बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी ब्रिफिङ : समाजवादीलाई मन्त्री फेर्न सकस, रविको पार्टी दर्ता नहुँदै विवादमा

बुधबार, ०८ असार २०७९, २१ : ०३
बुधबार, ०८ असार २०७९

आज २०७९ असार ८ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

आजका मुख्य समाचारमा सत्तारुढ गठबन्धनको बैठक, न्यायाधीशलाई वकिलको २ करोड घुस अफर, मन्त्री हेरफेरको चर्चा, रवि लामिछानेको पार्टीविरुद्ध उजुरी, केन्द्र र प्रदेशको चुनावको तयारी , भारतीय सेना प्रमुखको नेपाल भ्रमण लगायत छन् ।

नागरिकता विधेयक अगाडि बढाइने

सत्ता गठबन्धनले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार अपरान्ह बसेको बैठकले नागरिकता विधेयक अगाडि बढाउने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकता विधेयकलाई अगाडि बढाउने प्रस्ताव गरेका थिए । बैठकपछि सञ्चारमन्त्री सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले, ‘हाम्रो समाजमा बुवा र आमा नेपाली नागरिक हुँदा पनि  सन्तानले नागरिकता नपाएको अवस्था छ । त्यसलाई अन्त्य गर्न अग्रसरता लिने निर्णय भएको छ ।’ बजेट पारित भएपछि सरकारले नागरिकता विधेयक अगाडि बढाउने तयारी थालेको छ । 

न्यायालयमा घुस

घुस प्रकरणमा मुछिएका काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय जाँचबुझ समिति गठन भएको छ । ४५ दिनको समय दिएर प्रतिवेदन पेस गर्ने गरी समितिलाई जिम्मेवारी तोकिएको छ । न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीका अनुसार न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालत पाटनका कामु मुख्य न्यायाधीश महेशप्रसाद पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहने गरी जाँचबुझ समिति गठन गरिएको छ । समितिलाई यसबारे सत्य तथ्य बुझी छानबिन गरी प्रतिवेदन पेस गर्न ४५ दिनको समय दिइएको छ । 

मन्त्री हेरफेरसम्बन्धी निर्णय अब चाँडै

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले मन्त्री हेरफेरसम्बन्धी पार्टीले यसअघि नै गरेको निर्णय अब चाँडै नै कार्यान्वयन हुनुपर्ने बताएका छन् । नेकपा एसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरू बदल्ने पार्टीको निर्णयलाई बेवास्ता भएको भन्दै बुधबार बासेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले तत्काल कार्यान्वयन गराउन लगाउने निर्णय भएको खनालले बताए । 

भारतीय सेना प्रमुख नेपाल आउँदै

भारतीय सेनाका प्रमुख मनोज पाण्डे आगामी अगस्त महिनामा नेपाल आउने भएका छन् । नेपालको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले नेपाल भ्रमणका क्रममा पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ सेना प्रमुख पदबाट सम्मानित गर्ने उल्लेख गरेका छन् । । यस्तो उपाधि पाउने उनी भारतका २९ औँ सेना प्रमुख हुनेछन् ।

संघीय निजामती सेवा ऐन ल्याउन माग

कर्मचारीसम्बद्ध विभिन्न संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्। पाँच वटा कर्मचारी संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन ल्याउन माग गरेका हुन्।  

लामिछानेको पार्टी विवादमा

दर्ता हुन नपाउँदै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’लाई विवादमा तान्ने प्रयास भएको छ । लामिछानेले २१ जना कार्यसमितिको नामावलीसहित निर्वाचन आयोगमा मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएका थिए । लामिछानेले पार्टीको नाममा ‘स्वतन्त्र’ शब्दको प्रयोग गरेको भन्दै विवाद निकालिएको हो । 

एमाले सांसद पदमुक्त

प्रदेश १ की सांसद गुलेफुन खातुन संविधान अनुसार पदमुक्त हुने भएकी छिन् । नेकपा एमालेबाट निर्वाचित उनलाई सरकारी सहीछाप किर्ते मुद्दामा विराटनगरस्थित उच्च अदालतले कैद सजाय सुनाएको थियो । उक्त कैद सजायको फैसलाविरुद्ध सर्वाेच्च अदालत पुगेकी खातुनलाई पुनः सुनुवाइका लागि निस्सा नदिने आदेश दिएसँगै उनी पदमुक्त हुने भएकी हुन् ।

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन मिति घोषणाको तयारी

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै प्रमुख राजनीतिक दलहरुमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबारे चर्चा सुरु भएको थियो । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलसमेत आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्नुपर्नेमा लगभग सहमत भैसकेका छन् । सोही अनुसार निर्वाचन आयोगले मतदाता नामावली संकलन तथा अद्यावधिकको काम असार १ गतेबाट सुरु गरिसकेको छ ।

नागरिकता विधेयक अगाडि बढाइने

नेपाल निर्माण व्यवसायी महासंघ लगायतका संस्थाहरूले बीमा निर्देशिका—२०७८ खारेज गर्न बीमा समितिलाई एक हप्ते अल्टिमेटम दिएका छन् । यही असार १५ गते सम्म बीमा निर्देशिका—२०७८ खारेज गर्नुपर्ने उनीहरूको माग रहेको छ । 

कृषिमन्त्री र शिक्षामन्त्रीको राजीनामा माग

सत्तारुढ नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले जिम्मेवारी पुरा गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका छन् । किसानलाई समयमा मल दिन नसक्ने कृषिमन्त्री र विद्यार्थीलाई समयमा किताब दिन नसक्ने शिक्षामन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप