शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

न्यायाधीश कोइराला भन्छन्, ‘मैले कुरा सुनेकोसम्म हुँ, डिल मानेको हैन’

‘डिल गरेको भए त मान्छे बाहिर हुन्थ्यो’
बुधबार, ०८ असार २०७९, १२ : ३९
बुधबार, ०८ असार २०७९

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाले आफूमाथि छानबिन गर्न आग्रह गरेका छन् । बुधबार रातोपाटीसँग संक्षिप्त कुराकानी गर्दै न्यायाधीश कोइरालाले आफूले कसैको अफर स्वीकार नगरेको र अपराध नगरेको भन्दै छानबिनका लागि आग्रह गरेका हुन् । 

आफूलाई कुनै वकिलले फोन गरेर धरौटीमा छाडिदिन आग्रह गरेको, त्यसका लागि वकिलले पैसा लेनदेन गर्ने कुरा सुनाएको तर त्यसमा आफूले अस्वीकार गरी तथ्य र प्रमाणका आधारमा आदेश दिएको बताए । उनले भने, ‘मलाई फोन आएपछि कुराकानी गरेको थिएँ । उनले आफ्नो कुरा गरिरहेँ, मैले यो मान्छेले को कोसँग कुराकानी गरेको रहेछ र को कोसँग डिल गरेको रहेछ भनेर सुन्नका लागि अँ अँ र हो हो भनेको हो । मैले पैसाको डिल गरेको छैन र कसैसँग लिएको पनि छैन । न्यायाधीश आफैँले अनुसन्धान गर्न सक्ने भएकाले यो मुद्दालाई कसले कसरी लिएका रहेछन् भनेर उनको अफर सुनेकोसम्म हो । मैले कुनै डिल गरेको वा लाभ लिएको छैन । मलाई फसाउनका लागि कसैले डिजाइन गरेको हुनुपर्छ । यसका लागि छानबिन गर्न म आग्रह गर्छु ।’ 

सिभिल सहकारीका पूर्व अध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्ने र त्यसका लागि २ करोड घुस दिने विषयमा नेपाल बार एसोसिएसनका पूर्व कोषाध्यक्ष रुद्र पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालासँग डिल गरेको अडियो मंगलबार न्युज २४ टेलिभिजनले प्रसारण गरेको थियो । उक्त अडियो टेपमा तत्कालीन समयमा नेपाल बार एसोसिएसनमा कोषाध्यक्ष रहेका पोखरेलले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई सम्पर्क गरी २ करोड घुस लिने र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् । 

​सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेका थिए । त्यसरी थुनामुक्त गरिदिने प्रयोजनका लागि आफूले २ करोड लिने कुरा पनि पोखरेलले न्यायाधीश कोइरालालाई सुनाएका छन् । 

यद्यपि न्यायाधीश कोइराला भने घुस लिने सम्बन्धमा डराउँदै मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ भन्ने लगायतका कुरा गरिरहेको अडियोमा सुन्न सकिन्छ । तर अधिवक्ता पोखरेलले भने त्यसमा कुनै समस्या नहुने, आफूले प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने आश्वासन दिएका छन् । 

बाहिरिएको अडियो टेपमा न्यायाधीश कोइराला आफैँले डिल गरेका छैनन्, र उनले हुन्छ वा हुँदैन केही पनि भनेका छैनन् । उता अधिवक्ता पोखरेलले भने सबै जिम्मेवारी आफैँले लिने भन्दै नडराउन न्यायाधीश कोइरालालाई आश्वस्त पार्न खोजेका छन् । यद्यपि उक्त प्रकरणमा न्यायाधीशले इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएका थिए । 

न्यायाधीश कोइरालाले बुधबार मध्यान्ह रातोपाटीसँग कुराकानी गर्दै भने, ‘म कहिल्यै विवादमा आएको व्यक्ति पनि होइन । मैले कसैलाई अप्ठेरोमा पारेर आर्थिक लाभ लिएको पनि छैन र लिने पनि छैन । न्यायाधीशको हैसियतमा मैले कसैको कुरा सुन्न हुन्थ्यो कि हुँदैनथ्यो भन्ने फरक कुरा हो । मैले यो मुद्दाबारे थप बुझ्न र आवश्यक पर्दा अधिवक्ता वा प्रतिवादीका नातेदारलाई कारबाहीसम्म गर्न सकिन्छ भनेर कुराकानी सुनेको सम्म हुँ । तर मैले आर्थिक लाभ लिएर कुनै आदेश वा फैसला गर्दिन, नियमानुसार गर्छु भनेर भनेको छु । मैले नै उक्त मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको हो । डिल गरेको भए त मान्छे बाहिर हुन्थ्यो होला नि । त्यसकारण यस मुद्दामा भएको के थियो भनेर म माथि छानबिन गर्न सम्माननीय ज्यू (कामु प्रधानन्यायाधीश) र न्याय परिषद्लाई आग्रह गर्छु । छानबिनका लागि म पूर्ण सहयोग गर्छु र दोषी देखिए कारवाहीका लागि तयार छु । मैल अस्वीकार गरेको कुरा हटाएर नियतवश मैले सुनेको मात्रै विषयलाई बाहिर ल्याइयो, यो स्वार्थसमूहको इन्ट्रेष्टमा आएको छ, मुद्दालाई प्रभावित बनाउने नियतका साथ आएको छ ।’

यसै विषयलाई लिएर कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले बुधबार अपरान्ह १ः३० बजेका लागि न्याय परिषद्को आकस्मिक बैठक बोलाएका छन् । 

न्याय परिषद् ऐन अन्तर्गत कुनै न्यायाधीशको सम्बन्धमा उजुरी आएमा वा कुनै प्रमाणसहित सञ्चारमाध्यममा समाचार आएमा त्यसैलाई प्रमाणका रूपमा लिई जाँचबुझ समिति बनाउन सक्नेछ । जाँचबुझ समितिले छानबिनका लागि भन्दै नेपाल राजपत्रमा सूचना प्रकाशन गरेमा उनी निलम्बनमा पर्नेछन् । समितिले बर्खास्तीका लागि सिफारिस गरेमा न्याय परिषद्को बैठकबाट निर्णय गराई जिल्ला वा उच्च अदालतका न्यायाधीशलाई बर्खास्तीसम्म गर्न सकिने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप