जब ऋण तिर्ने बेला भयो, भावनाले ऋण संयुक्तरुपमा लिएको कुरा सुनाइन् । भावनाले धादिङ घर भएका विकाश तामाङ (नाम परिवर्तन)लाई श्रीमान् बनाएर संयुक्तरुपमा ऋण लिएकी थिइन् । फुर्वाले यी व्यक्ति को हुन् भनेर सोध्दा भावनाले कागजी श्रीमान् भएको र जापान लैजाने प्रयोजनका लागि पैसा लिएर श्रीमान् बनाएको कुरा बताइन् । फुर्वाले त्यसबारे थप केही नबुझी उक्त घरको ऋणमध्ये २५ लाख रुपैयाँ तिरिदिए ।

भावनाले पटकपटक विभिन्न बहाना बनाएर सम्पत्ति देखाउन, सानो सानो ऋण तिर्न भन्दै पटकपटक लाखौँ रकम लिइन् । कहिले सानीआमाको ऋण तिर्नु छ भनेर त कहिले भाइ लगायतको ऋण तिर्नु छ भनेर पैसा लिएको फुर्वाले रातोपाटीलाई बताए ।

घरको रङ रोगन र मर्मत सम्भारमै ६५ लाख खर्च

भावना तामाङको नाममा काठमाडौंको थलीमा पनि एउटा घर थियो । उक्त घर भर्खरै बनाएको कारण बैंकबाट ऋण लिइएको थियो भने घर पनि पुरै बनिसकेको थिएन । भावनाको योजनामा फुर्वाले उक्तको बाँकी काम सम्पन्न गर्न, रङ रोगन गर्न, भान्साकोठा बनाउने लगायतका काममा थप ६५ लाख खर्च गरे ।

तर जब जब फुर्वासँग रहेको पैसा सकिन थाल्यो, त्यसपछि भावनाले विभिन्न कुरा निकालेर निहुँ खोज्न थालिन् । फुर्वाले भने, ‘जब जब मैले मलेसियाको रेस्टुरेन्ट बिक्री गरेर ल्याएको पैसा सकिन थाल्यो, त्यसपछि उनले निहुँ खोज्न थालिन् । अनि बिस्तारै मसँग टाढिन थालिन् ।’

यसबीचमा भावनाले फुर्वासँग करिब १ करोड १५ लाख नगद लिएकी थिइन् भने सुनको गरगहना लगायतका सामान बनाउने कामका लागिसमेत समेत करिब १ करोड ४५ लाख रुपैयाँ खर्च गराइसकेकी थिइन् । करिब १ वर्ष नेपाल बसेर फुर्वाको नाममा रहेको रहेको घर जग्गासमेत फुर्वा र आफ्नो संयुक्त नाममा ल्याइसकेपछि भावना २०२२ फेब्रुअरी ८ मा जापान गइन् । नेपालबाट जाँदा जापान पुगेर कागजात बनाएर पठाउने भनेकी भावना सुरुको केही दिन फुर्वासँग कुराकानी गर्ने गरे पनि त्यसपछि फुर्वासँग कुराकानी नै गर्न छाडिन् । बरु फुर्वासँग छुट्टिन चाहेको सन्देश पठाइन् । त्यसपछि मात्र फुर्वाले आफू ठगिएको थाहा पाए ।

भावनाले उमेरसमेत ढाँटेकी थिइन्

रातोपाटीको सम्पर्कमा आएका फुर्वा तामाङले सुरुमा कुराकानी हुँदा भावनाले आफ्नो उमेरसमेत ढाँटेको बताए । फुर्वाले भने, ‘मेरो ग्रहमा आफूभन्दा जेठी युवतीसँग विवाह गर्न नहुने थियो । मैले त्यही कुरा बताएपछि उनले आफ्नो उमेर ३१ वर्ष भएको बताइन् । उनले आफू २०४६ सालमा जन्मिएको बताइन् । म २०४३ सालमा जन्मिएको कारण मैले हुन्छ भने । विवाह दर्ता गर्ने बेलामा पो थाहा भयो, उनी त म भन्दा ३ वर्ष जेठी रहिछिन् ।

अविवाहित रहेको पनि झुट

फुर्वाले विवाहको कुरा गर्दा आफूले विवाह नगरेको र योग्य वरको खोजी गरिरहेको बताएकी थिइन् । फुर्वाले रातोपाटीसँग भने, मैले विवाहको कुरा गर्दा आफूले पनि व्यापार तथा व्यवसायको कारण विवाह गर्ने फुर्सद नै नपाएको बताइन् । मैले पनि होला भने मैले त्यति धेरै खोजतलास नै गरिनँ । अहिले उनको बारेमा बुझ्दै गर्दा थाहा भयो, उनले त पहिले नै ४ जनासँग विवाह गरिसकेकी रहिछिन् भने एक जनासँग लिभिङ टुगेदरमा बसेको पाएँ । मैले थाहा नपाएको अरू पनि छन् कि जस्तो लाग्छ ।

फुर्वासँग विवाहको एक सातापछि पतिसँग डिभोर्स !

भावना तामाङले २०७७ फागुन १० गते तामाङ परम्परा अनुसार फुर्वा मोक्तानसँग विवाह गरेकी थिइन् । विवाह गरेको भए पनि विवाहको फोटो फेसबुकमा हाल्न नदिई भावनाले सबै कुरा गुमराहमा राखेको फुर्वाले बताए । आफूसँग विवाह गरी ३ दिनपछि घरबाट निस्किएकी भावनाले त्यसको तीन दिनपछि काठमाडौँ जिल्ला अदालतमा आफ्नो पतिसँग सम्बन्धविच्छेदको फिराद लगेकी थिइन् ।

फुर्वासँग विवाह गर्नुभन्दा अगाडि भावनाले साजन मोक्तान भन्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । तर त्यसको जानकारी फुर्वालाई थिएन । भावनाले फुर्वासँग विवाह गरेको एक सातापछि फागुन १६ गते काठमाडौँ जिल्ला अदालतमा सम्बन्धविच्छेदको फिराद दर्ता गरी २०७७ फागुन १७ गते मोक्तानसँग सम्बन्धविच्छेद गराएकी थिइन् ।

 हेर्नुहोस् जिल्ला अदालतको रेकर्ड

साजन मोक्तानसँग औपचारिकरुपमा सम्बन्धविच्छेद गरेपछि भावनाले २०७८ वैशाख २४ गते आफन्तहरूलाई बोलाएर पार्टी दिएकी थिइन् । त्यसपछि विवाह दर्ता गर्दा समेत भावनाले २०७७ फागुन १० गतेको मिति राख्न नमानेर २०७८ वैशाख २४ गते कै मिति राखेकी थिइन् ।

चार जनासँग विवाह, पैसा लिएर सम्बन्ध अन्त्य !

भावनाले सुरुमा काठमाडौँको ठमेलमा काम गर्ने गरेको फुर्वाले सुनाए । उनले भने, ‘विवाह गरेपछि मात्रै भावनाले आफू काठमाडौँको मसाज सेन्टरमा काम गरेको भनेर बताइन् । सायद मैले छाडोस् भनेर यो कुरा सुनाएकी थिइन् होला ।’

फुर्वाका अनुसार सुरुमा ठमेलमा काम गर्ने क्रममा एक जापानी नागरिकले भावनालाई विवाह गरी जापान लगेका थिए । ती जापानी नागरिकको मृत्यु भएपछि भावनाले ती जापानीको सम्पत्तिबाट बौद्धको नयाँ बस्तीमा घर बनाएकी थिइन् ।

जापानी नागरिकको मृत्यु भएपछि २०७२ सालताका उनले धादिङका विकास तामाङ (परिवर्तित नाम)सँग विवाह गरिन् । जापानमै रोजगारीका क्रममा विकास र भावनाको कुरा मिलेपछि विवाहको कुरा भएको र विवाह गरेरै डेढ वर्ष सँगै बसेको विकासले रातोपाटीसँगको कुराकानीमा बताए ।

विकासले रातोपाटीसँग भने, ‘मैले पनि जापान आएपछि नै उनलाई चिनेको हो । सुरुमा उनले आफू अविवाहित भएको बताइन् र उमेर पनि ८ वर्ष कम भनिन् । उनको उमेर मेरोभन्दा ५ बढी थियो । उनले ढाँटेको कुरा मलाई विवाहपछि मात्रै थाहा भयो । उनले अविवाहित भनेर पनि ढाँटिन् । तर विवाहपछि कागजात बनाउने क्रममा मात्रै उनले आफू पहिले जापानी नागरिकसँग विवाह गरी आएको बताइन् ।’

विकासकै कमाइमा बस्थिन् भावना

विकासका अनुसार भावना जापानमा पनि काम नगरी बस्थिन् । भावना काम गर्न नखोज्ने तर मोजमस्ती गर्ने स्वभावकी थिइन् । विकाशले रातोपाटीसँग भने, ‘म उनीसँग डेढ वर्ष बसेँ । पछि उनले नै सम्बन्ध अन्त्य गर्ने कुरा गरिन् । त्यसबीचमा उनले काम नै गरिनन् । म नै काम गर्थे र मेरै आम्दानीले उनी आरामको जीवन बाँच्थिन् । थलीको घर बनाउने बेलामा पनि नयाँ बस्तीको घर धितोमा राखेर उनको र मेरो संयुक्त नाममा ऋण लिइएको थियो । त्यो ऋण के गरिन्, मलाई थाहा छैन । थलीको घर बनाउने क्रममा पनि मैले लगानी गरेको थिएँ । तर सम्बन्ध नै अन्त्य गर्ने भनेपछि र पटकपटक उनले झुट बोलेपछि म पनि आजित भएर डिभोर्स गरेँ । मैले उक्त सम्पत्तिमा दाबी पनि गरिनँ । किनभने उक्त घर मेरो र उनको नाममा गरौँ भन्दा उनले नमानेर आमा र उनको नाममा गरेकी थिइन् । उद्देश्य खराब थियो भन्ने मलाई थाहा भएन । अहिले नयाँ जीवन बिताउँदै छु ।’

विकासपछि भावनाले साजन मोक्तानसँग विवाह गरेकी थिइन् । तर उक्त विवाह पनि टिकेन । मोक्तानसँग के कुन शर्त र सहमतिमा उनले डिभोर्स गरेकी हुन्, त्यो खुलेको छैन ।

यही बीचमा भावनाले सुन्दर घिसिङ (परिवर्तित नाम)सँग पनि विवाह गर्ने भन्दै लिभिङ टुगेदरमा बसेकी थिइन् । सुन्दरसँग भावनाले करिब २४ लाख रुपैयाँ लिएकी थिइन् । पछि भावनाले सुन्दरलाई वास्ता नगरेपछि उनले समेत भावनाको खोजी गरेका थिए । यद्यपि पछिल्लो समय सुन्दरले भावनासँग उक्त रकम लिई मुद्दा मामिला नगर्ने सहमति गरिसकेको फुर्वाले रातोपाटीलाई बताए ।

...अनि पक्राउ परिन् भावना

भावनाले ‘धोका’ दिएपछि फुर्वाले कन्सुलर सेवा विभागमार्फत भावना हराएको भन्दै निवेदन दिए । फुर्वाले यसको गर्नुको कारण थियो, भावनाले सबैतिरबाट फुर्वालाई ब्लक गर्नु । यो निवेदन लगत्तै कन्सुलर सेवा विभागले भावनाको खोजी गर्‍यो । फुर्वाले भावनालाई जापानबाट डिपोर्ट गरी नेपाल पठाउन निवेदन दिएपछि भावनाले पहिले लिएको सम्पत्ति र सुन फिर्ता नगर्ने तर अरू दाबी नगर्ने भन्दै प्रस्ताव पठाइन् । उक्त प्रस्तावमा सहमत भए नेपाल आएर सम्बन्धविच्छेद गर्ने सन्देश पठाइन् ।

तर फुर्वाले भावनाको प्रस्ताव स्वीकार गरेनन् । पछि संयुक्त नाममा रहेको घरजग्गा फिर्ता गर्ने सर्तमा भावना नेपाल आइन् । तर नेपाल आएपछि भावनाले फुर्वालाई उनले कुनै रकम आफूलाई नदिएको भन्ने कागज गर्न लगाइन् । यसको अर्थ पहिले कागज बनाउने, डिभोर्स गर्ने अनि सम्पत्तिसहित सम्बन्धविच्छेद गर्ने । यो रणनीति बुझेपछि फुर्वाले भावनाको प्रस्ताव अस्वीकार गर्दै ठगी, आपराधिक लाभ र आपराधिक विश्वासघातमा भक्तपुर प्रहरी परिसरमा उजुरी दिए । उजुरीपछि भक्तपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर भावनालाई पक्राउ गरिएको छ । यतिबेला भक्तपुर प्रहरी परिसरले भावनामाथि अनुसन्धान जारी राखेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप