शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अपहरणको नाटक गरेर २० लाख फिरौती माग

पाँचौ दिनमा विराटनगरबाट पक्राउ
मङ्गलबार, ०७ असार २०७९, १७ : ५८
मङ्गलबार, ०७ असार २०७९

ललितपुरको इमाडोलबाट असार १ मा अपहरणमा परेका भनिएका कृष्ण कुमार शर्माले ‘नाटक’ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । सप्तरीको राजगढ गाउँपालिका–३ घर भई इमाडोल बस्ने ३१ वर्षीय कृष्ण कुमार शर्मा असार १ मा ‘परिवारलाई आइएमईबाट पैसा पठाउँछु’ भनेर डेराबाट निस्केपछि सम्पर्क बिहिन भए ।

सँगै काठको काम गर्ने सालोले प्रहरी वृत सातदोबाटोमा उनी हराएको जानकारी गराए । जेठ २ मा शर्माले चलाउने सामाजिक संजाल आईडी ‘इमो’बाट मेसेज आयो–‘कृष्ण कुमार शर्मालाई अपहरणमा परेका छन् र हत्या गर्न ८ लाख आएको छ तर, २० लाख दिए छाड्छौँ ।’ संवेदनशिल सुचना पछ्याउँदै उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थाल्यो । शर्माको मोबाइल अफ थियो । इमोबाट उनको लुगा च्यातेको र रगत लागेको फोटो आयो । इमोमा आएको सन्देश थियो–‘मान्छे जिवित छ तर, दुई दिनभित्र पैसा नदिए र प्रहरीलाई खबर गरेमा मान्छे जिवित फर्किँदैन ।’ 

परिवारको मोबाइलमा रगत लतपतिएको भिडियो र धम्कीपूर्ण म्यासेज आइरह्यो । कृष्ण कुमार शर्मालाई मोरङ प्रहरीसँग समन्वय गरेर विराटनगरबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए । असार ५ मा साँझ ८ बजे अटो चढेको अवस्थामा उनलाई पक्रेर प्रहरीले काठमाडौंमा ल्याएको छ । शर्माले अपहरणको नाटक गरेको एसपी कोइरालाले जानकारी दिए । 

असार १ बाट ४ दिन गौशालाको एउटा होटलमा बसेर उनि मोरङ गएको अनुसन्धानबाट थाहा भएको छ । उनी इमाडोलस्थित काठ कारखानामा काम गर्थे । उनलाई ‘सार्वजनिक उपद्रो गर्न नहुने’ कसुरमा कारवाही गर्न अपराध अनुसन्धान कार्यालयले सातदोबाटोमा पठाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप