बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

योग दिवसको सन्देश : खै त जीवनशैलीमा सकारात्मक परिवर्तन ?

मङ्गलबार, ०७ असार २०७९, १७ : ११
मङ्गलबार, ०७ असार २०७९

यस वर्ष पनि २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा हामीले मनाइरहेका छौं । संयुक्त राष्ट्रका सबै सदस्य राष्ट्रहरुले आ–आफ्नै ढंगले यो अन्तर्राष्ट्रिय योग दिवस मनाउँदै आइरहेका छन् । यस पटक मनाइने योग दिवस आठौं अन्तर्राष्ट्रिय योग दिवस हो । विश्वव्यापी रुपमा योग प्रतिको रुचि, योग सिक्ने र दैनिक जीवनमा योग अभ्यास गर्ने मानिसहरूको संख्या बढ्दै गइरहेको छ । अमेरिका, युरोप, अस्ट्रेलियालगायत भारतका विश्वविद्यालयहरुमा योगले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा पार्ने बहुआयामिक प्रभावको अध्ययन गरिरहेका छन् । बर्षेनी अनेकौं शोधग्रन्थहरु पनि प्रकाशित भइरहेका छन् ।

योगासनले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । योगासन गर्ने व्यक्तिहरूको रोग प्रतिरोधक क्षमता बलियो हुन्छ । यसले शरीरको कोषदेखि समग्र शरीरलाई उर्जाको नयाँ स्तरमा पु¥याउने भएकोले मानिस स्फूर्त र ताजा हुन्छ । नियमित योगाभ्यास गर्ने व्यक्तिलाई रोग लागे पनि छिटै निको हुन्छ । आधुनिक स्वास्थ्य विज्ञानले पनि यो तथ्यलाई विस्तारै स्वीकार्दै गइरहेको छ ।

सुरुका दिनहरुमा जब हामी पश्चिमी जगतमा योग र ध्यानको प्रचार गर्न कोसिस गथ्र्यौं, विशेष रुपले इसाई र इस्लामिक देशहरुमा केही विरोध हुन्थ्यो । उनीहरु भन्थे कि यो हिन्दू पद्धति हो र यसले हिन्दू धर्मलाई प्रचार गर्दछ । अनेकौं अमेरिकी स्कूलमा योगमा प्रतिबन्ध पनि गरियो र अदालतसम्म मुद्दापनि पुग्यो । तर आठ वर्षअघि संयुक्त राष्ट्रसंघबाट जब यो प्रस्ताव पास भयो, त्यसैबाट अन्तर्राष्ट्रिय रूपमा योग दिवस मनाउने परम्परा सुरु भयो । त्यसपछि योगका विरुद्धका भ्रमहरु चिरिँदै गएका छन् । इस्लामिक राष्ट्रहरुजस्तै पाकिस्तान वा दुवई पनि योग गर्ने व्यक्तिहरूको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

उता अमेरिकामा जनसंख्याको १५ प्रतिशत व्यक्तिहरु कुनै न कुनै किसिमका योग र ध्यानका प्रयोग नियमित गरिरहेका छन् । उनीहरूको आँकलन के छ भने अब आउने सन् २०३० सम्म यो संख्या बढेर दोब्बर हुनेछ । र, तीनमध्ये एक अमेरिकीले कुनै न कुनै किसिमको ध्यान वा योग गर्नेछन् । विकसित देशहरुमा यो एक लाभदायक व्यवसाय पनि बन्दै आइरहेको छ । भारतीय योगगुरुहरु या केही नेपाली योग प्रशिक्षकहरु योग र ध्यान गराएर राम्रो आय–आर्जन पनि गरिरहेका छन् । पश्चिमी देशहरूका ठूला सहरका केन्द्रहरुमा जहाँ अन्तर्राष्ट्रिय ब्रान्डेड स्टोर हुन्छन्, त्यही स्थानमा अति नै महँगा योग र ध्यान स्टुडियोहरु व्यवसायिक रुपले पनि सफलतापूर्वक चलिरहेका छन् ।

पश्चिमी जगतमा मैले चिनेका केही डाक्टरहरुले अहिले योग र ध्यान सिकी सफल योगगुरुका रूपमा आफूलाई स्थापित गरी आफ्नो आर्थिक अवस्थालाई डाक्टरी पेशा भन्दा उच्च स्थितिमा उठाइसकेका छन् । आउने दिनमा पश्चिमी जगतमा यो साधना गर्ने मानिसहरूको संख्या बढ्दै जाने भएकोले नेपालले चाह्यो भने राम्रा योगशिक्षकहरू तयार गरी विदेशमा पठाउन सक्छ । उनीहरुले सम्मानित तरिकाले आफ्नो आर्थिक स्थिति सबल बनाउन सक्छन् । यसले नेपाललाई योग गन्तव्यको रुपमा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने छ । 

योग दिवसमा हामीले पतञ्जलीको नाम लिन्छौ, योगासन र प्राणायाम प्रदर्शन गर्छौं । तर योगासनलाई स्टे«चिङको रुपमा मात्र प्रदर्शनी गर्नु योगको गहनता नबुझ्नु हो । यसको बहुआयामिक रुपान्तरणकारी पक्षलाई बिर्सिनु हो । जिउलाई चरम स्थितिमा पुर्‍याएर यही योग हो भन्नु हास्यास्पद पनि हो । कुनै सर्कसको कारिन्दाले त्यो भन्दा राम्रो तरिकाले जिउ लच्काएर देखाउन सक्ला । हामीले योगको अर्थ स्ट्रेचिङको अभ्यास नै हो भन्ने बुझाइ रहेको वर्तमान अवस्थामा त्यसलाई चिर्ने जिम्मेवारी हामी सबै योग साधकहरुको छ ।

हामी योगलाई पतञ्जलीसँग जोड्दछौं । पतञ्जली योग सूत्रमा भएका १९५ वटा श्लोकमा आसनको व्याख्या जम्माजम्मी दुई सुत्रमा मात्र गरिएको छ । त्यहाँ प्राणायामको उल्लेख छ । कपालभाती, अनुलोम विलोम जस्ता विधिहरूको कतै उल्लेख छैन । पतञ्जलीले आसन र प्रणायामलाई समाधिको खुड्किलोको रुपमा उल्लेख गरेका छन् । पतञ्जलीका सुत्रहरु राजयोगसँग सम्बन्धित छन्, हठयोगसँग छैन ।

स्वआत्मारामको हठयोग प्रदीपिका र घेरण्ड संहिताले हठयोगलाई पछि विकासित गरे । हठयोग प्रदीपिका साढे ६ सय वर्षअघि लेखिएको मानिन्छ । यसमा ३७९ श्लोक छन् । घेरण्ड संहिता १६ औं शताब्दीको उतराद्र्धमा लेखिएको हो, जसमा ३५१ श्लोक छन् । यी दुबै संहितामा आसन, षट्कर्म, प्रणायाम, बन्ध र मुद्रा र समाधिको बारेमा प्राविधिक चर्चा गरिएको छ । पतञ्जलीको मार्ग भने राजयोगको मार्ग हो, यसमा समाधि प्राप्तिको मार्ग, लक्षण र साधनको कुरा गरिएको छ । 

पतञ्जलीको योग सुत्र “योगः चित्तवृत्ति निरोधः” भन्दै सुरु हुन्छ । यो सुत्रलाई अंग्रेजीमा भन्नुपर्दा “सिजेसन अफ माइण्ड” हो । सबै मनका विचार, तरंगबाट चित्त मुक्त भएको अवस्थालाई ओशोले नो–माइण्ड अर्थात् अमनी दशा भन्नुहुन्छ । त्यहाँसम्म पुग्ने त्यसका ८ खुड्किला पतञ्जलीले उल्लेख गरेका छन्– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि । यसको अन्तरङ्ग अर्थात् अन्तिम अभ्यास धारणा, ध्यान र समाधि हो । तयारीको महत्व त हुन्छ नै तर उपलब्धिलाई पनि भुल्नु हुँदैन । अन्तिम लक्ष्य त्यसको समाधि हो । आसन, प्राणायाम यसको पृष्ठभूमि तयार गर्ने खुडकिला हुन् । 

राजयोग समाधिको दर्शन हो । यो हठयोगको विकासभन्दा अघि नै साधनापद्धतिको रुपमा स्थापित थियो । पतञ्जली कहिले थिए भन्ने कालखण्डको बारेमा विवाद छ । कतिले उनलाई भगवान् श्रीकृष्णकै समकक्षीमा राख्छन् भने धेरै विद्वानहरूको मत इसापूर्व २ सय बर्षअघि उनी जन्मेका हुन् भन्ने छ  । कश्मीरमा साधना गरी पतञ्जली हिमालय क्षेत्रमा बसेको मानिन्छ ।

आजको युगमा मानिसले आफूलाई शरीर हो भन्ने ठान्छ र यसलाई स्वस्थ राख्न, सजाउन धेरै मेहनत पनि गर्छ । आफ्नो शरीरप्रति ज्यादै उत्सुक र संवेदनशील पनि छ  । हिन्दूहरूका चार पुरुषार्थहरु अर्थ, काम, धर्म र मोक्ष छन् । यी चारै पुरुषार्थका लागि स्वस्थ शरीर चाहिन्छ,  स्वस्थ मन चाहिन्छ । पहिलो शरीर अन्नमय कोष भोजन, पृथ्वी, जल, अग्नि, वायु र आकाशबाट बनेको छ । त्यसलाई स्वस्थ राख्न योग, सात्विक आहार, विश्राम र सही वातावरण चाहिन्छ । प्राणमय कोषलाई स्वस्थ, सक्रिय र स्वस्थ बनाउन प्राणायामको अभ्यास चाहिन्छ ।

आसन स्थिर र सुखपूर्व स्थितिमा लामो समयसम्म रहन सक्यो र शरीरको भौतिक द्वन्द्वबाट मुक्त भएपछि यो आसन सिद्ध भएको मानिन्छ । पतञ्जलीले आसनको बारेमा यति मात्रै कुरा गरेका छन् । जब हामी ८४ आसनको कुरा गर्छौं, त्यो विकास हुँदै आएका हठयोगका व्याख्याहरु हुन् ।

आजको विज्ञान र प्रविधिको युगमा मेसिनहरुले मानिसको श्रमलाई विस्थापित गरेको अवस्थामा शरीरलाई आन्तरिक गति दिन विभिन्न किसिमका आसन र प्राणायामहरु सान्दर्भिक देखिन्छन् । त्यसैले योगासन जोगी, साधुले मात्रै गर्ने विषय नभई अब सबैले गर्ने विषय भएको छ । शरीरलाई स्वस्थ राख्न योग र प्राणायाम आवश्यकता मात्रै होइन, अनिवार्य भइसकेको छ । त्यसैले संयुक्त राष्ट्र संघमा आबद्ध अधिकांश देशहरूले योग र प्राणायामसहित अन्तर्राष्ट्रिय रूपमा अभ्यास गर्ने दिनका रुपमा २१ जुनलाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्न तयार भए । यी देशका उच्चपदस्थ राजनैतिक, गैरराजनीतिक व्यक्तिहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवस राष्ट्रिय पर्वका रुपमा मनाइन्छ । विश्वका जुनसुकै देशमा यो दिवस मनाए पनि भारतीय राजदूतको विशेष उपस्थिति रहेको हुन्छ । किनभने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सक्रिय नेतृत्वमा २१ जुनलाई अन्तर्राष्ट्रिय दिवसको रुपमा मान्ने कुरा प्रस्ताव भएकोमा अरु देशहरु पनि सहमत भएका हुन् ।

योगले के भन्छ भने रोगहरु पहिला मनस् शरीरमा रोग देखा पर्छन् । बिस्तारै त्यो प्राण र भौतिक शरीरमा देखा पर्न थाल्छन् । मनस् शरीरबाट भौतिक शरीरमा रोग आइपुग्न करिब ६ महिनाको समय लाग्छ । मनमा विशाद, चिन्ता, निराशा, हतास, तनाव जस्ता नकारात्मक भावहरुले जरा गर्न थालेपछि विस्तारै त्यसको असर भौतिक शरीरमा विभिन्न रोगको रूपमा देखा पर्न थाल्छन् । आज विश्वमा चारमध्ये एक स्त्रीलाई स्तन क्यान्सर भएको छ भने आठमध्ये एक पुरुषलाई प्रोस्टेट क्यान्सर भइरहेको छ । क्यान्सरले  विकराल रुप लिएकोमा मानिसको मनमा रहेको गहिरो नकारात्मक भावको कारणले यस्तो हुन्छ भन्ने योगीहरुको भनाई छ । क्यान्सरको भित्री जरो मानिसको मनमै छ, भित्र कतै मानिसको जिउने इच्छा नै कमजोर भएको छ र उ भित्रभित्रै मर्न चाहन्छ । उसको त्यो भित्री भावना सुक्ष्म रुपले असाध्य रोगहरूको रुपमा शरीरमा देखा पर्छ । यो कुरामा वैज्ञानिक सत्यता पनि छ । किनभने मानिसको प्राणमय शरीरको आउराको क्रिलियान छवि उतार्न सकिन्छ । यो छविमा शरीरमा रोग लाग्न सक्ने सम्भावित भागहरुमा रंगहरुको परिवर्तन भएको देख्न सकिन्छ । जुन भागमा रोग लाग्ने सम्भावना हुन्छ, त्यहाँ बिस्तारै रातो, कालो र धमिलो रंगका धब्बा देखिन थाल्छन् ।

सबै रोगहरूको कारण मनमै हुन्छ । जसको मन दुःखी हुन्छ, उदास हुन्छ, निराश हुन्छ, लोभी र हिंस्रक हुन्छ, त्यसको रोगसँग लड्ने क्षमता कमजोर हुँदै जान्छ । जो प्रफुल्लित हुन्छ, आनन्दित हुन्छ, शान्त हुन्छ, त्यसलाई कम रोग लाग्छ ।

कोभिडको महामारीपछि अहिले मानिसहरुले अतिशय मानसिक, भावनात्मक र आर्थिक तनाव झेल्नु परेको छ । मानिसको आन्तरिक सन्तुलन नराम्ररी खलबलिएको छ । त्यसैले आज योगको बहिरंग अभ्यास त छदैँछ । तर, त्यसको अन्तरंग अभ्यास धारणा ध्यान र समाधिको पनि हामीले अभ्यास गर्नुपर्ने हुन्छ । मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्यभन्दा बढी नै महत्वपूर्ण छ । आज चिकित्सकहरुले पनि भन्न थालेका छन् कि मानिसको शारीरिक रोगको ८० प्रतिशत कारणहरु मानिसको अचेतन मनमा लुकेको हुन्छ । 

मानसिक रोगलाई औषधीले निको पार्नेभन्दा जीवनशैलीमा सकारात्मक परिवर्तनबाट बलियो भएको रोगप्रतिरोधक क्षमताले अझ स्वस्थ बन्न सकिन्छ । त्यसैले रोगप्रतिरोधक क्षमता बढाउनलाई जति योगासन र प्राणायामको महत्व छ, त्यसभन्दा पनि बढी महत्व ध्यान र हाँस्य योगको पनि छ ।

अचेल चिकित्सकहरुले के पनि भन्न थालेका छन् भने प्रत्येक दिन जो २० मिनेट हाँस्छ, उसलाई धेरै कम रोग लाग्छ । जस्तै हामी आसन मिलाउँछौं, प्राणायाम गर्छौं, ध्यान गर्छौं । अझ त्यसमाथि दैनिक २० मिनेट पेट मिचिमिची हाँस्यौं भने हाम्रो रोगप्रतिरोधक क्षमता मजबुत भएर आउँछ । लामो समयसम्म स्वस्थ र आनन्दित रहन सक्छौं । मानसिक रोगलाई औषधीले निको पार्नेभन्दा जीवनशैलीमा सकारात्मक परिवर्तनबाट  बलियो भएको रोगप्रतिरोधक क्षमताले अझ स्वस्थ बन्न सकिन्छ । त्यसैले रोगप्रतिरोधक क्षमता बढाउनलाई जति योगासन र प्राणायामको महत्व छ, त्यसभन्दा पनि बढी महत्व ध्यान र हाँस्य योगको पनि छ । किनभने ध्यानले हाम्रो मनले मनस् शरीरको अचेतनमा लुकेर रहेका रोगग्रस्त संवेगहरुलाई शान्त राख्न मद्दत गर्छ । र, हाँस्यले हाम्रा जीवनका सकारात्मक पक्षलाई बलियो बनाउँछ । 

त्यसैले जुन दिनदेखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन सुरु गरियो, त्यसै समयबाट ध्यान दिवस पनि मनाउन सुरुवात गर्नुपर्छ । मैले लगातार आग्रह गरिरहको छु । नेपालले बुद्ध जयन्तीको दिन राष्ट्रिय ध्यान दिवस मनाउने संकल्प गर्ने समय ढिलो हुँदै गइरहेको छ । हामी पहिला बुद्ध जयन्तीलाई राष्ट्रिय ध्यान दिवस घोषणा गरौं । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा लबी गरेर अन्तर्राष्ट्रिय ध्यान दिवस घोषण गर्ने प्रयास गरौं ।

जसरी योगलाई हामीले एक विज्ञानको रूपमा लिएर अन्तर्राष्ट्रिय रुपले मनाउन थालेका छौं, त्यस्तै ध्यान पनि हाम्रो मनलाई रूपान्तरण गर्ने एक वैज्ञानिक विधि हो । योग र ध्यानलाई कुनै धर्मसँग जोड्नु पर्दैन । स्टीम इन्जिनको निर्माणलाई जसरी हामी इशाई विज्ञान भन्दैनौं, त्यसै गरी योग र ध्यान पनि कुनै धार्मिक विषयवस्तुसँग जोडिएको कुरा होइन । यो शुद्ध रुपान्तरणको विज्ञान हो । पश्चिममा विकास भएका अन्य धेरै विज्ञानका उपलब्धिहरुलाई हामी क्रिष्चियन भनेर नकार्दैनौं । योग र ध्यानलाई पनि कुनै धर्मको लेवल दिन जरुरी छैन । यो चेतनाको रुपान्तरणको अन्तर्विज्ञान हो । पश्चिमी देशमा योग र ध्यान भन्नेबित्तिकै त्यो हिन्दू धर्मसँग जोडिन्छ भनिन्थ्यो । तर, विस्तारै यसको  वैज्ञानिकता र प्रभावकारिताको कारणले यसलाई अझ व्यापक बनाएको छ ।

त्यसैले बुद्ध पूर्णिमाको पवित्र दिन ध्यान दिवसको रुपमा उपयुक्त दिन हुन्छ । बुद्ध धर्म बाहुल्य भएका १७ देशहरुले यस दिनलाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने कुरालाई सहर्ष समर्थन गर्नेछन् । मैले पश्चिमी देशमा बौद्ध देशका केही राजदूतलाई भेट्ने मौका पाएको थिएँ । उनीहरुले यदि कुनै देशले यो प्रस्ताव ल्याउँछ भने हामी त्यसलाई सहर्ष सहप्रस्तावक बनी समर्थन गर्छौं भनेका छन् । मैले भर्खरै नयाँदिल्लीमा त्यहाँका केही सत्तासिन राजनैतिक व्यक्तिहरुलाई भेटेर विश्व ध्यान दिवसको बारेमा कुरा गरेको थिएँ । उनीहरु अति नै खुशी भए । “यदि नेपालले त्यो प्रस्ताव ल्याउँछ भने हामी त्यसलाई खुसी खुसी समर्थन र सहयोग गर्नेछौं,” भने ।

आज २५ प्रतिशत विश्वका मानिसहरुलाई कुनै न कुनै मानसिक रोग लागेको छ र त्यसको एक निरापद उपाय भनेको ध्यान हो । अनेक मानसिक समस्याहरुबाट बच्न ध्यान अति नै कारगर उपाय हो । मैले अस्ति मात्र एउटा समाचार पढेँ– विगत १५ दिनभित्र तीन नेपाली युवाहरुले जापानमा आत्महत्या गरेछन् । आर्थिक दबाव र व्यक्तिगत मानसिक, भावनात्मक सन्तुलन बिग्रिएको कारणले आत्महत्याको संख्या विश्वभरी नै बढी रहेको छ । साथै भय र तनावजन्य रोगहरु, अनिन्द्रा, डिप्रेसन, फोवियाहरु बढ्दै गइरहेका छन् । शारीरिक स्वास्थ्यको लागि मानिस दौडिन सक्छ, पौडी खेल्न सक्छ, शारीरिक व्यायाम गर्न सक्छ । तर मानसिक स्वास्थका लागि एकमात्र महत्वपूर्ण, रुपान्तरणकारी विधि हो– ध्यान । मनको महाऔषधि ध्यान हो । अन्य उपायहरुबाट केही क्षणिक मुक्ति त मिल्ला तर मानसिक समस्याका लागि ध्यानजस्तो प्रभावकारी अर्को कुनै विधि छैन । औषधिहरु छन् र समय बित्दै जाँदा त्यही डोजले पहिलाको जस्तो असर देखाउन सक्दैन र तिनको मात्रा बढाउँदै लानुपर्छ । यो समस्याको दीर्घकालिक समाधान होइन । औषधिप्रतिको लामो निर्भरता राम्रो कुरा होइन ।

भारतले अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरायो, यसले भारतको प्रतिष्ठित विश्वमै बढेर आयो । त्यस्तै नेपालले ध्यान दिवसको प्रस्ताव राख्यो भने यो प्रस्ताव तुरुन्तै सफल हुन्छ । यसले नेपालको प्रतिष्ठा बढ्छ र बुद्ध नेपालमा जन्मेको कुरा आफै प्रमाणित हुन्छ ।

म प्रत्येक व्यक्तिलाई अर्को के कुरा भन्न चाहन्छु भने तपाईंको २४ घण्टाको दिनचर्याको ५ प्रतिशत समय शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई दिनुस् । २० मिनेट भौतिक शरीर लागि आसन, २० मिनेट प्राण शरीरका लागि प्राणायाम र २० मिनेट मनका सबै विकारहरूलाई निर्जरा गर्न ध्यान ।

पञ्चकोषमध्ये हाम्रो चौथो शरीर छ– विज्ञानमय कोष या “बडी अफ अवेरनेस” । यसलाई विवेक शरीर पनि भन्न सकिन्छ । त्यसका लागि सम्बुद्ध पुरुषहरु बुद्ध, ओशो, रमण महर्षि, शिवपुरी बाबा र सद्गुरु जस्ता प्रज्ञा पुरुषहरूको साहित्य पढौं । जब भौतिक शरीर, प्राण शरीर, मनस् शरीर र विवेक शरीरमा सामञ्जस्यता रहन्छ, मानिसको चेतना स्वतः पाँचौ शरीर आनन्दमय कोषमा प्रवेश गर्छ । जहाँ मानिस सधैँ आनन्दित रहन सक्छ । सुखमय, समृद्धिमय र आनन्दमय नेपाल बनाउनु छ भने हामीले योग, प्राणायम, ध्यान र स्वाध्यायको नियमित अभ्यास गर्नुपर्छ ।

त्यस्तै, प्रत्येक महिनाको पहिलो शनिबार आध्यात्मिक दिवस मनाऊँ । जब म सानो थिएँ, काठमाडौंमा औंशी र पूर्णिमामा कतै कुनै होटल, रेस्टुराँमा मासु पाइदैन्थ्यो । तर आज के औंशी, के पूर्णिमा, के रामनवमी, के शिवरात्री, के दिन, के रात जुनसुकै बेला पनि जहाँपनि मासु खाइन्छ । हाम्रा विदाका दिनहरुमा हामी के गर्छौं ? कि त जुवातास खेल्छौ, कि त मदिरापान गर्छौं । देवस्थलमै सबैभन्दा बढी निरीह जनावरको बली दिइन्छ ।

हाम्रो छिमेकी बिहार राज्यमा जहाँ बिहानदेखि बेलुकासम्म रक्सी पिएर मानिसहरु यत्तिकै लट्ठीएर बसेका हुन्थे, आज एक दूरदर्शी व्यक्ति नितिश कुमारको संकल्पले १२ करोड जनसंख्या भएको राज्यमा कतैपनि रक्सीको कारोबार हुँदैन । पुरै बिहार आज मदिरामुक्त भएको छ । त्यसैले, हामीले पनि महिनाको प्रथम शनिबार एकदिन रक्सी, मासु, जुवातास आदि तामसिक वृत्तिबाट मुक्त भई आध्यात्मिक तीर्थस्थलको भ्रमण, आश्रम र धार्मिक स्थलहरुमा गएर ध्यान र सत्संग तथा आध्यात्मिक साहित्यको अध्ययन, चिन्तन र मननमा समर्पित गरौं ।

रेडियो, टिभी र सोसल मिडियामा पनि त्यसदिन राजनीतिक भाषणभन्दा सत्गुरुहरुको प्रवचन, चेतना जगाउने आध्यात्मिक विषय र प्रवचनहरु चर्चा गरौं । राजनेताहरु २९ दिन बोलून् तर एकदिन आध्यात्मिक परिचर्चा सुनून् । बौद्ध देशहरुमा यो परम्परा छ कि राजा हुनलाई राजकुमारले कुनै गुम्बामा गएर भिक्षु भई एक वर्षसम्म आफूलाई अनुशासनमा राखी माझ्नु पर्छ, जनताको सेवाका लागि सद्गुण विकास गर्नुपर्छ । हाम्रो संस्कृतिमा राम र कृष्णजस्ता राजकुमारहरु पनि गुरुको आश्रममा गई श्रम र साधना गर्थे । हाम्रा सरकारमा बस्ने नेता, प्रशासनिक राष्ट्रसेवकहरु, प्रहरी अधिकृतहरु पनि महिनाको पहिलो शनिबार आध्यात्मिक योग र साधनामा बिताए प्रशासनमा आध्यात्मिक सुगन्ध आउनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्वामी आनन्द अरुण
स्वामी आनन्द अरुण
लेखकबाट थप