शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

राजधानीमा हैजा सङ्क्रमणको स्रोत पहिचानमा जुट्दै सरकार

लक्षणविहीन हैजा सङ्क्रमित सजक बनौँ
बुधबार, ०८ असार २०७९, १० : ३९
बुधबार, ०८ असार २०७९

काठमाडौं । काठमाडौंमा दुई जना महिलामा हैजा सङ्क्रमण पुष्टि भएपछि सरकारले हैजाको स्रोत पहिचानको प्रक्रिया अघि बढाएको छ । जेठ २ गते शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा भर्ना भएका बागबजारका महिलामा हैजा पुष्टि भएपछि सङ्क्रमण स्रोतको पहिचानमा जुटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक चुमनलाल दासले बताए ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालय, महानगरपालिका, इडीसीडी पनि स्रोत पहिचानमा खटिरहेको उनले बताए । उनले बागबजार क्षेत्रको पानी, ढल, खाद्यान्न लगायतको नमुना सङ्कलन गरिएको जानकारी दिए ।

डा. दासका अनुसार अब पानी, खाद्य पदार्थको गुणस्तरमा सर्भिलेन्स गरिने छ । जिल्ला स्वास्थ्य कार्यालयसँगै महानगरपालिका टोलीले जनचेनता फैलाइरहेको उनको जिकिर छ ।

सरुवारोग अस्पताल टेकुमा हैजाको शङ्का गरिएका तीन जना बिरामीमध्ये एक जनाको आरडीटी एन्टिजोन पोजेटिभ आएको अस्पतालले जनाएको छ । हैजा हो कि होइन भनेर निर्क्योल हुनका लागि कल्चर रिपोर्ट आउन बाँकी रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले जनाए । उनीहरूको अहिले आइसीयूमा उपचार भइरहेको छ ।

हैजा भएका दशमध्ये एक जनामा गम्भीर स्वास्थ्य समस्या हुने अध्ययनहरूले देखाएको छ । लक्षणविहीन सङ्क्रमित मानिसको दिसाबाट १० दिनसम्म हैजाको ब्यक्टिेरिया देखा परिरहन्छ । यदि केहीगरी कसैले राम्रोसँग हात नधोएर पानी तथा खानेकुरा छोएमा लक्षणविहीन हैजा सङ्क्रमितका माध्यमबाट सङ्क्रमण फैलाउन सक्ने जोखिम रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए ।

लक्षणविहीन व्यक्तिले हात सफा नगरी पानी तथा खानेकुरा छुँदा तथा प्रयोग गर्दा थप मानिस सङ्क्रमित हुने सम्भावना बढ्ने सरुवारोग विशेषज्ञहरू बताउँछन् । हात सफाइमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ ।

लक्षणविहीन मानिसले खानेकुरा, पानीमा ख्याल नगरेको खण्डमा झन् चुनौती थपिने डा. पुनले बताए । लक्षणविहीन सङ्क्रमितले हात सफाइमा ध्यान नदिएमा घरभित्रकै सदस्य पनि उच्च जोखिममा पर्ने उनको भनाइ छ ।

‘हैजाको कीटाणु पेटमा पुगिसकेपछि सबैलाई गम्भीर स्वास्थ्य समस्या ल्याउँछ भन्ने छैन । ‘खानपान, व्यक्तिगत सरसफाइ, पिउने पानीको शुद्धतामा ध्यान नदिँदा सङ्क्रमण हुन सक्छ तर, लक्षणविहीनहरूको स्वास्थ्यमा समस्या नआउन सक्छ,’ उनले भने, ‘शरीरमा लक्षणविहीन हैजा लागेका मानिसले थाहा नपाएर ख्याल नगर्दा अरूलाई सङ्क्रमण हुने सम्भावना हुन्छ ।’

चिकित्सकका अनुसार बिरामी भई गाह्रो नभएसम्म हत्तपत्त अस्पताल पुग्दैनन् । झाडापखालाका लक्षण देखिएपछि सामान्य मानेर नबस्न चिकित्सकहरूको सुझाव छ ।

पछिल्लो समय अस्पतालमा झाडापखालाका बिरामी बढ्दै गएका छन् । त्यसैले भित्रभित्र कतै हैजा सङ्क्रमण फैलिएको त छैन भन्ने शङ्का उत्पन्न भएको सरुवारोग विशेषज्ञहरू बताउँछन् ।

गर्त वर्ष कपिलवस्तुको कृष्णनगरमा ८५५ जनामा हैजा सङ्क्रमण पाइएको थियो भने चार जनाको मृत्यु भएको थियो । हैजा फैलिएपछि सरकारले हैजाविरुद्धको खोपको व्यवस्था गरेको थियो । यदि सावधानी नअपनाएको खण्डमा लक्षणविहीन सङ्क्रमितका कारण सङ्क्रमण तीव्र रूपमा फैलिने जोखिम रहेको सरुवारोग विशेषज्ञहरू बताउँछन् ।

कपिलबस्तुमा हैजा सङ्क्रमण हुँदा प्रभावित क्षेत्रका बासिन्दालाई खोप दिए पनि अहिले खोप उपलब्ध नभएको डा. दास बताउँछन् । उनी भन्छन्, ‘हैजाको खोपभन्दा पनि महत्त्वपूर्ण कुरा सरसफाइ र जनचेतना भएकाले सरकारका निकायहरू जनचेतना फैलाउन लागिपरेको छ ।’

के हो हैजा ?

भिब्रियो कोरेला नामक ब्याक्टेरियाका कारण लाग्ने झाडापखालालाई हैजा भनिन्छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार सो ब्याक्टेरिया शरीरभित्र पस्यो भने पखाला लाग्ने गर्छ, जसलाई हैजा भनिन्छ । डा. शर्माले परिवारको एक जना सदस्यमा हैजा भए लगभग सबै सदस्यलाई सर्ने बताए ।

हैजा हुँदा एकोहोरो चौलानी जस्तो दिसा लाग्नुका साथै बान्ता हुनु यसको प्रमुख लक्षण रहेको डा.शर्मा बताउँछन् ।

यस्तै, हैजा हुँदा कम्तीमा ५ देखि ८ दिनसम्म लक्षण देखापर्न सक्छन् । हैजा भएको खण्डमा जलवियोजनमा कमी आउने गर्छ । जलवियोजनका कारण पेट दुख्ने, छाला चिसो हुने, तौल घट्ने,  आँखा गढ्ने, छाला निलो हुने लगायतका लक्षण देखा पर्छन् ।

डा. शर्माका अनुसार हैजाका कारण शरीरमा पानीको मात्रा कम हुँदै जाने भएकाले त्यसपछि पिसाब बन्द भई मिर्गौला बिग्रने सम्भावना हुन्छ । ‘हैजा सबै उमेर समूहमा देखिन सक्छ,’ उनी भन्छन्, दीर्घरोगी, बालबालिकालाई कडा लक्षण देखिन सक्ने भएकाले सजग हुनुपर्छ ।’

हैजा भएका व्यक्तिले ध्यान दिनुपर्ने कुरा

हैजा भएका व्यक्तिले प्रशस्त मात्रामा झोलिलो खानेकुरा खानुपर्ने डा. शर्माको सुझाव छ । दाल, दही, जुस तथा फलफूल प्रशस्त मात्रामा खुवाउनुपर्ने उनको आग्रह छ । यस्तै, प्रशस्त मात्रामा जीवनजल खुवाउने, यदि जीवनजलको उपलब्धता नभएको खण्डमा सफा उमालेको ६ गिलास पानीमा ६ चम्चा चिनी र आधा चम्चा नुन घोलेर खुवाउन उनको सुझाव छ ।

घरेलु उपचारबाट बिरामीलाई निको भएन भने तत्काल स्वास्थ्य संस्था लैजानुपर्ने उनले बताए । झाडापखाला अनि बान्ता आयो भन्दैमा अनुमानको भरमा जथाभावी औषधि किनेर खान तथा  खुवाउन नहुने उनी बताउँछन् ।

हैजाबाट बच्ने उपाय भनेकै व्यक्तिगत सरसफाइ हो । यस्तै बासी खानेकुरा नखाने, फोहोरजन्य खाना नखाने, दिसापिसाब गरेपछि राम्रोसँग साबुनपानीले हात हुनुपर्ने उनको सुझाव छ ।  पानीको मुहानमा बेलाबेलामा सफा गर्न अनि फोहोरलाई राम्रोसँग विसर्जन गर्नुपर्ने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप