शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

प्रदेश १ बजेट बहस : चालु खर्च ढाकछोप नगरिएको मन्त्री आङ्बोको दाबी

मङ्गलबार, ०७ असार २०७९, १८ : २५
मङ्गलबार, ०७ असार २०७९

प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा चालु खर्च ढाकछोप गर्न बजेटको आकार बढाएको भन्ने आरोपको खण्डन गरेका छन् । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सांसदहरुले गरेको टिप्पणीको मंगलबार जवाफ दिँदै आङ्बोले उक्त कुरा बताएका हुन् ।

यसअघि एमाले सांसदहरुले स्रोत सुनिश्चित गर्ने आधारबिनै सरकारले प्रस्तुत गरेको बजेटमा चालु खर्च बढेको र त्यसलाई ढाकछोप गर्न बजेटको आकार बढाएर कार्यान्वयन हुनै नसक्ने बजेट ल्याएको आरोप लगाएका थिए ।

आङ्बोले भने बजेट पूर्ण रुपमा कार्यान्वयन गर्न सरकार सक्षम रहेको बताए । चालु आर्थिक वर्षमा चालु खर्चतर्फ ४४ प्रतिशत, पुँजीगततर्फ ४६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १० प्रतिशत हुने गरी बजेट ल्याइएको स्मरण गर्न सांसदहरुलाई आग्रह गरे । ‘चालु आर्थिक वर्षको संशोधित बजेटमा पनि ३६ प्रतिशत चालु र ५२ प्रतिशत पुँजीगत छ भने वित्तीय व्यवस्थातर्फ १२ प्रतिशत पुगेको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि चालु खर्च ३६ प्रतिशतमात्रै छ । पूँजीगत खर्च भने ५४ प्रतिशत राखेका छौं । कहाँ बढेको छ चालु खर्च ?’

जबर्जस्ती मिथ्यांक प्रस्तुत गर्न खोजिएको भन्दै उनले चालु खर्चमा २१ प्रतिशत र पुँजीगत खर्चमा २० प्रतिशत वृद्धि भएको र बजेटको आकारसँगसँगै खर्चको आकार पनि बढ्ने बताए ।

उनले स्रोतको सुनिश्चितता बेगर बजेट नल्याइएको प्रस्ट पारे । ‘चालु आर्थिक वर्षको बजेटभन्दा आगामी आर्थिक वर्षको बजेटको आकार ७ अर्ब २६ करोड ९१ लाख वृद्धि भएको छ,’ आङ्बोले भने, ‘त्यसको पहिलो स्रोत भनेको २ अर्ब ६ करोड ५८ लाख अन्तःशुल्क र मूल्य अभिवृद्धि करमा भएको वृद्धि हो, दोस्रोमा सशर्त अनुदानतर्फ २ अर्ब ७१ करोड ८२ लाख बजेट वृद्धि छ । बाँकी २ अर्ब ४८ करोड ५१ लाख अलिक बढी छ । त्यसमा पनि करिब ९० करोड राजस्व वृद्धि हुन्छ ।’ उनले स्रोतको विषयमा कुनै चिन्ता गर्नु नपर्ने बताए ।

एमाले सांसदहरुले चार महिनामै जाने सरकारले १० वर्षे रणनीतिक योजना किन ल्याएको भन्ने प्रश्न उठाएका थिए । जवाफमा मन्त्री आङ्बोले भने, ‘सरकारले दुई महिना र चार महिना टिक्छु, त्यति समयका लागिमात्रै योजना ल्याउँछु भनेर हुँदैन । सरकारले दीर्घकालीन सोचका साथ नै बजेट ल्याउँछ ।’

आफू अर्थमन्त्रीको हिसावले अन्तिम कार्यकालका भएको तर यही नीति तथा कार्यक्रमको आधारमा आगामी सरकारहरुले पनि काम गर्ने बताए । ‘अब ६ महिनापछि चुनाव आउँछ । चुनावबाट यही गठबन्धन आउने विश्वासका साथ कार्यक्रम ल्याइएको छ,’ उनले भने ।

उनले १०÷२० लाख रुपैयाँ दिएर जनताले भोट हाल्छ भन्ने विश्वास आफूहरुलाई नभएको बताए । ‘राजनीतिक पार्टीले राजनीतिक कार्यक्रमका आधारमा चुनाव लड्ने हो । पैसा तथा योजना बाँडेर हामी जित्छौं भन्ने कुरामा हामी विश्वास गर्दैनौं,’ उनले भने, ‘हामीले विगतका ७० प्रतिशत आयोजनाहरुलाई प्राथमिकताका साथ राखेका छौं । नयाँ योजनाहरु भनेको ३० प्रतिशतमात्रै छ ।’

आङ्बोले जवाफ दिएसँगै आर्थिक वर्ष ०७९÷०८० को राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल सकिएको छ । आजकै बैठकमा आर्थिक मामिला मन्त्री आङ्बोले बजेट कार्यान्वयन गर्न ल्याइएको आर्थिक विधेयक संसदमा छलफलको लागि प्रस्तुत गरेका थिए । उक्त छलफल पनि समाप्त भएको छ । बुधबार बस्ने संसदको अर्को बैठकमा विनियोजन विधेयकमा उल्लेखित मन्त्रालयगत छलफल सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप