सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रको चित्तमाथि एकपछि अर्को प्रहारविरुद्ध मेरो उम्मेदवारी

बुधबार, ०८ असार २०७९, ११ : १६
बुधबार, ०८ असार २०७९

‘साहस सौर्य भएपनि एकता नभएपछि राष्ट्र पराजित हुन्छ,’ चाणक्यको यो भनाई मेरो हृदयमा गडिएको छ ।
हामीबीच जनजनको एकता टुटाउने षड्यन्त्रहरु धेरै पहिलेदेखि चल्दै आए । जातीय, क्षेत्रीय, समुदायमा फरक भएपनि ‘हामी नेपाली हौं’ भन्ने भावना जगाउने एकताका धागाहरु थिए । एकतावद्ध बनाउने धागाहरु धर्म, संस्कृति, भाषा र इतिहास नै हुन् । त्यसमाथि नै योजनावद्ध आक्रमण गरी कमजोर पार्दै चुडाल्ने प्रयासहरु भए । हामीलाई टुटाउने, फुटाउने र लडाउने खेलहरु भए । नेपाली जनताले विश्वास गरेका दलका केही शीर्ष भनिएका नेताहरु नै क्षणिक स्वार्थका लागि षड्यन्त्रका सहयोगी बने । जनतामाथि विश्वासघातहरु भइरहे । कतिपय जिम्मेवार व्यक्तिहरु किनाराका साक्षी बने । विद्रोहको इच्छा गरे तर साहस गरेनन् ।

निरन्तर रुपमा संस्कृति, धर्म, भाषा, लिपिमाथि हुँदै आएको आक्रमण कुनै पनि नेपालीका लागि सह्य हुन सक्दैन । सनातन हिन्दू, बौद्धसहित पूर्वीय दर्शनको जगमा उभिएको देशको राजनीतिक प्रणालीलाई भत्काएर सत्तामा बस्नेहरुले बनाउन थालेको तासको घर कुनैपनि बेला गल्र्यामगुर्लुम ढल्नेमा कुनै द्विविधा छैन । तर, नेपाली जनता र नेपाल आमाले कति दुःख खेपिरहनुपर्ने हो भन्ने विचारणीय विषय हो ।

सुरुमा धर्म त्यसपछि गुठी जस्ता सांस्कृतिक संस्थाहरुमाथि योजनावद्ध आक्रमणहरु भए । हुँदा हुँदा इम्बोस्ड नम्बर प्लेटको नाममा नेपाली भाषा र देवनागरी लिपि मेट्ने योजना भयो । सर्वसाधारण नेपालीकै रकम प्रयोग गरेर नेपाली भाषा र देवनागरी लिपिमाथिकै आक्रमण नेपालको चित्तमाथि प्रहारको पछिल्लो शृंखला हो । हरेक पटक देशको चित्तमाथि प्रहार भइरहँदा नेताहरु मूकदर्शक बने त कोही सहयोगी । जसले जे गर्दा पनि हुन्छ भन्ने प्रवृत्ति सर्वत्र देखिएको छ । यसले आम नेपालीमा वितृष्णाको सुसुप्त ज्वालामुखी सञ्चित भएको छ, कुन दिन कसरी विष्फोट हुने हो त्यो भन्ने मात्र ठेगान छैन । 

सभ्यतालाई नै मास्ने गतिविधि विभिन्न कोणबाट हुने गरेको विश्व इतिहास साक्षी छ । कुनै पनि समाजलाई ध्वस्त पार्नु छ भने उसको धर्म, भाषा, संस्कृति, इतिहासमाथि नियोजित आक्रमण गर्ने गतिविधि हुन्छ नै । त्यसको प्रयोग नेपाल र नेपालीमा भइरह्यो । नेपाल राष्ट्रको निर्माण पछाडिका कतिपय ऐतिहासिक तथ्यहरुलाई तोडमोड गर्दै सर्वसाधारणको दिमागमा भ्रम फैलाउन खोजियो । पृथ्वीनारायण शाहको शालिकमा तोडफोड भयो । यो नेपाल एकीकरणमाथिको चुनौती थियो । यस्ता गतिविधि निरुत्साहित गर्नुको साटो प्रोत्साहन गर्ने कार्य भयो । नेपाल एकीकरण गर्ने नायककै अपमान गरियो ।

आधुनिकता शिक्षाका नाममा देशको परम्परा, धर्म र संस्कृतिमाथि प्रहार गर्ने गरी पाठ्यपुस्तकहरु तयार भए । बाल मनोविज्ञान नै नकारात्मक दिशातर्फ मोड्ने गरी पाठ्यपुस्तक तयार भयो । एउटा बालकले आफ्नो माता पितालाई कुरुप भन्ने अवस्था निर्माण गर्ने पाठ्यपुस्तक विद्यालयहरुमा पुग्दा पनि जिम्मेवार दलहरु चुइक्क बोलेनन् । शिक्षाका माध्यमले संस्कृतिमाथि प्रहारको नियोजित योजनाहरु भइरहे ।

देशको संस्कृति र सभ्यतालाई नै मास्ने गरी योजनावद्ध रुपमा भएका यस्ता गतिविधिबाट लाखौं युवाहरु प्रभावित भइसकेका छन् । यतिसम्म कि, हरेक बालक आफ्नो मातृभाषा नै बोल्न छाड्ने अवस्था बनाइँदैछ । नेपाली भाषी होस् या नेपाल भाषा नै किन नहोस्, बालबालिका आफ्ना भाषा र संस्कृतिबाट टाढिने अवस्था विकास भएको छ । अन्य भाषाको सन्दर्भमा पनि यस्तै भइरहेको छ । यस्तो हुनु एउटा स्वतन्त्र राष्ट्रका लागि कदापि शुभ होइन । कुनै पनि राष्ट्रको अस्तित्व यी र यस्तै गतिविधिले खतरामा पर्छन् । 

यस्ता यावत गतिविधिहरु लोकतन्त्रको खोल ओढेर चलि नै रहेका छन् । यस विरुद्ध कोही त बोल्नु पर्यो, कसैले त लेख्नुपर्यो । कसैले त नीति निर्माण तहमा नै परिवर्तन गरेर हाम्रो धर्म, संस्कृति, भाषा, इतिहासको जर्गेना गर्नुपर्यो । एक जिम्मेवार नेपाली नागरिक भएकाले मभित्र यो चेत छ । त्यसैले मैले यावत गलत प्रवृत्तिविरुद्ध लड्न आगामी संसदीय निर्वाचनमा ललितपुर क्षेत्र नम्बर–२ बाट स्वतन्त्र उम्मेदवारी दिने निश्चय गरेको छु ।

पत्रकारितामा रहँदा धर्म, संस्कृति, भाषा, इतिहासमाथिको हमलाविरुद्ध निरन्तर कलम चलाइरहें । विभिन्न लेखहरुमार्फत् अझै पनि चलाइ नै रहनेछु । तर, मूल विषय नीति निर्माण तहबाटै परिवर्तन हुन सक्छ । यसका लागि समाज र राष्ट्रप्रति जिम्मेवारबोध, नैतिकवान र भावी पुस्तालाई सकारात्मक सन्देश दिन सक्ने व्यक्ति पुग्नैपर्छ । कालीदासले भनेजस्तै माटो नराम्रो हुँदैन, मनुष्य नराम्रो हुन सक्छ । तर, नेपालको असल माटोमा असल मानिसहरु नै जिम्मेवार निकायमा पुग्नुपर्छ । अनि त देशको धर्म, संस्कृति, परम्परा, भाषा, इतिहास जोगिन सक्छ ।

महाभारतमा भनिएजस्तै चाहे धर्म होस् या अधर्म, चाहे सत्य होस् या असत्य शुन्यमा जिउन सक्दैन । उसलाई पनि उम्रन र हुर्कनका लागि समाजको उर्वर भूमि चाहिन्छ । कोही युधिष्ठिर चाहिन्छ, कोही धृतराष्ट्र चाहिन्छ । भन्नुको तात्पर्य प्रकाशको लागि सूर्य चाहिन्छ, चन्द्रमा चाहिन्छ या दीयो चाहिन्छ । कुनै शुन्य मरुस्थलमा भड्किएर यसको शब्द र अर्थ मिल्दैन । त्यसका लागि मैदानमा आउनुपर्छ, सिक्नुपर्छ, सिकाउनुपर्छ र भोग्नुपर्छ । आवश्यक परे संघर्ष पनि गर्नुपर्छ ।

परिस्थिति बदल्ने साहस जसमा हुँदैन, उसले परिस्थिति सहनुपर्छ । हामी नेपालीले कहिलेसम्म अनियमितताको पराकाष्ठा, अत्याचार, सभ्यतामाथिकै प्रहारको परिस्थिति कहिलेसम्म सहने ? हो, अब विस्तारै देशको गाउँ टोलको माटोबाट देशभक्तहरुको उदय भइरहेको छ र हुनुपर्छ । राष्ट्रको चित्तमाथिको योजनावद्ध प्रहार राष्ट्रलाई नै सांस्कृतिक आक्रमण गरी सक्ने षड्यन्त्र हो भन्ने जगजाहेर छ । यसविरुद्ध हरेक सचेत नागरिकले देशको कुना काप्चाबाट धक्का दिन जरुरी छ । त्यो धक्का अब मतबाट हुनुपर्छ । त्यस्तो मत जसले देशभक्तलाई बलियो बनाओस् । त्यस्तो मत जसले सनातन धर्म संस्कृतिको रक्षा गरोस् । त्यस्तो मत जसले भाषा र लिपिको रक्षा गरोस् । त्यस्तो मत जसले हरेक नेपालीलाई गर्व गर्न लायक राजनीतिक नेतृत्व विकास गरोस् । 

स्वतन्त्र उम्मेदवारका रुपमा म एक्लो छैन । मलाई देशभक्त, आफ्नो धर्म संस्कृति परम्परा र मातृभाषाको रक्षाका लागि जाग्नुभएका सबै सबै सचेत नागरिकको साथ सहयोग रहनेछ । म केवल एउटा पात्र हुँ, जो नागरिकको भावनाको सम्बोधन गर्न सेवक बनेर नागरिककै सामु खडा हुँदैछु, आफ्नै जन्मथलो ललितपुर–२ मा । यहाँको पवित्र माटोमा जन्म लिन पाएर म धन्य भएको छु । यहाँको माटो र ढुङ्गालाई मैंले बुझेको छु र भोगेको छु । त्यसैले यहाँको जन जनको भावनाको प्रतिनिधित्व गर्दै सनातन धर्म, संस्कृति, परम्परा, भाषा र गौरवशाली इतिहासको रक्षाका लागि मेरो उम्मेदवारी हुनेछ ।

जोभित्र जति सत्य हुन्छ, उसँग त्यति नै सामथ्र्य हुन्छ । हामी सत्यको पक्षमा छौं, त्यसैले हामीसँग सामथ्र्य छ । आत्मबल छ र आत्मविश्वास छ । म एक्लो छैन र देशभर हाम्रा समान मुद्दाका साथ खटिरहनु भएका लाखौं व्यक्तित्वहरु हुनुहुन्छ । एउटा जग तयार भइरहेको छ । त्यो जग मजबुत बनाउनका लागि पनि मेरो उम्मेदवारी हो । बोलीमा होइन व्यवहारमा, कुरामा होइन, कर्ममा विश्वास गर्दै आएको छु म । 

चुनावमा भन्दा मुद्दामा मेरो ध्यान हुँदै आएको छ । म फल र वृक्षलाई नभई सिंगो जङ्गलको रक्षामा ध्यान दिइरहेको छु । गन्तव्य निकै टाढा र जटिल यात्राबाट मात्र पार हुन्छ भन्नेमा जानकार पनि छु । तर, प्रतिवद्धता, इमानदारिता र निरन्तरताले गन्तव्यमा पुग्न सकिन्छ भन्नेमा विश्वस्त छु । त्यसैले  आमाबुवा, दाजुभाई दिदीबहिनीहरुको इजलासमा खडा हुँदा उहाँहरुले जे फैसला गर्नुहुन्छ, म भगवान्को प्रसाद सम्झेर ग्रहण गर्नेछु । जय मातृभूमि नेपाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप