शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट कार्यान्वयनमा प्रदेशहरुको पनि कन्तबिजोग, ११ महिनाको खर्च ११ अर्ब !

बुधबार, ०८ असार २०७९, ०८ : ३१
बुधबार, ०८ असार २०७९

सङ्घीय सरकारले बजेट खर्च गर्न सकेन भनेर तीव्र आलोचना भइराख्दा प्रदेश तिरको हबिगत पनि उस्तै देखिएको छ । चालु आर्थिक वर्षको ११ महिना बितिसक्दा समेत अधिकांश प्रदेशले विनियोजित बजेटको ५० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । 

केही प्रदेशले चालु आर्थिक वर्षको विनियोजित बजेटको चालु र पुँजीगत गरी एकमुस्ट ३० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् । सम्बन्धित प्रदेश सरकारको अर्थ तथा योजना मन्त्रालय, प्रदेश लेखा नियन्त्रक कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार जेठ मसान्तसम्ममा अधिकांश प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ४० प्रतिशत पनि खर्च कटाउन सकेका छैनन् ।

मधेस प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशले आफ्नो बजेटको ४० प्रतिशत पनि खर्च कटाउन नसकेका हुन् । गण्डकी प्रदेशले भने हालसम्म आफ्नो खर्चको तथ्याङ्क सार्वजनिक गरेको छैन ।

कुन प्रदेशले कति बजेट खर्च गरे ?

सबैभन्दा बढी प्रदेश नम्बर १ ले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ५३.४८ प्रतिशत खर्च गर्न सफल भएको छ । १४ जिल्लासहित कुल १३७ स्थानीय तह भएको यस प्रदेशले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म चालु र पुँजीगत गरी कुल १८ अर्ब ४७ करोड २३ लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल बजेटको ५३.४८ प्रतिशत हो ।

चालु आर्थिक वर्षका लागि कुल ३४ अर्ब ५४ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन गरेको प्रदेश सरकारले समीक्षा अवधिमा चालुतर्फ ९ अर्ब २२ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ ९ अर्ब २४ करोड ४९ लाख रुपैयाँ खर्च गरेको छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको ४५.३३ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशको लेखा नियन्त्रण कार्यालयका अनुसार जेठ मसान्तसम्म प्रदेशले चालु र पुँजीगत गरी कुल १८ अर्ब ४८ करोड ८१ लाख रुपैयाँ खर्च गरेको हो । चालुतर्फ ८ अर्ब ४३ करोड २१ लाख रुपैयाँ र पुँजीगततर्फ १० अर्ब १३ करोड ५३ लाख रुपैयाँ खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

अन्य वित्तीय व्यवस्थापनतर्फ के–कति खर्च गरियो भन्ने रिपोर्टमा नदेखाएको प्रदेशले कुल बजेटको ४५.३३ प्रतिशत खर्च भएको जनाएको छ । चालु आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशले कुल ४० अर्ब ९५ करोड ९७ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

बागमती प्रदेश

बागमती प्रदेशले चालु आर्थिक वर्षको ११ महिनामा विनियोजित बजेटको ४२.४२ प्रतिशत खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म प्रदेशले चालु, पुँजीगत र वित्तीय व्यवस्थापन गरी कुल २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँमात्र खर्च गर्न सकेको हो । जबकि चालु आर्थिक वर्षका लागि प्रदेशले कुल ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

यस अवधिमा चालुतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ र पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ खर्च भइसकेको प्रदेश सरकारले जनाएको छ । यद्यपि, चालु आर्थिक वर्षको अन्तसम्ममा कम्तीमा कुल बजेटको ८० प्रतिशत बजेट खर्च हुने अनुमान रहेको प्रदेश सरकारले बताएको छ ।

सुदूरपश्चिम प्रदेश

क्रम संख्याको सातौं नम्बरमा रहेको सुदूरपश्चिम प्रदेशले बजेट खर्चमा भने चौथो स्थान लिन सफल भएको छ । प्रदेशले चालु आर्थिक वर्षको ११ महिनामा कुल विनियोजित बजेटको ३४.६ प्रतिशत खर्च गर्न सकेको छ ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिमा प्रदेशले चालुतर्फ ६ अर्ब २३ करोड ७३ लाख रुपैयाँ र पुँजीगततर्फ ६ अर्ब ४९ करोड २६ लाख रुपैयाँ गरी कुल १२ अर्ब ७२ करोड ९९ लाख रुपैयाँ खर्च गरेको हो । जुन कुल बजेटको ३४.६ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि प्रदेशले कुल ३० अर्ब ३३ करोड ९४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

मधेस प्रदेश

मधेस प्रदेशले चालु आर्थिक वर्षका लागि कुल ३४ अर्ब २२ करोड ७० लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ । तर, चालु आर्थिक वर्षको ११ महिनासम्ममा कुल बजेटको ३३.९९ प्रतिशतमात्र बजेट खर्च हुन सकेको प्रदेश लेखा नियन्त्रकको कार्यालयले जनाएको छ । समीक्षा अवधिमा प्रदेशले चालुतर्फ ६ अर्ब ८४ करोड ३७ लाख रुपैयाँ र पुँजीगततर्फ ४ अर्ब ७८ करोड ९६ लाख गरी कुल ११ अर्ब ६३ करोड ३४ लाख रुपैयाँ खर्च भएको छ ।

तर, चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेटको एकतिहाइ पनि राम्रोसँग खर्च गर्न नसकेको प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि भने थप १३ अर्ब ८ करोड ९५ लाख रुपैयाँले बजेट बढाउँदै कुल ४६ अर्ब ८८ करोड ९ लाख रुपैयाँ विनियोजन गरेको छ । जुन चालु आर्थिक वर्षको भन्दा २७.९२ प्रतिशतले बढी हो ।

कर्णाली प्रदेश

चालु आर्थिक वर्षको बजेट खर्चको अन्तिममा कर्णाली प्रदेश परेको छ । चालु आर्थिक वर्षको ११ महिनामा प्रदेशले कुल विनियोजित बजेटको जम्मा ३०.२१ प्रतिशतमात्र खर्च गर्न सकेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएअनुसार जेठ मसान्तसम्ममा प्रदेशले चालुतर्फ ५ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ र पुँजीगततर्फ ६ अर्ब ३ करोड ५७ लाख रुपैयाँ गरी कुल ११ अर्ब ५९ करोड ९६ लाख रुपैयाँ खर्च गर्न सकेको जनाएको छ । जबकि चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशले ३८ अर्ब ३९ करोड ६१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

चालु आर्थिक वर्षको अन्तिम समय आइपुग्दा समेत प्रदेशले विनियोजित बजेटको ३५ प्रतिशत पनि बजेट कटाउन नसकेपछि कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको आकार नै घटाएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रदेश सरकारले १२.०५ प्रतिशतले बजेट कटौती गर्दै ३२ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक वर्षका लागि कर्णाली प्रदेशले चालु आर्थिक वर्षको भन्दा ३ अर्ब ९३ करोड ४ लाख रुपैयाँले बजेट घटाएको हो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि बजेट घटाउनेमा कर्णाली प्रदेशमात्र छ ।

यता सङ्घीय सरकार (केन्द्र) ले भने चालु आर्थिक वर्षको ११ महिनामा कुल बजेटको ६२ प्रतिशत खर्च गर्न सकेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले समीक्षा अवधिमा पुँजीगततर्फ ८ खर्ब २ अर्ब २ करोड ५ लाख रुपैयाँ खर्च गरेको छ भने पुँजीगत (विकास खर्च) तर्फ जम्मा १ खर्ब ३६ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ मात्र खर्च गर्न सकेको हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १६ खर्ब ३२ अर्ब ८२ करोड बजेट विनियोजन गरेको थियो । चालुतर्फ राम्रै खर्च भए पनि पुँजीगततर्फ भने सरकारले विनियोजित बजेटको ४० प्रतिशत पनि खर्च गर्न सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप