बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालय होटलमा सम्पन्न एनआरएनए महाधिवेशन आधिकारिक : गुरुङ

मङ्गलबार, ०७ असार २०७९, २० : ३०
मङ्गलबार, ०७ असार २०७९

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकताको बारेमा बोल्दै एनआरएनए  सचिव टीका गुरुङ (राधिका)ले हिमालय होटलमा सम्पन्न संघको महाधिवेशन नै आधिकारिक रहेको धारणा व्यक्त गरेकी छन् । लन्डनस्थित फानवरोमा सोमवार आयोजित एक कार्यक्रममा अतिथिको रुपमा  बोल्दै उनले सो कुरा बताएकी हुन् ।

हाल उनी भ्रमणका क्रममा बेलायत आएकी हुन् । संघको १० औं महाधिवेशनका सम्बन्धमा अधिकांश राष्ट्रिय समिति स्पष्ट रहे पनि एक दुईवटा भने पर्ख र हेरको अवस्थामा रहेको उनले बताइन् । गैरआवासीय नेपाली संघले कोभिड महामारीमा देशको लागि उल्लेख्य काम गरेको स्मरण गर्दै विश्वभर छरिएका नेपालीहरुले सोचेभन्दा बढी प्रभावकारी रुपमा स्वास्थ्य सामग्री नेपाल पठाउन सकेको र संघको अभियानले विश्वभरका नेपालीहरुलाई एउटै संजालमा ल्याएर आफ्नोपन दिएको बताइन् । गैरआवासीय नेपाली संघको अभियानमा गरेको योगदानको कदर गर्दै सचिव गुरुङलाई सम्मान गरिएको छ ।

स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघको उपमहासचिव रामशरण सिम्खडाले असहज र विषम परिस्थितिबीच संघको १० औं महाधिवेशन सम्पन्न भएको बताउँदै संस्थालाई विभाजनतिर लैजान भन्दा मध्यमार्गी  बाटो अपनाएर  तीन जना अध्यक्ष मानेर सहमतिको बाटो निकालिएको बताए । उनले गैरआवासीय नेपाली संघ एउटै रहेको भन्दै कहिँकतै भ्रममा नपर्न आग्रह गरे ।

गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष कृष्ण तिमल्सिनाले संघको अभियानमा गुरुङले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउँदै आगामी दिनमा सकृय रुपमा संघको अभियानमा लाग्न आग्रह गरे । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका उपाध्यक्ष सुनिल खड्काले संघको १० औं महाधिवेशनपछि केही राष्ट्रिय समितिमा अझै अन्योल रहेको बताउँदै एनआरएनए यूके कहाँ उभिएको छ भन्ने विषय अझै स्पष्ट नभएको बताए ।

उनले संघलाई दले र घलेको उपनामले चिनाउने गरेको चर्चा गर्दै दलहरूको सहमतिमा बनेको कार्यसमिति र पूर्वअध्यक्ष शेष घलेको सक्रियतामा बनेको समितिका कारण समाजमा अन्योल सृजना भएको बताए ।कार्यक्रममा एनआरएनए युकेका पूर्वअध्यक्ष सूर्य गुरुङ, संघको केन्द्रीय सदस्यहरु एलएन पाण्डे, दिनेश घिमिरे, गैरआवासीय नेपाली संघ युकेकी निवर्तमान अध्यक्ष पुनम गुरुङलगायतले आआफ्नो भनाइहरू राखेका थिए ।

संघकी महिला संयोजक संगीता मरहट्ठाले संचालन गरेको कार्यक्रममा तमुधीं युकेका पूर्वअध्यक्ष कमल गुरुङ, बुद्ध फाउण्डेशन युकेका अध्यक्ष दीपक श्रेष्ठ, एनआरएनए युकेका निवर्तमान महासचिव फडिन्द्र भट्टराई, पूर्वकोषाध्यक्ष दिलराज गुरुङ लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप