शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

को हुन् ‘अग्निपथ’को विरोधमा उत्रिएका प्रदर्शनकारी ?

मङ्गलबार, ०७ असार २०७९, १६ : ४८
मङ्गलबार, ०७ असार २०७९

रोहित कुमार विगत चार वर्षदेखि भारतीय सेनामा भर्तीका लागि तयारी गरिरहेका छन् । बिहारको बेगुसराय जिल्लाको आनन्दपुर गाउँमा किसान परिवारमा जन्मिएका रोहित कुमारलाई जीवनमा गरिबीले कहिल्यै छाडेन । 

सेनामा भर्ती हुनको लागि शिक्षाको कसिलो मापदण्ड नभएकाले उनी सिपाही बन्ने लक्ष्यका साथ मेहनत गर्दै आएका थिए । तर अहिले केन्द्रीय सरकारले ‘अग्निपथ’ योजना अन्तर्गत चार वर्षका लागि युवा नियुक्त गर्ने निर्णय गरेपछि रोहितको सेनामा भर्ती सपना गहिरो अनिश्चिततामा धकेलिएको छ ।

‘नयाँ योजनाअनुसार चार वर्ष सेनामा काम गर्ने निश्चित त भयो । यस अवधिमा मासिक २५ हजारदेखि ३० हजार रुपैयाँ तलब पाइन्छ रे । तर चार वर्षपछि म सेनाबाट फ्याँकिन पनि सक्छु । त्यसपछि म के गरूँ ? चार वर्षपछि पकोडा बेच्नुपर्ने स्थिति आउन सक्छ ! बरु मैले कतै निजी जागिर गर्न थालेँ भने राम्रो हुन्छ,’ कुमारले द वायरसँगको कुराकानीमा भने । 

अग्निपथ योजनाअनुसार चार वर्षको अवधि पूरा भएपछि अग्निवीर (अग्निपथ योजनामा छानिएका युवाहरू)लाई स्थायी सैनिकको लागि पुन दरखास्त गर्ने अवसर दिइनेछ । तर सम्पूर्ण ‘अग्निवीर’ सङ्ख्याको २५ प्रतिशतले मात्र रोजगारी निरन्तरता पाउनेछ । हरेक अग्निवीरले पहिलो वर्षभर रु ४.७६ लाख पाउनेछन् भने चौथो वर्षमा पुग्दा यो रकम रु ६.९२ लाखमा पुग्नेछ ।

अहिले अग्निपथ योजनाविरुद्ध सेना भर्तीको तयारी गरिरहेका युवाहरू नै विरोधमा उत्रिएका छन् । उनीहरूले केन्द्र सरकारले यो योजना ल्याएको दिनदेखि नै असन्तुष्टि जाहेर गर्न थालेका हुन् ।  

योजनाविरुद्ध सबैभन्दा पहिले बिहारमा आन्दोलन सुरु भयो । यस राज्यका सेनाका आकाङ्क्षीहरूले सडक र रेल ट्र्याकहरू अवरुद्ध गरे । जेहानाबाद, नवादा, छपरा, सहरसा र मुजफ्फरपुरलगायत आधा दर्जनभन्दा बढी जिल्लामा विरोध प्रदर्शनका क्रममा उनीहरुले रेल र बसमा आगजनी गरे ।

नवादामा, भारतीय जनता पार्टी(भाजपा)की स्थानीय विधायक अरुणा देवीको गाडीमा आन्दोलनकारीले तोडफोड गरे । गाडीमा भाजपाको झण्डा देखेपछि प्रदर्शनकारी जाई लागेको अरुणादेवीले पत्रकारहरूलाई बताइन् । 

एक स्थानमा भाजपाको कार्यालयमा पनि तोडफोड भएको छ । बिहारपछि हरियाणा, उत्तर प्रदेश, मध्य प्रदेश र झारखण्डमा विरोध प्रदर्शन सुरु हुन थाल्यो ।

‘अग्निपथ’ योजना फिर्ता लिएर पुरानो भर्ना प्रक्रिया लागू गर्न माग गर्दै आन्दोलनकारी कुनै आह्वान बिना स्वतःस्फूर्त सडकमा उत्रिएका छन् । अधिकांश सेनाको रोजगारीका आकाङ्क्षी देखिएको छ । 

बिहारको छपरा जिल्लाको मखदुमगञ्जका अठार वर्षीय शैलेशकुमार राईले पनि सेनामा जागिरको लागि आवेदन दिने तयारी गरिरहेका छन् । ‘मैले सेना बाहेक अरू क्षेत्रमा जाने सोचिन । यदि सरकारले ल्याएको ‘अग्निपथ योजना’ कार्यान्वयनमा गयो भने मेरो सम्पूर्ण जीवन बर्बाद हुनेछ,’ राईले द वायरसँगको कुराकानीमा भने ।

‘जुन २० गतेदेखि हामी आन्दोलन जारी राख्छौँ र आवश्यक परे दिल्ली गएर आफ्नो माग राख्छौँ । सेनामा भर्ना भइसकेपछि स्थायित्व पाउने आशा लिएर दुई वर्षदेखि तयारी गरिरहेको छु, अहिले भनिएजस्तो चार वर्षपछि बेरोजगार भइन्छ भनेर तयारी गरेको होइन ,’ राईले भने ।

भारतमा धेरैका लागि सेनाको जागिरले ठूलो प्रतिष्ठाको विषय हो । भारतीय सेनाको भर्तीले आर्थिक सुरक्षाको प्रतिज्ञा गर्छ । सेनामा भर्ना हुन लिखित परीक्षाको अङ्कभार तुलनात्मक न्यून हुनु धेरैलाई राहतको विषय बनेको छ ।

भारतका अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि आवश्यक उच्च स्रोतको अभाव रहेका ग्रामीण क्षेत्रका युवाहरू शारीरिक र चिकित्सा परीक्षण गराएर सेनामा भर्ना हुनु सजिलो मान्छन् । । त्यसैले तिनको ध्यान शारीरिक सबलता सुदृढ बनाउनेमा बढी केन्द्रित हुन्छ । 

विहारका लगभग हरेक जसो गाउँमा, सबेर बिहान युवाहरूको समूह या त दौडिरहेको देखिन्छ या कठोर व्यायाम गरिरहेको देख्न सकिन्छ । राईका अनुसार उनी र उनका साथीहरूले सैनिक भर्तीको तयारीका लागि दैनिक कम्तीमा आठ घण्टा मेहनत गर्दै आएका छन् । 

‘हामी बिहान चार बजे उठ्छौँ र पाँच किलोमिटर दौडन्छौँ । त्यसपछि हामी शारीरिक व्यायाम गर्छौँ । त्यसपछि म घर फर्कन्छु, घरको काम गर्छु र अध्ययन गर्छु । साँझ फेरी दौड र व्यायामको उही रुटिन पछ्याउँछौँ । यति धेरै मिहिनेत गरेर पनि चार वर्ष मात्रै जागिर पायौँ भने आर्मीमा भर्ना हुनुको कुनै अर्थ छैन,’ उनले भने । 

चार वर्षदेखि तयारी गर्दै आएका छपराका चन्द्रकेत कुमारको विचार पनि शैलेससँग मिल्छ । 

‘प्रशिक्षण गर्न, तपाईं बिहान ४/५ बजे उठ्नु पर्छ । यसले गर्दा निद्रा पुग्दैन । तर वातानुकूलित कोठामा बसेर आफूलाई मन लागेको निर्णय गर्ने नेताका लागि यसले के फरक पार्छ र ? आखिर उनीहरुले सबै सुविधाहरू निःशुल्क पाइरहेका हुन्छन् ,’ चन्द्रकेत कुमारले भने ।

किसान परिवारमै हुर्किएका चन्द्रकेत पहिलेदेखि नै इज्जतिलो र आर्थिक भविष्य सुरक्षित गर्न सक्ने जागिर गर्न चाहन्थे ।

,‘ चार वर्षको रोजगारीको आश्वासनका लागि कुनै पनि युवाले देशका लागि ज्यान दिन चाहँदैनन् । चार वर्षपछि अवकाश लिनु पर्‍यो भने कोही किन सेनामा किन भर्ना हुन्छ ? के सरकारले नेताका लागि पनि यस्तै नियम ल्याउन सक्छ ? के सांसद र विधायक पनि चार वर्षका लागि मात्र निर्वाचित हुन्छन् ?’ चन्द्रकेत कुमारले प्रश्न गरे ।

कुमारलाई विवादबीच सेनामा भर्ती हुने उमेर कट्ला भनेर चिन्तित छन् । ‘सरकारले हामीलाई त बर्बाद पार्‍यो । तर भविष्यमा सेनामा भर्ना हुन तयारी गर्ने युवाको लागि भने पनि हामी आन्दोलन गर्छौँ ,’ उनले भने ।

आन्दोलनमा नियमित सेनामा जागिरका लागि तयारी गरिरहेका युवाबाहेक सेनाभर्तीका लागि दुई वर्षअघि मेडिकल टेस्ट पास गरेर बसेका युवा पनि छन् । उनीहरुले मेडिकल टेस्ट पास गरिसकेपछि कोभिड–१९ को कारण भन्दै लिखित परीक्षा पछि गर्ने भन्दै स्थगित गरिएको थियो ।

यी उम्मेदवारहरू अग्निपथ योजनाका कारणले पुनः सम्पूर्ण प्रक्रियालाई नयाँ रूपमा सुरु गर्नुपर्ने चिन्तामा छन् । ‘म दौड परीक्षाका लागि योग्य भएँ । मैले मेडिकल टेस्ट पनि पास गरेको छु । तर पछिल्लो डेढ वर्षमा आठ पटक लिखित परीक्षा स्थगित भएकाले कुरेको कुर्‍यै भएको छु । अहिले अग्निपथ योजना अन्तर्गत, दौड र मेडिकल टेस्ट पास गरिसकेकाहरूले पनि सम्पूर्ण प्रक्रिया सुरुबाट गर्नुपर्ने चर्चा सुनिन थालेको छ, ,’ रोहित कुमारले भने ।

कुमारले उत्तर प्रदेशको एउटा संस्थानमा डेढ लाख भारु तिरेर सेनाको लिखित परीक्षाको लागि तयारी कक्षासमेत गरेका थिए । ‘अब के गर्नुपर्छ भन्ने मलाई थाहा छैन ,’ रोहितले भने । 

स्रोत : https://thewire.in/labour/agnipath-protesters-army-jobs

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप