बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

२ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउने हेटौँडा उपमहानगरपालिकाको तयारी

बुधबार, ०८ असार २०७९, १० : १२
बुधबार, ०८ असार २०७९

आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि हेटौंडा उपमहानगरपालिकाले कुल २ अर्ब ५० करोड रुपैयाँ हाराहारीको बजेट ल्याउने तयारी गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र खेलकुदलाई प्राथमिकतामा राखेर हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माण गरिरहेको हो ।

उपमहानगरपालिकाले पूर्वाधार विकासलाई पनि महत्वका साथ अघि बढाएको जनाइएको छ । सडक, पुल, भवन लगायतको पूर्वाधार निर्माणमा पनि उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा काम गर्ने बताइएको छ । उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि वडाहरुले पाउने बजेट सिलिङमा वृद्धि गरेर नीति तथा कार्यक्रम र बजेट निर्माण कार्य गरिरहेको हो । उपमहानगरपालिकाले कुल विनियोजित बजेटमा बजेटमा १९ वटै वडाले पाउने रकम बढाएर सिलिङ तोकेको छ ।

पाँच वर्ष अगाडि तोकिएको बजेट सिलिङभन्दा आगामी आर्थिक वर्षमा ५ करोड ७० लाख रुपैयाँ बजेट बढाएर वडा तहको सिलिङ तोकेको हो । पुरानो बजेट सिलिङले विकास निर्माणको काममा असहज भएको भन्दै नवनिर्वाचित नगर प्रमुख मीनाकुमारी लामाले सवै वडाको सिलिङमा प्रति वडा ३०÷३० लाख रुपैयाँका दरले वृद्धि गरेकी हुन् ।

२०७४ देखि बजेट सिलिङमा एकरुपता भएपछि मेयर लामाको अध्यक्षतामा जेठ २६ गते बसेको श्रोत अनुमान समितिको बैठकले प्रति वडा ३०÷३० लाख रुपैयाँ सिलिङमा थप गरेर पठाउने निर्णय गरेको थियो । थपिएको रकमले विकासका कामलाई सहज बनाउन मद्दत पुग्ने मेयर लामाको दाबी छ ।

बजेट सिलिङ थप गरेसँगै हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका लागि ३६ करोड ५० लाख रुपैयाँ बजेट पठाएको छ । चालु आर्थिक बर्षहरुमा उपमहानगरका वडाहरुले गरेको कार्यक्रम तथा योजनाहरुको कार्यान्वयनको आधारमा बजेट सिलिङ थप गरेर पठाइएको मेयर लामाले बताइन् ।

हेटौंडाका १९ वटै वडाका लागि वडा व्यवस्थापनतर्फ ९५ लाख रुपैयाँ र विविध व्यवस्थापनकातर्फ पनि ९५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईका अनुसार वडाहरुमा कुल ३८ करोड ४० लाख रुपैयाँको बजेट सिलिङ रहेको भएपनि ३६ करोड ५० लाख रुपैयाँ बराबरको मात्र बजेट सिलिङ तयार गरी पठाइएको छ ।

उपमहानगरपालिकाल तोकेको बजेट सिलिङ अनुसार वडा नम्बर १, १२, १३, १४ ,१५, १६ र १७ मा २ करोड १० लाख रुपैयाँका दरले तोकिएको छ भने वडा नम्बर २, ४, ५, ६, ७, ८, ९, १० र ११ मा १ करोड ८५ लाख रुपैयाँको दरले तोकिएको छ ।

त्यस्तै वडा नम्बर १८ मा २ करोड २५ लाख र वडा नम्बर १९ भने २ करोड ५० लाख रुपैयाँको बजेट सिलिङ तयार गरिएको उपमहानगरपालिकाले जनाएको छ । वित्तीय समानीकरण, राजश्व बाँडफाँड संघीय सरकार, राजश्व बाँडफाँड प्रदेश सरकार र आन्तरिक स्रोतमा २५÷२५ प्रतिशत बजेट सिलिङ रहेको छ ।

त्यसैगरी वडा र विविध व्यवस्थापनका लागि वडागतरुपमा ५÷५ लाख रुपैयाँको बजेट सिलिङ तयार पारिएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौलागाईंले बताए । जसमा वडागत् रुपमा आन्तरिक स्रोतबाट ४६ लाख २५ हजार रुपैयाँदेखि ६५ लाख रुपैयाँको दरले बजेट सिलिङ तयार गरिएको छ ।

वडागत् बजेट सिलिङ तोकिएर वडाहरूमा गएसँगै योजना छनोटको कार्यहरु चलिरहेको र वडामा टोल विकास संस्थामार्फत प्रतिनिधित्व रहने गरी योजना छनोटको कार्यहरु भइरहेको उनको भनाइ छ ।

हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको जनाएको छ । उपमहानगरको नीति तथा कार्यक्रम र बजेट बनाउन मेयर मीना कुमारी लामा र उपमेयर राजेश बानियाँ लागि परेका छन् ।

उपमहानगरपालिकाले आगामी आर्थिक वर्षमा विगतको अधुरा योजनाहरुलाई पुरा गर्ने लक्ष्य लिएको छ । विगतको तुलनामा फरक शैलीबाट हेटौंडाको विकास गर्ने उपमेयर बानियाँको भनाइ छ । विगतमा गरिएका कमिकमजोरीलाई सुधार गर्दै आगामी आर्थिक वर्षको बजेटलाई जनता लक्षित बनाउन हेटौंडा उपमहानगरपालिकाको सम्पूर्ण टिम प्रतिवद्ध रहेको उनको भनाइ छ ।

उनका अनुसार आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेटमा हेटौंडाको ३ वटा वडाको शहरी स्वास्थ्य केन्द्रलाई ल्याब र मेडिकल अधिकृतसहितको सुविधा प्रदान गरिने छ । गाउँपालिकासँग सिमाना जोडिएका हेटौंडाका शहरी स्वास्थ्य केन्द्रहरुलाई सो सुविधा प्रदान गरेर नागरिकको स्वास्थ्य उपचार गर्ने उपमहानगरपालिकाले तयारी गरेको उनले बताए । सो स्वास्थ्य केन्द्रबाट नजिकका गाउँपालिकाका नागरिकले पनि सेवा लिन सक्ने भएकाले सो नीति तथा कार्यक्रम अवलम्बन गरीएको उनको भनाई छ । ति स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स सेवासमेत दिएर स्वास्थ्य उपचारलाई प्रभावकारी बनाउने उपमहानगरपालिदकाको नीति रहेको उनले बताए ।

हेटौंडा उपमहानगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मंगलबार बसेको नगर कार्यपालिकाको बैठकले पारित गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप