मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘अर्को अध्याय’ र ‘सिरानीको तस्बिर’ लोकार्पण

मङ्गलबार, ०७ असार २०७९, १० : ०८
मङ्गलबार, ०७ असार २०७९

साहित्यकार निरू न्यौपानेका ‘अर्को अध्याय’ र ‘सिरानीको तस्बिर’ लोकार्पण गरिएको छ । काठमाडौँस्थित लेखनकुञ्ज, थापागाउँमा सोमबार आयोजना गरिएको कार्यक्रममा प्राडा. सावित्री कक्षपति, साहित्यकार रेणुका सोलु, वरिष्ठ गजलकार ललितजन रावल, समालोचक ज्ञानु अधिकारी, गीतकार रमेश पौडेल, कविता प्रोल्लास सिन्धुलीय, सङ्गीतकार राज सिग्देललगायतले उक्त दुई कृति संयुक्त रूपमा लोकार्पाण गरेका हुन् । निरूको ‘अर्को अध्याय’ उपन्यास हो भने ‘सिरानीको तस्बिर’ गजल सङ्ग्रह हो । 

कार्यक्रमा बोल्दै कवि तथा गीतकार रमेश पौडेलले निरू न्यौपाने एउटा राम्रो कलमका रूपमा चिनेको बताए । उनले भने– “उपन्यासमा नेपालभित्रदेखि विदेशिएसम्मको अनुभव छ । लेखक आफैँ पनि विभिन्न देश पुगेर सङ्घर्ष गरेका कारण गहकिलो र पठनयोग्य किताब नेपाली पाठकले पाएका छौँ ।” 

समालोचक ज्ञानु अधिकारीले उपन्यास पारिवारिक अवस्था र मानव संवेदनाले भरिएको बताइन् । उनले भनिन्– “माया, विश्वास, सम्बन्ध यस उपन्यासमा केन्द्रीय कथावस्तु बनेर आएको छ । पढ्न बसेपछि उठ्न मन लाग्दैन ।” यस उपन्यासले महिला संवेदनालाई मिहिन ढङ्गले प्रस्तुत गरिएको र सबै पुरुष गलत नदेखाउनु लेखकको सबल पक्ष भएको उनले बताइन् । 

कार्यक्रममा बोल्दै समीक्षक रेणुका सोलुले नेपाली महिलाको यथार्थ भोगाइलाई उपन्यासमा उतार्न लेखक सफल भएको बताइन् । “अर्को अध्याय नेपाली महिलाले दुलही भएर भित्रिएबाट सुरु भएको विभेददेखिको कथा हो । यस विभेदलाई परिवर्तन गर्न परिवारको सकारात्मक भूमिकाले मात्र सम्भव छ,” उनले भनिन्, “यौन मात्रै ठूलो कुरा होइन, पितृसत्तामाथि उठाइएका प्रश्नको समाधान पनि परिवारभित्रैबाट खोज्नुपर्छ ।” 

यसैगरी ‘सिरानीको तस्बिर’ गजल सङ्ग्रह धेरै राम्रो गजल भएको वरिष्ठ गजलकार ललिजन रावलले बताए । उनले गजलमा विषयगत विविधता छ । एउटा गजलकारका लागि यो राम्रो कुरा भएको र पाठकले गजलमा नौलोपन पनि भेट्ने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप