शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आमा’ भन्दा कमजोर दीपेन्द्रको ‘चिसो मान्छे’

बुधबार, ०८ असार २०७९, १६ : ५१
बुधबार, ०८ असार २०७९

सामान्य प्रेमकथामा केही गीत, फाइट र कमेडी मिसाएर चलचित्र बनाउने परम्परागत शैलीमा थिए फिल्मकर्मी । त्यसैले नेपाली चलचित्रको सुरुवातका दश मिनेटमै दर्शकले सजिलै अनुमान गर्न सक्थे चलचित्रको क्लाइमेक्स ।

नेपाली चलचित्रको यो परम्परागत शैलीमाथि निश्चल बस्नेतद्वारा निर्मित २०६९ सालको ‘लुट’ ले गतिलो झापड हिर्कायो । तर, त्यस्ता झापड हिर्काउने खालका चलचित्रहरू त्यहाँदेखि आजसम्म आइपुग्दा कतिवटा बने त ? यसको उत्तर निकै दिक्दारीपूर्ण हुनेछ ।

परम्परागत शैली भाँच्दै चलचित्र बनाउने क्रममा निश्चलसँगै देखिए प्रदीप भट्टराई र दीपेन्द्र के खनाल । पछिल्लो समय भट्टराईका चलचित्र कला र कथानक भन्दा व्यापारिक दृष्टिकोणले निर्माण भए । बलिउड र हलिउडसँग प्रभावित हुँदै फिल्म बनाउनेको भीडमा आफ्नो अलग्ग पहिचान बनाउन सफल दीपेन्द्र के खनालले ल्याएका छन् ‘चिसो मान्छे’ ।

अघिल्लो चलचित्र ‘आमा’ बाट निकै माया र प्रेम बटुलेका थिए दीपेन्द्रले । सुरक्षा पन्त र मिथिला शर्माको राम्रो सम्मिश्रणमा तयार ‘आमा’ हरेक हिसाबले सफल नेपाली चलचित्र मानिएको थियो । त्यसैले दीपेन्द्रले ल्याएको ‘चिसो मान्छे’प्रति दर्शकको ठुलो अपेक्षा हुनु स्वभाविक पनि हो । दीपेन्द्रले ‘चिसो मान्छे’मार्फत् दर्शक सामान्य थमथम्याउने कोसिस मात्र गरेका छन् ।

‘चिसो मान्छे’ मार्फत् खनालले वैदेशिक रोजगारको पीडालाई सूक्ष्म ढंगबाट केलाउने प्रयास गरेका छन् । एकै वाक्यमा भन्ने हो ‘चिसो मान्छे’ बाकसमा प्याक भएर आएको श्रीमान्को शव काठमाडौँदेखि बाजुरासम्म लैजान एउटी श्रीमतीको संघर्षको कथा हो ।

पात्रलाई न्याय गर्नको निम्ति स्वस्तिमा खड्का, अर्पण शर्मा र देशभक्त खनाल लागिपरेका छन् । स्वस्तिमा र अर्पणले पात्रलाई धेरै हदसम्म न्याय गर्न सफल भएपनि देशभक्त खनाल भने चुकेका छन् । 

चलचित्रमा स्वस्तिमा खड्का वैदेशिक रोजगारमा गएको व्यक्तिको श्रीमतीको भूमिकामा छिन् । अर्पण शर्मा लासलाई काठमाडौँबाट बाजुरासम्म पुर्‍याउने चालकको रूपमा देखिएका छन् । यी दुवै पात्र र व्यक्तिले अब्बल अभिनय मार्फत् आफूलाई प्रमाणित गरेका छन् । स्वस्तिमाको ससुराको भूमिका निर्वाह गरेका देशभक्त खनालको अभिनय भने बनावटी छ । छोराको लाश बोकेर हिँडेको बुबा (देशभक्तको) ले बारम्बार पीडा पोख्न खाजेपनि त्यो अभिनय जीवन्त बन्न सकेको छैन । त्यसैले फिल्मको कमजोर पक्षमध्ये एक बुबा पात्र पनि हो ।

बाजुराको लवज र बाजुराको पहिरनमा देखिएकी स्वस्तिमाको अभिनय जति नै अब्बल सुदूरपश्चिमको ठेट लवजमा उत्रिन नसकेकै हो । यहाँ भने निर्देशक र पात्र दुवै केही चिप्लिएका छन् । पहिरन, लवजले मात्र बाजुरा झल्किन्छ भन्ने सोच  गलत छ । चलचित्रमा केही दृश्य पट्यारलाग्दो छ । चाहिने भन्दा बढी नै सिनेमाग्राफी देखिन्छ । 

अर्पण थापा आफ्नो अभिनयमा यत्ति मजासँग प्रस्तुत भए कि उनीमा खोट खोजेर पनि भेटिन । उनी सफल चालक पात्रको रूपमा उत्रिएका छन् । 

चलचित्रका लेखकसमेत रहेका निर्देशकले कथामा ज्यादा बुट्टा भर्न खोज्दा केही ठाउँमा नराम्री चिप्लिएको उनले पत्तै पाएनछन् ।

पुष्पा पात्रमा श्रीमान्प्रति नझल्किएको प्रेम, बाबुको बनावटी पीडा र छोरासँगको कुनैपनि दृश्य चलचित्रमा समावेश नगरिएको कारण चलचित्रमा प्रश्न उठाउने थुप्रै ठाउँ छन् । तर, यति सबै भइसक्दा पुष्पा र चालकबीचको अव्यक्त प्रेम भने चलचित्र भरीको सबैभन्दा सुन्दर पक्ष बन्न गएको छ । चालक अर्पण र पुष्पा (स्वस्तिमा)ले बारम्बार यात्राबीच गरेका क्रियाकलापले उनीहरू बीचको प्रेमलाई निकै सार्थक तुल्याइ दिएको छ । माधुर्य प्रेमको मिठासले चलचित्रमा आत्मा भरेको कुरा भने नकार्न सकिन्न । चाहे त्यो पाउँ खाने कुरा होस् या मासुको चोक्टा सारेको कुरा । त्यही रुमानी प्रेमको अंशकै निम्ति पनि चलचित्र कसैलाई हेर्नुस् है भन्दा गलत हुँदैन ।

समग्रमा भन्नुपर्दा, दीपेन्द्रले फिल्ममा भन्ने प्रयास गरेको कथामा हामी खुसी हुन सकिन्छ । कतिपय गर्न खोजिएको पक्षहरूमा गृहकार्य नपुगेको कुरा उनले स्वीकार्नु पर्छ । कथा, पात्र र सन्देश बलियो भएपनि प्रस्तुतिमा खोट भएकै कारण चलचित्रले उनका अघिल्ला फिल्मको माथिल्लो स्थान ओगट्न भने सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप