शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

जिसस सप्तरीको निर्वाचन असार  १२ मा

बुधबार, ०८ असार २०७९, १३ : १९
बुधबार, ०८ असार २०७९

जिल्ला समन्वय समिति सप्तरीको निर्वाचन यही असार  १२ गते आइतबार हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जिससको निर्वाचन आइतबार हुने सूचना जारी गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । मंगलबार मतदाता नामावली प्रकाशन गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज मतदाताको विरोधमा उजुरी दिने, मतदाताको विरोधमा परेको उजुरी उपर जाँचबुझ गर्ने र अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । 

यस्तै बिहीबार उम्मेदवारको मनोनयन दर्ता, मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन र उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिए । शुक्रबार मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन तथा उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

शनिबार उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरी आइतबार मतदान गर्ने कार्यक्रम तय गरिएको छ । जिल्लामा १८ स्थानीय तह रहेको र जिससका लागि कूल ३६ मतदाता छन् ।  जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीका अनुसार नेपाली कांग्रेसको पाँच प्रमुख/अध्यक्ष र ७ उपप्रमुख/उपाध्यक्ष गरी सर्वाधिक १२ मत छ । यस्तै जनता समाजवादी पार्टी (जसपा) को ३ प्रमुख/अध्यक्ष र ५ उपप्रमुख/उपाध्यक्ष गरी ८ मत छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को ३ अध्यक्ष र २ उपाध्यक्ष गरी ५ मत, नेकपा (एमाले) को ३ प्रमुख/अध्यक्ष र १ उपप्रमुख गरी ४ मत छ ।

जनमत पार्टीको १ प्रमुख, १ अध्यक्ष र १ उपाध्यक्ष गरी ३ मत छ भने नेकपा (एकीकृत समाजवादी) को १ प्रमुख र १ उपप्रमुख गरी २ मत तथा नेकपा (माओवादी केन्द्र) को १ प्रमुख र १ उपाध्यक्ष गरी २ मत छ ।  काँग्रेसले आफ्नो नेतृत्वमा केन्द्रीय गठबन्धनअनुसार निर्वाचन जानुपर्नेमा जोड दिएको छ भने जसपाको नेतृत्वमा काँग्रेस बाहेकको दलहरुले गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरिरहेका बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप