शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन : बुद्ध एयर

बुधबार, ०८ असार २०७९, ११ : १७
बुधबार, ०८ असार २०७९

वायुसेवा कम्पनी बुद्ध एयरले  आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय नभएको स्पष्ट पारेको छ ।  वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो भएको बताउँदै कम्पनीले आत्मालोचना गरेर आगामी दिनमा आफ्नो कारणले कारणले उडान सेवा अवरुद्ध नहुने प्रतिबद्धता व्यक्त गरेको हो ।

यसअघि वायुसेवा  सञ्चालक सङ्घ नेपालले बुधबारदेखि उद्धार तथा नियमित उडान बन्द गर्ने चेतावनी दिएको थियो । तर नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाहीको चेतावनी दिए पछिका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ ।  प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो ।  वार्तामा सङ्घले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्ने गरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको थियो ।

हाल काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाजहरू रहेको र यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण रहेको कम्पनीको भनाइ छ ।  यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरुलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएको कम्पनीले जानकारी दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ आजको परिस्थितिमा त्यस पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरू भन्दा बढी रात्रि बिसान हुने अवस्था छ । नागरिक उड्डयन प्राधिकरणले सोही अनुरूप काठमाडौँमा रात्रि बिसान हुने जहाजहरूको सङ्ख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ ।’

यस्तो छ विज्ञप्ति

असुविधाका लागि क्षमाप्रार्थी छौँ
वायुसेवा कम्पनी यात्रुहरूको पारवहन सुविधा र कर्मचारीहरूको जीविकोपार्जन थलो हो । हाम्रो आन्तरिक समस्या समाधान गर्नको लागि सेवालाई बन्द गर्नु यथोचित निर्णय होइन । यसको आत्मालोचना गर्दै आगामी दिनमा हाम्रो कारणले उडान सेवा अवरुद्ध नहुने प्रण गर्दछौँ ।

हाल काठमाडौँ विमानस्थलको आन्तरिक पार्किङतर्फ रात्रि बिसानमा क्षमताभन्दा बढी जहाजहरू रहेका छन् । यो सुरक्षाको दृष्टिकोणले जोखिमपूर्ण हुन् । धेरै अगाडीको अध्ययन र मूल्याङ्कनमा पार्किङ क्षेत्रमा १७ वटा जहाजहरूको क्षमता रहेको देखाइएको छ । यसै कारणले नागरिक उड्डयन प्राधिकरणले आन्तरिक वायु सेवाहरुलाई त्यसभन्दा बढी जहाजहरू काठमाडौँ बाहिर रात्रि बिसान गर्न निर्देशन दिएका हुन् ।

आजको परिस्थितिमा त्यस पार्किङ थलोमा सुधार भएको छ र अहिले १७ वटा जहाजहरू भन्दा बढी रात्रि बिसान हुने अवस्था छ । नागरिक उड्डयन प्राधिकरणले सोही अनुरूप काठमाडौँमा रात्रि बिसान हुने जहाजहरूको सङ्ख्या बढाउने आश्वासन प्राप्त भएको छ । यसले नेपाली यात्रुहरूलाई उल्लेख्य सुविधा पुग्ने र सबै क्षेत्रलाई आर्थिक लाभ प्राप्त हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप