बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रोकिएका नेपाली कामदार लैजान वैकल्पिक उपाय खोज्दै इजरायल

छनोटमा परेका कामदार अन्योलमा
बुधबार, ०८ असार २०७९, १० : २८
बुधबार, ०८ असार २०७९

दीर्घकालीन स्याहार केन्द्रमा पठाउन बाँकी रहेका नेपाली कामदार लैजान इजरायलले विकल्प खोज्न थालेको छ । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता बमोजिम इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रुपमा छनोट भएका ८७८ जना हालसम्म पनि जान पाएका छैनन् । 

छनोटमा परेका एक हजार १७५ जना मध्ये यसअघि नै २९७ जना नेपाली कामदार इजरायल गइसकेका छन् । तर, बाँकी कामदार अझै जान नपाएका हुन् । इजरायलको परराष्ट्र मन्त्रालयका कर्मचारीले सेवा सुविधा बढाउनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएका छन् । जसले गर्दा छनोट भई इजरायल जान तयार रहेका नेपाली सहयोगी कामदारहरुको भिषा जारी गर्ने कार्य हुन नसकेको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका निर्देशक डम्बर बहादुर सुनुवारले लामो समयसम्म पनि कामदार पठाउने कार्य सुचारु हुन नसकेपछि कामदार पठाउन वैकल्पिक उपायको खोजी थालिएको बताए । त्यसका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयले समेत आवश्यक पहल गरिरहेको उनको भनाइ छ । 

यस विषयमा इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा) ले वैकल्पिक उपायबारे सरोकारवाला निकायसँग छलफल थालेको जानकारी आएको उनको भनाइ छ । 
‘लामो समय भयो नेपाली कामदार जान नपाए । उनीहरू यतिबेला अन्योलमा छन् । नेपाल सरकारले कामदार लैजाने वैकल्पिक उपाय खोज्न आग्रह गरेका थियौँ,’ निर्देशक सुनुवारले भने, ‘अहिले पिवाले कसरी लैजान सकिन्छ ? भन्ने विषयमा सरोकारवाला निकायसँग छलफल थाल्नुभएको जानकारी आएको छ ।’

वैकल्पिक उपाय के हुन्छ भन्ने विषयमा भने अहिले नै एकिन भइनसकेको उनको भनाइ छ । वैदेशिक रोजगार विभाग र इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण एवं अन्य सरोकारवाला निकायहरु यथाशक्य चाडो अवरुद्ध प्रक्रिया सुचारु गर्ने विषयमा निरन्तर प्रयासरत रहेको उनको भनाइ छ । 

छनोटमा परेका कामदार अन्योलमा 
लामो समय हुँदा पनि छनोटमा परेका कामदार कहिले जाने भन्ने टुंगो नभएपछि अन्योलमा परेका छन् । उनीहरू न नेपालमै काम गर्न सक्ने अवस्थामा छन् न त कहिले लैजाने भन्ने टुंगो छ । करार सम्झौता (एसईसी) भई अहिलेसम्म जान नपाएकी एक जनाले आफू निकै तनावमा रहेको बताइन् । 

‘इजरायल जाने भनेर गरिरहेको जागिर पनि छोडेर बसेको नि एक वर्ष हुन लाग्यो,’ उनले भनिन्, ‘यता कतै काम गरेर बसौं भने फ्याट्ट जानुपर्ने भयो भने के गर्ने ? कामै नगरी कुरेरै बसौं भने कहिल्यै सम्म कुर्ने ?’
अहिले छनोटमा परेर जाने पर्खाइमा रहेका अधिकांश त्यत्तिकै बसिरहेका छन् । उनीहरु त केबल कहिले जाने पालो आउँछ त्यसको पर्खाईमा छन् । 

‘मैले हरेक दिन विभागको वेबसाइट हेरिरहेकी हुन्छु । केही नयाँ नोटिस आयो कि हाम्रो लागि हो कि भनेर कौतुहलता हुन्छ । यत्रो समय कुरेर अन्तिममा जान नपाउने हो कि डर पो लाग्छ,’ उनले भनिन् । 
विगत एक वर्षदेखि नर्सिङको जागिर छोडेर इजरायल जाने पखाईमा रहेकी अर्की युवतीको पनि पीडा उस्तै छ । ‘एक वर्षदेखि हातमा सिप हुँदा हुँदै बेरोजगार बस्नु परेको छ । इजरायलको आशैआशले जीन्दगी बर्बाद होला जस्तो भइसक्यो ।’ उनले आफ्नो पीडा व्यक्ति गरिन् । 

२९७ जनाले कमाए तीन महिनामा १६ करोड बढी 
५ माघ २०७८ मा पहिलो पटक ९९ जना नेपाली कामदार इजरायल प्रस्थान गरेका थिए । त्यसपछि दोस्रो चरणमा १९८ जना कामदार उडे । उनीहरु माघको १४ र १५ गते उडेका थिए । 
कोरोना महामारीको कारण उनीहरु सबैलाई पाँच दिनदेखि सातदिनसम्म क्वारेन्टिनमा राखियो । त्यसमध्ये केहीलाई इजरायल पुगेपछि पनि कोभिड पोजिटिभ देखियो । र सरदरमा उनीहरुले अहिलेसम्म तीन महिनाको तलब बुझिसकेका छन् । 

श्रम सम्झौतामै पाँच हजार इजरायली रुपैयाँ (सेकेल) भन्दा कम कुनै पनि कामदारको तलब तोकिएको छैन् । सोही आधारमा उनीहरुले तीन महिनामा ४४ लाख ५० हजार सेकेल तलब बुझिसकेका छन् । यसमा उनीहरुले पाउने ओभरटाइमको भत्ता जोडिएको छैन । यस हिसाबले गर्दा तीन महिनामा उनीहरुले १६ करोड हाराहारीमा नेपाली रूपैयाँ नेपाल पठाइसकेका छन् । 

नेपाल र इजरायलबीच सरकारीस्तरमा २०७७ को असोजमा नेपाली कामदार लैजाने विषयमा सम्झौता भएको थियो । इजरायलका लागि तत्कालिन नेपालकी राजदूत अन्जान शाक्य र इजरायली परराष्ट्रमन्त्री गावी अस्केनाजीबीच श्रम सम्झौता भएको थियो । सोही सम्झौताका आधारमा सन् २०२१ को जनवरीदेखि नेपालबाट श्रमिक छनोट गरेर पठाउने गरी प्रक्रिया अगाडि बढाएको थियो । 

नेपालबाट इजरायलले नर्सिङ क्षेत्र, अस्पताल, नर्सिङ होम, दिवा सेवा केन्द्रलगायतमा नेपाली केयर गिभरमा श्रमिक आपूर्ति गर्नेगरी सम्झौता भएको थियो । सोही आधारमा गत वर्षको असोजबाट कामदार छनोटको प्रक्रिया सुरु भई माघबाट कामदार लैजान थालिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप