शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एन्फामा पंकजको ‘इन्ट्री’ सँगै अल्मुताइरीको प्रशिक्षक पद धरापमा !

मङ्गलबार, ०७ असार २०७९, ११ : ४६
मङ्गलबार, ०७ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नेतृत्वमा आएसँगै पंकज नेम्वाङले खेलाडीलाई न्याय दिने बताएका छन् । विजयी भएपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएसँगै राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको पद धरापमा परेको टिप्पणी हुन थालेको छ । 

पंकज नेतृत्वमा आएसँगै अल्मुताइरीको पद धरापमा पर्नसक्ने यसअघिदेखि नै टिकाटिप्पणी हुने गरेको थियो । अल्मुताइरीले यसअघि आफूलाई काम गर्ने वातावरण नदिएको भन्दै नेम्वाङलाई आरोप लगाएका थिए । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नै तत्कालीन वरिष्ठ उपाध्यक्ष नेम्वाङलाई ‘मेन्सन’ गरेर आफूलाई तीन सातादेखि काम गर्ने वातावरण नदिएको बताएका थिए । त्यसपछि समर्थकहरु पनि नेम्वाङको विपक्षमा उर्लिएका थिए । त्यसपछि उक्त विवाद एन्फाले मिलाउन नसक्दा कुरा खेलकुद मन्त्रालय हुँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा  पुगेको थियो । 

राखेपले अल्मुताइरीको गल्ती देखाउँदै उनको फेसबुक उक्त पोष्ट हटाउन निर्देशन दिएको थियो । त्यसपछि त्यो विवादको बारेमा खेलकुद मन्त्रालयले कुनै कदम चालेन । त्यसपछि समर्थकको साथ पाएपनि अल्मुताइरी बेला–बेला विवादमा आउन थाले । एएफसी एसियन कप छनोटअघि नै नेपाल छनोट हुन नसक्ने अभिव्यक्तिदेखि लिएर खेलाडीलाई होटल छोड्न लगाउने जस्ता कार्यले पनि उनी विवादमा तानिए । 

खेलाडीहरुसँगको विवाद नै उनको मुख्य चर्चाको विषय हो । प्रशिक्षणमा रहेका खेलाडीहरुले आफ्नो आधारभूत आवश्यकताको विषयमा कुरा उठाउँदा अल्मुताइरीले क्याम्प छोड्न भनेका थिए । त्यो विवाद चर्कदै गएपछि एन्फाले छानविन समिति गठन गर्यो । उक्त छानविन समितिले अल्मुताइरीलाई एसियन कप छनोटको खेलपछि जिम्मेवारीबाट हटाउन सुझाव समेत दियो । 

उक्त समयमा खेलाडीलाई न्याय दिन भनेर नयाँ अध्यक्ष नेम्वाङ लागेका थिए । अहिले निर्वाचित भएसँगै नेम्वाङले पुरानै आफ्नो नीतिलाई निरन्तरता दिँदै खेलाडीलाई न्याय दिने बताएका हुन् । अल्मुताइरी अहिले तीन महिनाको विदामा छन् । अल्मुताइरीको विदा नसकिँदै एन्फाको नयाँ नेतृत्वले उनलाई बर्खास्त गर्ने मनसाय बनाएको छ । उसो त तत्कालिन अध्यक्ष कर्मा छिरिङ शेर्पा पनि अल्मुताइरीलाई बर्खास्त गर्ने पक्षमा थिए । तर, चुनावअघि आफूलाई असर पर्ने डरले उनले उक्त कदम चाल्न सकेका थिएनन् । 

छानविन समितिको प्रतिवेदनका आधारमा निर्णय हुन्छः नेम्वाङ
नेम्वाङले छानविन समितिको प्रतिवेदनका आधारमा पहिलो निर्णय गर्ने बताएका छन् ।  ‘छानविन समितिको प्रतिवेदनलाई ध्यानमा राखेर निर्णय गर्नेछौं । खेलाडीले न्याय पाउनेछन् । बाँकी विषय पहिलो बैठकबाट आउनेछ,’ नेम्वाङले भने । 

यता वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले पनि आफूहरुले खेलाडीलाई न्याय दिने कुरा पहिलेदेखि नै उठाएको हुँदा उक्त विषय पहिलो बैठकमा नै प्राथमिकताका साथ हेरिने बताए ।  खड्का पनि नेम्वाङ प्यानलबाटै वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन् । 

प्रतिवेदनले नै अल्मुताइरीलाई हटाउन सुझाव दिसकेको छ । यस्तो अवस्थामा अल्मुताइरी तीन महिने बिदा नसकिँदै बर्खास्त हुन्छन् वा आफै राजीनामा दिनेछन् त्यसका लागि भने केही समय कुर्नुपर्ने हुन्छ । तर, अल्मुताइरीको पछिल्लो स्टेटमेन्टले उनी नफर्किने मुडमा रहेको बुझिन्छ  । उनले ‘इन्स्टाग्राम’को स्टोरीमा नफर्किने आशयको पोस्ट गरेका हुन् ।  ‘नेपाली फुटबललाई भविष्यमा सफलताको शुभकामना ! यो अनुभवका लागि नेपाली समर्थकलाई धन्यवाद । नेपाल सधैँ मेरो मुटुमा रहनेछ । तर, सबै कुरा समाप्त भयो । माया र समर्थनका लागि धन्यवाद,’ अल्मुताइरीले लेखेका छन् । 

एन्फासँग अल्मुताइरीको सम्झौता अझै दुई वर्ष बाँकी छ । उनलाई कतार फुटबलले आफूले पारिश्रमिक दिने हिसाबमा नेपाल पठाएको थियो । 

एन्फामा पंकजको बहुमत
एन्फाको २१ सदस्यीय कार्यसमितिमा नेम्वाङ प्यानलको बहुमत रहेको छ । चुनावी नतिजाअनुसार पंकजको प्यानलबाट १२ विजयी भएका छन् । यस्तै शेर्पा प्यानलबाट एक उपाध्यक्ष सहित ७ जनाले चुनाव जितेका छन् । दुई जना खुल्ला केन्द्रिय सदस्यको भने टुङ्गो लागेको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप