बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

विद्युतीय ऊर्जामा सरकारले चासो नदिए मुलुकको अवस्था भयावह हुने चेतावनी

बुधबार, ०८ असार २०७९, १५ : ०९
बुधबार, ०८ असार २०७९

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले उर्जाको व्यवस्थापनमा चासो नदिए मुलुक भयावह अवस्थामा पुग्ने चेतावनी दिएका छन् । बुधवार राष्ट्रिय संसद्अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विश्वभर नै इन्धनको मूल्य बढीरहेको र विकसित मुलुक पनि त्यसको चपेटामा परेकोले तत्काल उर्जा व्यवस्थापनमा गम्भीर नबने मुलुक आर्थिकरूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गरेका हुन् । 

उनले श्रीलंकाले आफ्नो अवस्थाबारे जनतालाई जनकारी नगराएका कारण आर्थिक संकट व्यहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने बताए । कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत महसुल तिरेर कसैले इण्डक्शन चुलो नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताए । 

उनले नेपाल विद्युत प्राधिकरणले दिएको महसुलभन्दा एलपी ग्यास सस्तो पर्ने अवस्था रहेको पनि स्मरण गराए । कार्यकारी निर्देशक थानीले गत वर्षको चैतमा वैशाखमा ३५ हजार मेट्रिक्टन एलपी ग्यास आयात भएको, यस वर्षको वैशाखमा ४५ हजार र जेठमा ४८ हजार मेट्रिक्टन एलपी ग्यास आयात भइसकेको बताए ।  

एलपी ग्यासको खपत दिनप्रतिदिन बढीरहेकोले देशमा डरलाग्दो अवस्था सिर्जना भइरहेको बताए । उनले नेपाल आयल निगम प्रति सिलिण्डर ७५१ रुपैयाँ घाटा खाएर एलपी ग्यास बिक्री गर्न बाध्य भइरहेको भन्दै उर्जा व्यवस्थापन कार्यलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए । 

कार्यकारी निर्देशक थानीले मुलुकको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।  समितिको बैठकमा सांसदहरुले विद्युतीय उर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महशुलमा कम गर्न आवश्यक रहेको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप