आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘मिटरब्याज’ले उठीबास लगाएपछि आन्दोलन

मङ्गलबार, ०७ असार २०७९, ११ : २९
मङ्गलबार, ०७ असार २०७९

गर्जो टार्नका लागि लिएको ऋण चुक्ता गर्ने क्रममा ‘मिटरब्याज’ले उठीबास लगाएपछि पश्चिम नवलपरासीका पीडितहरू काठमाडौँको माइतीघर मण्डलामा अनशन बसेर राज्यको ध्यानाकर्षण गराइरहेका छन् ।

यिनैमध्येकी एक हुन् आश्मा खातुन । आठ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा आमरण अनशनमा रहेकी उनले ६ वर्ष अगाडि एउटा सानो घर बनाउने सपनाले लिएको ८ लाख रुपैयाँ ऋणले आफूलाई उठीबास लगाएको बताइन् ।

श्रीमानले कतारमा कमाएर पठाएको १० लाख रुपैयाँ चुक्ता गरिसकेकी उनले जग्गा बेचेर थप एक लाख २३ हजार रुपैयाँ पनि बुझाइन् । ‘साहुले अझै १५ लाख रुपैयाँ बाँकी छ भन्छन्,’ उनले भनिन् । त्यो पैसा नदिए धितो राखेको जग्गा लिलाम गरिदिने धम्की दिएको उनले सुनाइन् । आफूले तिरेको पैसाको कुनै कागजपत्र पनि नदिएको उनको गुनासो छ ।

त्यसैगरी किशोरीदेवी चमारले पनि छोरालाई मलेसिया पठाउन १ लाख ५ हजार रुपैयाँ ऋण लिएकी थिइन् । उक्त रकम आफूले एक वर्षमा फिर्ता गरेको उनले बताइन् । उमेरले करिब ६० वर्षकी उनी बुढेसकालमा मिटर ब्याजले उठीबास लागेर सडकमा आउनु परेको बताउँछिन् । ‘साँवा ब्याजसहित ५ लाख बुझाइसकेँ तर अझै ५ लाख मागेको छ,’ उनी भन्छिन् । साहुले १५ कट्ठा जग्गा रोक्का गरिदिएको उनले गुनासो गरिन् ।

त्यस्तै, हृदयस कुर्मीले २०६६ सालमा विदेश जान ३ लाख रुपैयाँ ऋण लिएका थिए । उनले आफ्नो ऋणको साँवा र ब्याजसहित हालसम्म २० लाख ३८ हजार ५०० रुपैयाँ बुझाइसके । तर साहुले अझै नौ लाख रुपैयाँ बाँकी भएको बताएको उनको भनाइ छ । उनी भन्छन्, ‘जग्गाको पुर्जा कब्जामा राखिदिएपछि खेतीपाती गर्न पाएको छैन, के गरेर खाने ?’ पैसा नदिए साहुले त्यो जग्गा बेचिदिने धम्की दिएको उनले दुखेसो गरे ।

विदेश जान डेढ लाख रुपैयाँ ऋण लिएको र ६ वर्ष विदेश बस्दा कमाएको १२ लाख दिँदा पनि चुक्ता नभएको अर्का पीडित राजकुमारले बताए । भएको जमिनसमेत बेचेर पैसा तिरेको, अब तिर्न नसक्ने अवस्थामा पुगेकाले न्यायका लागि काठमाडौँमा आउनुपरेको उनको भनाइ छ ।

उनले भने ‘मलाई विदेश पठाउन बुबाले साहुसँग १ लाख ५० हजार रुपैयाँ लिनुभएको थियो । विदेशमा भएको ६ वर्षको कमाई १२ लाख तिरिसक्यौँ तर अझै चुक्ता भएको छैन भनेर साहुले भन्छ, हामीलाई न्याय चाहियो ।’

अर्का पीडित जयप्रकाश कुर्मीले छोरालाई विदेश पठाउन एक लाख रुपैयाँ ऋण लिएका थिए । तर एक लाख ऋण दिएर दुई लाखको तमसुक बनाएको उनको आरोप छ ।

यस्तै, रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भएपछि तमसुक माग्दा समेत नदिएको बताए । प्रभु कोइरीले दुई लाख ऋण लिएका थिए तर तमसुक ४ लाखको बनाएको थियो । अहिले १० लाख दिएमात्रै तमसुक फिर्ता दिने कुरा आएको उनले बताए । सुस्ता क्षेत्रका जग्गा नदी कटान क्षेत्र भएकाले बैंकले त्यसलाई धितो राख्न मान्दैन । त्यसैले बैंकबाट ऋण नपाएपछि दलालसँग ऋण लिनुपर्ने बाध्यता छ ।

नवलपरासीका दाजुभाइ जगदिश बानियाँ र सुनिल बानियाँले स्थानीयलाई यसरी मिटर ब्याजमा ऋण दिई कयौंको उठीबास लगाएको पीडितहरूको आरोप छ । २ लाख रुपैयाँ ऋण लिँदा १५ लाखसम्म असुलेको भन्दै पीडित पक्षले माइतीघरमा आन्दोलन थालेका हुन् ।

आन्दोलनमा करिब २५ जना सहभागी छन् । बानियाँ दाजुभाइले ४०० भन्दा धेरै ऋणीलाई शोषण गरेको उनीहरूको आरोप छ । बानियाँको परिवारले १५ वर्षदेखि मिटर ब्याज चलाउँदै आएको उनीहरूको आरोप छ ।

पीडित किशोरीदेवीले आफूहरू बाध्य भएर सङ्घर्षमा उत्रिनु परेको बताइन् । उनले भनिन्, ‘साहुले सडकमा ल्याएर छोडिदिएको छ, हामीसँग पैसा छैन ।’

प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले तराइ मधेसमा मिटर ब्याजको समस्याले विकराल रूप लिएको बताए । उनी भन्छन्, ‘यो एक प्रथाको रूपमा बढेको छ । यो समस्याले लामो समयदेखि जरा गाडेर बसेको छ ।’

आफ्नै पालिकाका ५ परिवार अनशनमा बसेकाले उनीहरूको अवस्था बुझ्न आफू काठमाडौँ आएको उनले बताए । ‘मिटर ब्याजले निमुखा जनता पिल्सिएका छन् । यसमा स्थानीय तह र राज्य सबै निकाय गम्भीर हुनुपर्छ,’ उनले भने ।

यस्ता मामिला स्थानीय सरकारले हेर्ने र स्थानीय तहबाट केही उपलब्धि नभएमा केन्द्रमा आउनुपर्ने भन्दै उनले स्थानीय तहमा यस्तो समस्या लिएर नआएको बताए । जिल्ला प्रशासन कार्यालयमा दुईवटा निवेदन परेको र यो विषय अदालतमा पनि पुगिसकेका कारण प्रशासनले हस्तक्षेप नगरेको उनको भनाइ छ ।

पछिल्लो समय साहुले साँवा तिर्नुस्, ब्याज मिनाहा भयो भन्ने गरे पनि पीडितहरू पहिले नै ६० प्रतिशत ब्याज लिइसकेको बताउँछन् ।

आन्दोलनमा आएका केही ज्येष्ठ नागरिकले आफूले लिएको ऋण नाति पुस्तासम्म तिर्दा नपुगेर साहुले जग्गा समेत कब्जा गरी भूमिहीन बनाएको बताए । आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले ‘मिटर ब्याज लिन पाइँदैन, जनता मार्न पाइँदैन, मिटर ब्याज लिनेहरू खबरदार, मिटर ब्याज लिनेलाई कारबाही गर,’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् । आफ्नो समस्या सम्बोधन नहुञ्जेलसम्म आन्दोलन जारी राख्ने उनीहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप