बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाइने

बुधबार, ०८ असार २०७९, १० : ४८
बुधबार, ०८ असार २०७९

ऐतिहासिकस्थल खोटाङको मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको छ । प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकैको पर्यटकीयस्थल मझुवागढीलाई बहुवर्षे फूलका बिरुवा रोपेर ‘फूलैफूलको पहाड’ बनाउने अभियान थालिएको हो ।

अभियानका क्रममा ज्याकराण्डा, कल्की, रुख कलम, कामिनी, समी, राजवृक्ष, धुपी, धुपीसल्ला, जाइ, कपुर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँसलगायत ५०० बिरुवा रोपिएको छ । गुरुयोजना तयार गरी अभियान थालिएको मझुवागढी संरक्षण समितिका अध्यक्ष बबि चाम्लिङले बताए ।

धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी आसपासको हाटडाँडा, डाँडाखर्क र मेघेचौतारा क्षेत्रलाई समेटेर सोभन्दा माथिल्लो भागलाई ‘फूलैफूलको पहाड’ बनाउने योजना छ । मझुवागढी र कालिका भगवती मन्दिर आसपासको खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा बहुवर्षे फूलका बिरुवा रोपेर आकर्षक गन्तव्यस्थल बनाइने भएको छ । 

फूलैफूलको डाँडा बनाएर पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न अभियान थालिएको सामुदायिक वन उपभोक्ता महासङ्घका जिल्ला अध्यक्ष राजेन्द्र राईले बताए । “सुन्दर ठाउँ, वनजङ्गल, प्राकृतिक विविधता र धार्मिक ठाउँमा पर्यटक लोभिन्छन्”, उनले भने । मझुवागढी, कालिका भगवती मन्दिर, बुद्धेश्यर महादेव गुफा र त्यसको बीचमा सामुदायिक वन छ । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ हाटडाँडाबाट करिब ४५ मिनेट पैदलयात्रापछि पुगिने मझुवागढीमा १८०४ सालसम्म राजा रणवीर हाङले शासन गरेको बताइन्छ । चारैतिर हरियाली जङ्गलले घेरिएको मझुवागढीमा घुमफिर गर्न, वनभोज खान, अध्ययन भ्रमण गर्न र साहित्यिक तथा साङ्गीतिक कार्यक्रम गर्न व्यक्ति तथा समूह पुग्ने गरेका छन् ।

मझुवागढीको उत्तरतर्फ बारुद ढुङ्गा र हतियार निर्माण गर्ने भट्टी छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुङ्गा  छ । गढीको बीचमा मौली छ । त्यो बेला रणवीर राजाका रैतीहरूले दशैँ मान्नका लागि ल्याएका राँगा–बोका राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । त्यसको केहीमाथि राजाको दरबार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाउँ छ । 

गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ तथा गढीवरिपरि बम्कर घेरासमेत छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । मन्दिरमा अहिले पनि दैनिकजसो बलि दिने गरिन्छ । मझुवागढीमा हरेक वर्षको उभौली र उधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवागढीमा साकेला नाचका साथै रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायतका चाडपर्वमा ठूलो मेला लाग्छ । 

मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । पर्यटकलाई लक्षित गरी यहाँ फलामे रेलिङसहितको पदमार्ग निर्माण, घाम तथा पानी परेको समयमा ओत लाग्ने स्टिलट्रस तथा आराम गर्ने स्टिलको फलैँचा र पानीको व्यवस्था छ । यहाँबाट हिमशृङ्खला र तराईका समथर भू–भागको दृष्यावलोकन गर्न सकिन्छ ।

मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी राखिएको बताइन्छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप