मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषामा पनि बिहीबारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोना विरुद्धको खोप लगाइने

बुधबार, ०८ असार २०७९, २२ : ५०
बुधबार, ०८ असार २०७९

धनुषामा पनि बिहीबारदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइने भएको छ ।  स्वास्थ्य कार्यालय धनुषाकाअनुसार पहिलो चरणमा प्रदेशका ५ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी र पर्साका बालबालिकालाई खोप दिइने भएको हो । सोही कार्यक्रमअन्तर्गत धनुषामा पनि खोप दिन थालिएको हो ।  धनुषामा मात्रै  १ लाख १३ हजार ८९५ बालबालिकालाई १ हजार २४० खोप केन्द्रमार्फत खोप दिइने स्वास्थ्य कार्यालय धनुषाका निमित्त प्रमुख युगलकिशोर यादवले बताए ।

लक्षित समूहका बालबालिकालाई फाइजर पेडियाट्रिक नामक खोप दुई मात्रामा दिइने बताउँदै उनले पहिलो खोप असार ९ देखि १३ गतेसम्म र दोस्रो मात्रा साउन ९ देखि १३ गतेसम्म दिइने जानकारी दिए । बालबालिकालाई दिइने फाइजर पेडियाट्रिक नामक खोप सुरक्षित रहेको दाबी गर्दै उनले कोरोनाबाट बचाउन लक्षित उमेर समूहका सबै बालबालिकालाई खोप लगाउन आग्रह समेत गरे ।

मधेशका ५ जिल्लाका ५ लाख १६ हजार २३६ बालबालिकालाई खोप दिइने स्वास्थ्य कार्यालयले जनाएको छ । मधेश प्रदेशमा ५ देखि ११ वर्ष उमेर समूहका ८ लाख २४ हजार ७१६ जनसंख्या रहेको छ ।

नेपाल सरकारले निर्दिष्ट गरेअनुसार लक्षित बालबालिकालाई सम्बन्धित अध्ययनरत विद्यालयमै खोप लगाइने छ । ती बालबालिकाहरूलाई उमेर खुलेका विद्यालयको प्रमाण, कक्षागत सूचीको आधारमा खोप दिइने छ । उमेर नखुलेका बालबालिकालाई उनका अभिभावकले स्वघोषणा गरेको उमेरको आधारमा खोप लगाइने यादवले बताए ।

दोस्रो चरणमा देशभरका ५० जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदाै २७ देखि असोज १ सम्म दोस्रो डोज दिइने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप