शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मौका परीक्षाको माग गर्दै एमबीबीएस र बीडीएसमा ब्यारियरमा परेका विद्यार्थी अनसनमा

डिन कार्यालय भन्छ, ‘परीक्षा लिन सकिँदैन’
मङ्गलबार, ०७ असार २०७९, ०९ : ४४
मङ्गलबार, ०७ असार २०७९

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल डिनको कार्यालय अगाडि एमबीबीएस र बीडीएस दोस्रो वर्षको ब्यारियरमा परेका विद्यार्थी परीक्षामा सहभागी गराउनुपर्ने भन्दै १३ दिनदेखि रिले अनसनमा बसेका छन् । 

तत्काल परीक्षा व्यवस्था गरिदिनुपर्ने, यदि परीक्षा नलिएको खण्डमा दुई वर्षमात्र पढाएर पाँच वर्षसम्मको ५५ देखि ६० लाख रुपैयाँसम्म असुलेको अतिरिक्त शुल्क रकम तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ । अनसनमा बसेका विद्यार्थी राजीव दासले २०० जनाभन्दा बढी विद्यार्थी ब्यारियरमा परेका भन्दै त्रिविलाई तिरेको करिब अर्बभन्दा बढी रकम असुल उपर गर्नुपर्ने आफूहरूको माग रहेको बताए ।

अनसनरत विद्यार्थीको माग

१. ब्यारियरमा परेका एमबीबीएस र बीडीएस शैक्षिक कार्यक्रमका विद्यार्थीहरूको लागि तत्काल मौका परीक्षाको व्यवस्था गर्नुपर्ने ।

२. पुनः परीक्षा र मौका परीक्षा गराउने सम्बन्धमा स्वतन्त्र विद्यार्थी युनियन र चि.शा.अ.स. महाराजगञ्जबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने

३.नेपालका अरू मेडिकल युनिभर्सिटी अनुरूपको परीक्षाको ढाँचा कायम गर्नुपर्ने ।

४.मौका परीक्षा सञ्चालन गर्न नसकेको खण्डमा पीडित विद्यार्थीहरूबाट असुलेको अतिरिक्त रकम फिर्ता गर्नुपर्ने ।

इन्सिटच्युट अफ मेडिसिन (आइओएम) ले  एमबीबीएस  आधारभूत चरण अर्थात् एमबीबीएस बेसिक फेज (प्रथम वर्ष दोस्रो वर्ष) का विद्यार्थीलाई लिमिटेड एटेम्प्ट प्रदान गरेको छ । तर एमबीबीएस क्लिनिकल फेज अर्थात्  तेस्रो वर्ष, चौथो वर्ष र पाँचौँ वर्षका विद्यार्थीलाई अनलिमिटेड एटेम्प्ट  अर्थात् जतिपटक मन लाग्यो त्यही पटक  परीक्षा दिन पाउने उल्लेख गरिएको छ ।

दोस्रो वर्षका लागि विद्यार्थीलाई काठमाडौँ युनिभर्सिटीले ६ पटकसम्म परीक्षामा सामेल गराउँदा त्रिभुवन विश्वविद्यालयले ४ पटकसम्म सहभागी गराएर विभेद गरेको अनसनरत विद्यार्थीको भनाइ छ ।

सन् २०१६ मा एमबीबीएस र बीडीएस दोस्रो वर्षका विद्यार्थीले मौका परीक्षा दिन पाएकाले आफूहरूलाई पनि मौका परीक्षाको व्यवस्था मिलाइदिनुपर्ने विद्यार्थी दास बताउँछन् । एमबीबीएस बीडीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्णलाई अवरोधमा राख्नु उचित नभएको विद्यार्थीका दासको तर्क छ ।

‘आइओएमले सञ्चालन गरेको इन्ट्रान्स परीक्षामा ५० प्रतिशतभन्दा माथि नम्बर ल्याइ पास भई मेरिटबाट आएका विद्यार्थीलाई एमबीबीएस र बीडीएस अध्ययन गर्न सक्छ भनेर भर्ना भएकाहरुलाई अहिले परीक्षा दिन अवरोध गरियो । एमबीबीएस र बीडीएसको पहिलो वर्षमा ६ पटकसम्म परीक्षा दिन मिल्ने, दोस्रो वर्षमा चार पटकसम्म मात्रै किन, तेस्रो/चौथो वर्षमा जतिपटक परीक्षा दिएपनि हुने किन ?’ उनले भने, ‘आफै पूर्ण छात्रवृत्तिमा अध्ययन गरिरहेको छु, ब्यारियरमा पर्दैमा कसरी अयोग्य भए ।’

इन्ट्रान्स लिने बेलामा एकरूपता अन्तिममा मेडिकल काउन्सिलबाट लिइने परीक्षामा पनि एकरूपता गर्ने एमबीबीएस, बीडीएस दोस्रो वर्षको परीक्षा एकरूपता गराउन सम्बन्धित निकाय मौन बस्नु उचित नभएको उनको तर्क छ ।

उनी भन्छन्, ‘त्रिविले तिमीहरू ब्यारियरमा परेका हौँ, चिकित्सक बन्नलाई असक्षम छौँ भन्नु कतै पनि तुक छैन । अन्तिममा नेपाल मेडिकल काउन्सिलको परीक्षाले सक्षम असक्षम छुट्याउने भएकाले मौका परीक्षाको व्यवस्था सम्बन्धित गरिदिनुपर्छ ।’

यस्तै, एमबीबीएस र बीडीएसको परीक्षारत ढाँचा फरक हुनुका साथै परीक्षाको बीचमा दिइने बिदा अवैज्ञानिक भएको विद्यार्थीहरूको आरोप छ ।

उता डिन कार्यालयले मौका परीक्षा गराउन नपाउने भनी सूचना प्रकाशन गरेको छ । त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) का डिन डाक्टर दिव्या सिंह शाहले चार पटकसम्म परीक्षा दिँदा पास नभएको खण्डमा नियमित आउट हुने व्यवस्था रहेको बताइन् ।

एमबीबीएस, बीडीएसमा दोस्रो वर्ष मेडिसिनमा पहिलो र दोस्रो वर्षमा ब्यारियरको व्यवस्था गरिएको छ । डा. सिंहका अनुसार पहिलो र दोस्रो वर्षमा राम्रो गर्न नसकेको खण्डमा ब्यारियर लगाइएको हुन्छ । चार–पाँच वर्ष पढेर र्कोषबाट आउट हुनभन्दा पहिला नै ब्यारियर लगाइएको हुन्छ ।

सिधै मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयमा मात्रै ब्यारियर राखिएको उनले बताइन् । अन्य विषयमा सुरुमै ब्यारियर नराखिएको उनी बताउँछिन् ।

स्थापना कालदेखि नै ब्यारियर सिस्टम लागू भएकाले यो परीक्षा लिन नसकिने उनले बताइन् । पहिलो वर्ष विषय पास गर्न ६ पटकसम्म परीक्षा दिने व्यवस्था गरिएको छ भने दोस्रो वर्ष चार पटकसम्म परीक्षा दिँदा पनि उत्तीर्ण भएन भने सिस्टमबाट आउट हुने उनले बताइन् ।

‘ब्यारियरमा पर्ने विद्यार्थीलाई गाह्रो भएको होला, तीनचार वर्षसम्म यसमै समय बिताउँदा समस्या पर्न सक्छ । मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले हामी नियमभन्दा बाहिर निस्कन सकिँदैन ।’ उनी भन्छिन्, ‘दोस्रो वर्षमा ब्यारियर नलगाउने भनेर बहस हुनुपर्‍यो । ब्यारियर सिस्टम लागू ठिक होइन भन्न अहिले मिल्दैन । कम्तीमा ३५ वर्षदेखि यो सिस्टम लागू हुँदै आएको छ । मैले यस सिस्टमलाई हटाउन सक्दिन । मैले व्यक्तिगत हेर्दा विद्यार्थीलाई मर्का प¥यो भनेर भन्न सक्छु तर रुल एन्ड रेगुलेसनविरुद्ध गएर म अगाडि बढ्न सक्दिनँ । नियमको रक्षा गर्ने मेरो काम हो ।’

डा. सिंहका अनुसार विद्यार्थीलाई मर्का पर्दो रहेछ भने हामीले बहस गरेर नियमलाई परिमार्जन गर्न तर्फ लाग्नुपर्छ । ब्यारियरको विषयमा नियम परिमार्जन भएपछि लागू गर्न कत्ति पनि पछि नहट्ने उनको भनाइ छ ।

इतिहासमा एक पटक कसैले मौका परीक्षाको व्यवस्था मिलाएर गल्ती गर्‍यो भन्दैमा आफूले सो गल्ती दोहोर्‍याउन नसक्ने उनको भनाइ छ । ‘एक पटक कसैले गल्ती ग¥यो भन्दै पुनः गल्ती गर्ने कि हामी सही कुरालाई लागू गर्ने ? उनी भन्छिन्, संस्थाहरू डुब्नुका कारण भएका नियम कानुनलाई कार्यान्वयन गर्न नसक्नु हो ।’

यस्तै, त्रिवि शिक्षण अस्पतालका एक उच्च अधिकारीले नियम अनुसार विद्यार्थीले इन्सटलमेन्टमा बुझाउनुपर्ने बताउँछन् । पहिला पहिलो वर्षको रकम बुझाउने हो । त्यसपछि  दोस्रो र तेस्रो वर्षको रकम बुझाउनु पर्ने नियम छ ।

‘पहिलापहिला जसले एकै पटक बढी पैसा दिन्छ उनीहरुले चाँडै मेरिटमा भर्ना पाउने अवस्था सृजना गरिएको थियो,’ त्रिवि शिक्षण अस्पतालका एक उच्च अधिकारीले भने, ‘त्यसका विरुद्धको लडाइको रूप चिकित्सा शिक्षा आयोग आएका हो ।’

उनका अनुसार विद्यार्थी इन्ट्रान्स दिएर मेरिटमा आउँछन् तर ती विद्यार्थीलाई भर्ना नगरेर जसले बढी पैसा दिन्छ उनीहरूलाई भर्ना गर्ने विगत परिपाटी थियो ।

किन एमबीबीएस, बीडीएस दोस्रो वर्षका ब्यारियर परेका विद्यार्थीले वर्ष–वर्षमा दिनुपर्ने रकम तथा अतिरिक्त शुल्क दिए भन्ने प्रश्न चिन्ह खडा भएको उनी बताउँछन् । तोकिएको समय भन्दा अगाडि किन ब्यारियरमा परेका विद्यार्थीले अतिरिक्त शुल्क दिएर भर्ना भए, किन सम्बन्धित निकायले रकम लियो भने कुरामा दुवैतर्फ ‍औँला उठाउन मिल्ने उनी बताउँछन् ।  

एमबीबीएस र बीडीएस ब्यारियरसम्बन्धी नियम २०७९ सालमा अनुमोदन भएको हो । यस नियममा २०७९ सालकै ब्याचबाट ब्यारियर सम्बन्धी नियम लागू हुने उल्लेख गरिएको छ । तर, अनसनरत विद्यार्थीहरूले आईओएमले जबरजस्ती २०७९ अगाडिको ब्याचलाई सो नियम लागू गरेका आरोप लगाउँछन् । २०५० देखि २०७८ सम्म आइओएम विद्या परिषद्ले एमबीबीएस प्रथम वर्षलाई जति पटक पनि परीक्षामा सहभागी हुन पाइने र दोस्रो वर्षलाई भने चार पटकसम्म मात्रै परीक्षामा सहभागी हुन पाउने उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप