शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गाधनीले काठमाडौँ–मेलम्ची हाइवेको ‘ट्रयाक’ नै फेरिदिएपछि... (भिडियो)

बुधबार, ०८ असार २०७९, ०६ : ३८
बुधबार, ०८ असार २०७९

सडकमा हरेक दिन यात्रुवाहक बस डोरीले तानेर पार गराइन्छ । टाढाबाट बिरामी बोकेर अस्पताल हिँडेका एम्बुलेन्स हिलोमा फसेर समयमै अस्पताल पुग्न सक्दैनन् । एम्बुलेन्स जुन बाटो आएको हो, त्यही बाटो फर्कन बाध्य हुनुपरेको छ । यस्तो नियति नेपालको अरू कुनै दुर्गम जिल्लाको नभएर काठमाडौँ जिल्लाकै हो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ ।

काठमाडौँ–मेलम्ची वैकल्पिक राजमार्ग अन्तर्गत काठमाडौँको शंखरापुर नगरपालिका नाङ्लेभारे खण्डमा जग्गाधनी आफैले खर्च गरेर सडकको मार्ग परिवर्तन गर्न थालेपछि सर्वसाधारणले सास्ती पाएका छन् । सो सडकखण्डमा झन्डै एक महिनादेखि हैरानी पाएको सवारी चालक तथा स्थानीयवासीले बताए ।

सिन्धुपाल्चोकको गोल्फुभञ्याङदेखि काठमाडौंसम्मको रुटमा बस चलाउने चालक निरज थापाले गत जेठदेखि सो सडकखण्डमा हैरानी पाएको बताए । उनले भने, ‘पहिले भएको बाटोमा ग्राभेल थियो, अहिले बाटो सारेपछि गाडी गुडाउन समस्या भयो । पानी परेपछि त यो बाटोमा आउनै पर्दैन ।’

काठमाडौँदेखि सिन्धुपाल्चोकको हेलम्बु सेर्माथान रुटका सवारी चालक हरि श्रेष्ठले भने, ‘पानी पर्‍यो भने गाडी गुडाउन सकिँदैन । हामी गाडी चालकहरू, गाडी व्यवसायीहरू दिनरात हैरान भएका छौँ । हामीले डोरीले गाडी तान्नुपर्ने अवस्था छ । बाटोको हिलो सफा गर्न डोजर पनि छैन ।’

सो सडकखण्डमा गुड्ने यात्रुवाहक बसले डोरी बोकेर हिँड्ने गरेको उनले बताए । हिलोमा बस फसेपछि यात्रुले डोरीले तानेर बस निकाल्ने गरेका छन् ।

स्थानीय भन्छन्– एम्बुलेन्स कसरी गुडाउने ?

सडकछेउ जग्गा रहेका शशी फुयाँलसहितका जग्गाधनीले आफ्नै खर्चमा गत जेठदेखि सडकको मार्ग परिवर्तन गर्न थालेका थिए । उनीहरुले सडक विभागले बनाएको पहिलेको ग्राभेल सडक तथा ड्रेनहरु भत्काएर नयाँ बाटो खोल्न सुरु गरेदेखि नै दैनिक आवतजावत गर्ने सवारी साधन र स्थानीयले हैरानी पाएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय रामचन्द्र दंगालले भने, ‘जग्गाधनीहरूले जेसुकै गरुन्, हामीलाई बाटो चाहियो । दुईचार जनाको व्यक्तिगत स्वार्थले गर्दा यति धेरै जनतालाई दुःख दिन पाइन्छ ? सिन्धुपाल्चोकभरिका मान्छे यो बाटो हिँड्छन् । एम्बुलेन्स गुड्न पाएको छैन । बिरामी यहाँ मर्ने अवस्था छ, गर्ने के ?’

अर्का स्थानीय विदुर दंगालले प्राविधिकको मापदण्ड अनुसार सडक बन्नुपर्ने बताए । उनले भने, ‘व्यक्तिले आफूखुसी बाटो बनाउने कुरामा हामी सहमत छैनौँ । जथाभावी सडक बनाउने हो भने सडक विभागका मान्छेसँग मुकाबिला गर्ने स्थिति आउँछ । सडक कसरी बनाउने भनेर सडकको इन्जिनियरले भन्नुपर्‍यो ।’

विगतमा सडक बनाएको ट्रिपल आर परियोजनाको लापरबाहीका कारण अहिले त्यसको असर देखिन थालेको स्थानीयवासी गोविन्द आचार्यले बताए । उनले भने, ‘पहिले यहाँ ट्रिपल आर परियोजनाले सडक बनाउँदा बाटो छेउ जग्गा भएका धेरै स्थानीयले सडकका लागि जग्गादान गरेका थिए । त्यो परियोजनाले निःशुल्क रूपमा जग्गा त लियो तर बेढङ्गले लियो । बाटोको मार्ग एकातिर, कित्ताकाट अर्कोतिर भएका कारणले त्यसका असरहरू अहिले देखिएको छ ।’

स्वार्थी समूहको आर्थिक चलखेलले गर्दा समस्या भएको सुन्नमा आएको उनको भनाइ छ । बाटोको मार्ग परिवर्तन गरेपछि सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ का विभिन्न ठाउँबाट आउने गाडी, एम्बुलेन्सहरूलाई वर्षातको समयमा धेरै गाह्रो परिरहेको उनले सुनाए । उनले भने, ‘सडकभन्दा मुनिको जग्गामा पनि सडकबाट माटो खसालेर पुरिदिएको हुनाले यहाँका जनताहरू आक्रोशित भइरहेका छन् ।’

विवाद जग्गाधनीबीच : समस्यामा स्थानीयवासी र सवारीसाधन

सो सडक खण्डछेउमा रहेको दुई कित्ता जग्गाका दुई पक्ष जग्गाधनीहरू आपसमा विवाद गरिरहेका छन् । शशी फुयाँलसमेत रहेका जग्गाधनीहरूले अनुमतिबिना आफ्नो जग्गामा बाटो बनाएर क्षति पुर्‍याएको श्याम सुवेदी समेतका अर्को पक्षका जग्गाधनीको आरोप छ । सुवेदी सहितका जग्गाधनीहरू पुरानै मार्ग कायम गर्नुपर्ने माग गरिरहेका छन् ।

फुयाँलसमेत रहेका जग्गाधनीहरू भने आफूले नक्सा विपरीत सडक विभागको बाटोलाई नक्सा अनुसार बनाएको दाबी गरिरहेका छन् । उनीहरु आफूले खनेको ठाउँबाट बाटो जानुपर्ने अडानमा छन् ।

अर्कोतिर सडकभन्दा मुनि रहेका जग्गाहरूमा समेत बाटोबाट डोजरले माटो खसालेर पुरिदिएको भन्दै अर्को पक्ष जग्गाधनी पनि आक्रोशित बनिरहेका छन् । जसको मारमा सडक प्रयोेगकर्ता सवारी साधन र स्थानीय परेका छन् ।

यसअघि शंखरापुर नगरपालिकाको मेलमिलापकर्ता समेत रहेका बिदुर दंगालले भने, ‘पुरानो जुन ठाउँबाट सडक थियो, त्यहाँ सडकको ठेकेदारले काम गर्दै थियो । व्यक्तिको दायाँबायाँ जग्गा र बीचबाट सडक थियो । यो ठाउँमा सडक परिवर्तन गर्नुपर्छ भनेर परिवर्तन गर्न थाले । पहिले सडक ग्राभेल भइसकेको थियो । पहिले बनेको संरचना जग्गाधनीले भत्काएर नयाँ ट्रयाक खने ।’

जग्गाधनी आफैले ग्राभेल गरिदिन्छु भनेको तर त्यो पूरा नगरेपछि यहाँको सडकमा समस्या आएको उनको भनाइ छ ।

बाटोको मार्ग परिवर्तन गरिरहेका जग्गाधनी शशी फुयाँलले सो बाटोका लागि विगतमा साढे २ रोपनी जग्गा निःशुल्क छोडिदिएको बताए । पहिले नक्सा अनुसार बाटो नबनाएकाले अहिले नक्सा अनुसार बाटो परिवर्तन गरेको उनको दाबी छ ।

उनले भने, ‘ट्रिपल आर परियोजनाले बाटो बनाउने क्रममा नक्सामा हामीले जहाँबाट बाटोका लागि जग्गा छोड्यौँ, त्यतिबेला त्यहाँबाट नबनाइकन व्यक्तिगत जग्गाबाट बाटो बनाएकाले हामीले आफ्नै खर्चमा ड्रेन, ट्रयाक खोलेका हौँ । जहाँबाट नक्सा छ, त्यहीँबाट बाटो खोलेको हो ।’ बाटो खोलेपछि वर्षातले काम रोकिएको उल्लेख गर्दै उनले आफूहरूले नै ग्राभेल गरिदिने बताए । पहिले जहाँबाट नक्सा थियो, त्यहीँबाट ट्रयाक खोलेको उनको दाबी छ ।

तर अर्का जग्गाधनी श्याम सुवेदी लगायतका पक्षले भने फुयाँलको कुरामा असहमति प्रकट गरे । सुवेदीले भने, ‘हिजो नेपाल सरकारले सर्भे गरेर बनाएको मुख्य बाटोको ट्रयाक नै परिवर्तन गरेको छ । गाडी गुड्न नसकेर बिजोग भएको छ । सम्बन्धित जग्गाधनीलाई सम्पर्क नगरीकन खनेको कारण यो अवस्था आएको हो । पहिले जहाँबाट बाटो थियो, त्यहीँबाट लगे यो विवाद नै आउँदैन ।’

आफूहरूको जग्गालाई अहिले ३ तला अग्लो भीर बनाइएको उनको आरोप छ । ‘भोलिपर्सि पहिरो गएर त्यही बाटोमा खस्ने हो, हामी पहिले जहाँबाट बाटो थियो, त्यहीबाट हुनुपर्ने पक्षमा छौँ,’ उनले भने । उनले नक्सा यताबाट गएको छ भनेर नेपाल सरकारले बनाएको बाटो परिवर्तन गर्न नहुने बताए ।

व्यक्तिले आफ्नो इच्छामा सडकको ट्रयाक परिवर्तन हुँदैन : सडक विभाग

सडक विभागले कुनै पनि राजमार्गमा व्यक्तिको आफ्नो इच्छाअनुसार बाटो  परिवर्तन हुन नसक्ने बताएको छ । सडक विभागले बनाएको मापदण्ड र स्वीकृति अनुसारमात्र बाटो बन्ने विभागको भनाइ छ ।

सडक विभागका उप–महानिर्देशक भिमार्जुन अधिकारीले कुनै व्यक्तिले चाहँदैमा सडकको ट्रयाक खोल्न नसक्ने बताए । रातोपाटीसँग कुरा गर्दै उनले भने, ‘सडकको ट्रयाक, ड्रइङ, डिजाइन, स्वीकृत भएको डीपीआर जुन सडक विभागले स्वीकृत गरेको हुन्छ, त्यस बमोजिम सडकको ट्रयाक खोल्नुपर्ने हुन्छ । कुनै व्यक्तिले चाहँदैमा सडकको ट्रयाक परिवर्तन गर्ने भन्ने कुरा हुँदैन ।’

उप–महानिर्देशक अधिकारीले सडक विभागको स्वीकृतिपछि मात्रै सडकको बाटो परिवर्तन गर्न सक्ने बताए । उनले भने, ‘व्यक्तिले सडकको ट्रयाक परिवर्तन गर्न मिल्दैन । सडक विभागले आवश्यक ठान्यो भने स्वीकृत डिजाइन, नक्सा बमोजिम सडक विभागले स्वीकृत गरेर परिवर्तन गर्ने हो ।’

समाचार नलेख्न जग्गा धनी फुयाँलको दबाब

तत्कालीन नगर प्रमुख र वडाध्यक्षको स्वीकृति लिएर नक्सा अनुसार सडकको मार्ग परिवर्तन गरेको दाबी गर्ने शशी फुयाँलले समाचार नलेख्न पटकपटक दबाब दिए । फुयाँलले सार्वजनिक रूपमा आफू अनुकूल हुने समाचार मात्र लेख्न दबाब दिनुका साथै घुमाउरो ढंगले धम्कीपूर्ण अभिव्यक्ति दिए । उनले भने, ‘मैले भनेअनुसार मात्र समाचार लेख्नुस् । मैले पनि मिडियाको धेरै मान्छेहरु चिनेको छु ।’

फुयाँलको दबाब सुनिरहेका जग्गा धनीहरुको अर्को पक्षले भने उनको भनाइको प्रतिवाद गरे । फुयाँलले अनुमति बिना आफ्नो जग्गाबाट समेत बाटो बनाएर क्षति पुर्‍याएको उनीहरुको दाबी छ ।

बाटो परिवर्तन गर्ने जग्गाधनीहरूले नगरपालिकाबाट स्वीकृति लिएर काम गरेको दाबी गरेका छन् । नगरपालिकालाई निवेदन दिएको तर निवर्तमान नगरप्रमुखको मौखिक स्वीकृतिको आधारमा काम गरेको उनीहरु बताउँछन् ।

यता सडक विभागले भने सो सडकमा नगरपालिकाको नभएर विभागको क्षेत्राधिकार रहेको बताएको छ ।

हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप