प्रादेशिक आयुर्वेद चिकित्सालयमा बिरामीभन्दा चिकित्सक धेरै
दाङको बिजौरीस्थित साविकको क्षेत्रीय आयुर्वेद अस्पताल पछिल्लो समय प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङका रुपमा स्थापित छ । नाम फेरिएसँगै अस्पताल हाताभित्र केही आवश्यक संरचना पनि निर्माणाधीन अवस्थामा छन् । पुराना संरचना पनि रङरोगन गरी चिटिक्क पारिएको छ ।
यो लुम्बिनी प्रदेशकै पुरानो र ठूलो आयुर्वेद अस्पताल हो । प्रादेशिक आयुर्वेद अस्पताल बनेसँगै अस्पतालले रुपरङ फेरे पनि सेवाको अवस्था भने निकै नाजुक छ । प्रादेशिक आयुर्वेद अस्पतालले स्वास्थ्य सेवाको अवस्था फेर्न नसक्दा अस्पतालमा बिरामी पुग्न सकेका छैनन्, जसका कारण अस्पताल सुनसान देखिन्छ । अस्पतालमा हाल ३५ जना चिकित्सक कार्यरत छन् । तर अस्पतालमा दैनिक चौध÷पन्ध्र जनामात्रै बिरामी पुग्ने गरेका छन् ।
संरचना फेरिए पनि सेवाको स्तर फेर्न नसक्दा अस्पतालमा बिरामी कममात्र आउने गरेका हुन् । अस्पतालमा उपचारका लागि पुगेका तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हर्कबहादुर पुनले भने, ‘ज्वरो आउनुका साथै आङ दुख्यो, अरु कुनै सामान्य समस्या देखिएमा यहाँ आउँछौं ।’
अस्पतालमा राम्रो उपचार सेवा र औषधिको बन्दोबस्त भए घरछेउको अस्पताल छोडेर पैसा खर्च गरीगरी बाहिर जान कसलाई रहर हुन्छ र भन्ने उनको प्रश्न छ । अस्पतालको सेवा प्रभावकारी हुन नसक्दा सामान्य औषधि उपचारका लागि घोराही–तुलसीपुर धाउनुपर्ने बाध्यता रहेको उनले सुनाए ।
प्रादेशिक अस्पताल भनिसकेपछि प्रदेशका कम्तीमा आधाजसो जिल्लाका बिरामी आउनुपर्ने भए पनि अस्पतालले सेवा फेर्न नसक्दा बिरामी आउन नसकेको उनले सुनाए ।
‘प्रादेशिक अस्पताल, छिमेकी बिरामी’
प्रादेशिक आयुर्वेद चिकित्सालय ३० बेडको अस्पताल हो । जहाँ पायल्स, फिस्टुलाका केही बिरामी भर्ना भइ उपचाररत छन् । अस्पतालमा ओपीडी र इमन्र्जेन्सी गरी दुवै सेवा छ तर बिरामी नआउँदा बेड रित्तै छन् ।
अस्पतलाको इमर्जेन्सी सेवा प्रायः बन्द हुन्छ । अस्पतालको ओपीडीमा वरिपरिका छिमेकीहरु मात्रै पुग्छन् । स्थानीय कमल परियारले भने, ‘प्रादेशिक अस्पतालमा वरिपरिका छिमेकीमात्रै जान्छन् । धुलो औषधि ल्याउँछन् ।’
आयुर्वेद अस्पतालले स्वास्थ्य सेवा विस्तार गरी प्रभावकारी सेवा दिन सके गरिब तथा विपन्नलाई ठूलो राहात हुने उनको भनाइ छ ।
सरकारले अर्बाैं लगानी गरिसकेको यो अस्पतालले सेवाग्राहीको विश्वास जित्न सकेको छैन । स्थानीय व्यवसायी रामशरण चौधरीले भने, ‘राज्यले लगानी थुप्रो ग¥यो तर त्यसको उपलब्धि देखिएको छैन । न बिरामी आउँछन्, न हामी व्यापारीले व्यापार पायौं ।’
अस्पताल हाताभित्र चारवठा ठूला संरचना छन् । जहाँ ३५ जना चिकित्सक कार्यरत छन् । स्वास्थ्य उपचारका सेवाका लागि आवश्यक उपकरण प्रशस्त छैनन् । यसअघि जस्तो अवस्थामा अस्पताल थियो, अहिले पनि उस्तै छ । फेरिएको भनेको अस्पतालको बोर्ड र भवनका भित्ताको रङमात्रै हो ।
‘अस्पतालको नाम फेरियो, रङरोगन फेरियो । अस्पतालको स्तरोन्नति अनुसारको सेवा र संरचना फेर्न सकिएको छैन,’ प्रादेशिक आयुर्वेद चिकित्सालयका निर्देशक डा. सन्तोष ठाकुरले भने, ‘अस्पतालको नाम फेरियो, सेवा फेर्न निकै सकस छ ।’
अभावै अभावका बीच अस्पताल गुज्रिरहेकाले सञ्चालित सेवाभन्दा अन्य सेवा विस्तार गर्न कठिन भइरहेको उनले सुनाए । करिव साढे दुई बिगाह क्षेत्रफलमा सञ्चालित अस्पतालमा आवश्यक पूर्वाधार निर्माणका लागि प्रशस्त ठाउँ छ । लगानी अभावका कारण अन्य संरचना विस्तार गर्न नसकिएको उनले बताए । पुरानै संरचनामा सेवा सञ्चालन गर्दै आइरहेकाले चल्दै आइरहेका सेवा बाहेक थप विस्तार गर्न नसकिएको उनको भनाइ छ ।
पायल्स, फिष्टुला उपचारका लागि अन्य जिल्लाहरुबाट पनि बिरामी आउने गरे पनि संरचना अभावका कारण पूर्ण बेड सहितको सेवा सञ्चालन गर्न अस्पताल सक्षम नभएको उनले बताए । उनले थपे, ‘पुरानो संरचनामा रङ लगाएर चिटिक्क पारिएको छ, ठाउँ त्यही हो । उपकरण तिनै हुन्, जनशक्ति त्यही हो । कसरी सेवा फेर्न सकिन्छ ? संरचना फेरिएको जस्तोमात्रै हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी