ad
x

बालेन र विकास:  'बियर खाउँ, पानी जोगाउँ !'

person explore access_timeअसार ७, २०७९ chat_bubble_outline1

ठमेलको एउटा रेष्टुराँमा प्रचार सामाग्री टाँसिएको रहेछ- बीयर खाऊँ,पानी जोगाउँ।  तथानामका विकास एवं विभिन्न खाले संरक्षण अभियान यथा-पर्यावरण, पृथ्वी, जल, भूमि, माटो आदिको लागि भइरहेका पश्चिमा निर्दिष्ट  एनजीओ, आईएनजीओ मोडेलको यथार्थ चित्रण गर्छ उक्त रेष्टुराँको प्रचार पट्टिका।


  रेष्टुराँमा छत्र कार्की र डाक्टर सरोज ज्ञवालीसँगको भेटघाटमा विविध विषयमा 'निठल्ला चिन्तन' चर्चा चलिरहेको थियो । छत्रले भन्नुभयो, 'काठमाडौँका नयाँ मेयर बालेन्द्रले  सार्वजनिक शौचालयका लागि होटल, रेष्टुराँमा, सपिङ्ग मल, बैंक आदिका शौचालय प्रयोगमा ल्याउने 'आइडिया' गज्जबको लाग्यो मलाई, केही खर्च नगरी नै समस्या समाधान हुने भयो।'




मैले सोधे, 'के तपाईंलाई यी स्थानका शौचालय प्रयोग गर्न नयाँ मेयरको नयाँ अभियान आउनुभन्दा पहिला कुनै समस्या थियो ?' उनको जवाफ आउनुअघि मैले नै भनेँ, 'मैले सार्वजनिक शौचालयको अन्तिम पटक प्रयोग ०५४ -०५५ सालतिर मित्रपार्कको ओरालोमा रहेको सुविधा केन्द्रमा गरेको थिए। विकासको क्रममा त्यो सुविधा केन्द्र विलुप्त भयो।  त्यस यता मैले सार्वजनिक शौचालय प्रयोग गर्नु परेको छैन।'


मैले यथार्थता औंल्याएँ, 'शहरमा सार्वजनिक शौचालय त्यस्ता व्यक्तित्वलाई चाहिएको हुन्छ, जसको सामाजिक र आर्थिक हैसियत रेष्टुराँ, होटल, सपिङ मलमा पसेर त्यहाँका शौचालय प्रयोग गर्ने हुन्न। मेयरको यो काम लोकप्रिय हुने 'फन्डा' मात्रै हो। के नेबिल बैंकमा शहरको ठेलागाडी चालक मूत्र विसर्जन हेतु प्रवेश गर्ने साहस गर्न सक्छ ? तीन महिनामै यस अभियानले हावा खान्छ।'


'उपाय के त ? शहरमा सार्वजनिक शौचालय बनाउने ठाउँ नै छैन, केही न केही विकल्प त खोज्नै पर्यो नि !' डा. सरोजले भन्नुभयो।


'थप विकल्प खोज्नुभन्दा पहिला मलाई एउटा कुरा भनी दिनुस्', मैले नै भनेँ, 'शहरका केही स्थानमा अहिले पनि सार्वजनिक शौचालय छन्, के तपाईं त्यहाँ पसेर 'प्रेसर रिलिज' गर्नसक्नु हुन्छ ? ती सबै यति फोहोर र दुर्गन्धित छन्, यसबारे कल्पना पनि गर्न सकिदैन। के मेयरको प्राथमिकता तिनको स्तर वृद्धि गर्नु पर्ने होइन र ? बालेनले त मेयरमा विजय घोषणा हुनासाथ महानगरको शिक्षा र स्वास्थ्यमा पर्याप्त प्रयास गर्ने हुंकार दिनु भयो।  मलाई मेयरसँग अथवा महानगर पालिकासँग स्वास्थ्य र शिक्षाभन्दा पहिला शहरको सरसफाई चाहिएको छ।'


'तर महानगरपालिकाले शिक्षा र स्वास्थ्यमा पहल गरे नराम्रो हुन्छ त ?' डा. सरोजले सोध्नु भयो l 'विल्कुलै केही पनि नराम्रो हुन्न। तर एउटा कुरा स्मरण गर्नुस्, मेयरमा निर्वाचित भएको औपचारिक घोषणा हुनुभन्दा एक दिन पहिला ( उनको जीत निश्चित भइसकेको थियो ) महानगरमा भएको वृष्टिले पुतलीसडक लगायतका स्थानका सडक बाढी आएको खोला सरह बनेको थियो, तर निर्वाचित भएको हुनै लागेका मेयर भने शिक्षा र स्वास्थ्यमा प्राथमिकताको कुरा गर्दै थिए। यो संवेदनहीनताको पराकाष्ठा होइन ? मेयरको प्राथमिकता ढल निकासमा केन्द्रित हुनु, फोहोर व्यवस्थापनमा लक्षित हुनुपर्ने होइन र ?'


छत्रले भन्नुभयो, 'त्यसको पनि थाल्नी भइसकेको छ, अब काठमाडौँबासीले कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्नु पर्ने सुझाव दिएका छन् नयाँ मेयरले।  मिसिएको फोहोर महानगरले लिँदैन।'


यो पनि सार्वजनिक शौचालयका निम्ति गरिएको नाटकजस्तै हो, यसको पनि आयु लामो हुँदैन। सातामा १ अथवा २ पटक फोहोर संकलन गर्न आउँछ नगरपालिका।  कुहिने र नकुहिने फोहोर मिसिने छुट्याउँदा पनि कुहिने फोहोरलाई पोलिथिन ब्यागमा प्याक गर्नुपर्ने बाध्यता रहेको छ। कुहिने फोहोरमा केही घण्टामै अपघटन प्रक्रिया प्रारम्भ हुन्छ। घरबाट निस्कने कुहिने फोहोरलाई पोलिथिन ब्यागमा प्याक नगरे एक सातासम्म घर नै दुर्गन्धित हुन्छ। भन्नुस् अब बिना पूर्वतयारीको यो उर्दी कसरी कार्यन्वयन हुन्छ ?'

'होइन तपाईं किन नकारात्मक सोच्नु हुन्छ ?' जेमा पनि समस्या र विरोध देखाउनु हुन्छ, तपाईंसँग समाधान छ कुनै ?' छत्रले सोध्नु भयो ?


' भन्नुस् तपाईंलाई कुन र कस्तो समाधान चाहिएको छ ?'

'घरबाट निस्कने फोहोर कै कुरा...।'

'घरबाट कुहिने फोहोर निस्किन नदिने नै उपाय गर्न सकिन्छ।'

'कसरी ?'

'एकदम सरल उपाए छ, जहाँका र जुनसुकै नगरपालिका, महानगरपालिकाले आफ्ना नागरिकलाई कौसी खेती र गार्डेनिङका लागि प्रोत्साहित गर्नसक्छ । पहिला अनुरोध गर्ने र क्रमशः नियम नै बनाउन सकिन्छ- प्रत्येक घरमा कम्तीमा दस वटा गमलामा केही न केही रोपेकै हुनुपर्छ। कुहिने फोहोरबाट घरमै फूल, बिरुवा, साग पातलाई चाहिने जैविक मल बनाउन सिकाउन सकिन्छ । कौसीमा फूल बिरुवा, साग पात रोप्नुलाई 'सोशल स्टाटस' बनाउन सकिन्छ । विभिन्न फल फूल र तरकारीका बोट बेर्ना वडा वडा मार्फत निशुल्क वितरण गर्ने व्यवस्था मिलाउन सकिन्छ।  अहिले नै १० -१५ प्रतिशत घरका कौसीमा सिजनल फूल तरकारीले शोभा बढाएकै छन्, नगरपालिकाको प्रेरणा, प्रयास र प्रोत्साहनले यसलाई ८०-९० प्रतिशत घरमा पुर्याउन सकिन्छ। नरोप्नेलाई पर्यावरण जरिवाना गर्ने कानुन बनाउन सकिन्छ।'

'अनि नकुहिने फोहोरको व्यवस्थापन कसरी नि ?'

'नगरपालिकाहरुले चाहने हो भने 'इट्स अगेन सो सिंपल'।  महानगरबाट निस्कने फोहोर 'मेट्रोपोलियन सोलिड वेस्ट' बालेर विद्युत उत्पादन गर्न सकिन्छ ।  झन्डै एक अर्ब लगानीमै तयार हुन्छ त्यस्तो प्रोजेक्ट । ३०० टन फोहोरबाट झन्डै दैनिक ५ मेगावाट विद्युत उत्पादन हुन्छ।  टाढा जानू पर्दैन, लखनऊ पुगेर नै यस प्रोजेक्टबारे जानकारी लिन सकिन्छ। अहिले अनेकन कम्पनीले यस्तो प्रोजेक्ट बेच्ने गरेका छन् । गूगलमा 'टप टेन एमएसडब्ल्यू' कम्पनी टाइप गरेर सबै जानकारी किन सकिन्छ। हेर्नुस्,  बंचरे डाँडा होस्  कि सिसडोल अथवा अन्य कुनै डम्पिङ साइट, जहाँ कही फोहोर फाल्नु पृथ्वी र 'कास्मिक' पर्यावरणप्रति घात गर्नु हो।'

'ल, अब सार्वजनिक शौचालय समस्या समाधान को उपायबारे भन्नुस्,' छत्र उत्सुक नै हुनुहुन्छ गफमा l

'यो त झन पहिलो चरणमै शत प्रतिशत समाधान हुने समस्या हो।  पर्यावरण प्रदूषणका कारण बीस वर्षे सवारी साधन हटाउने कुरा भएको छ, लागू हुन सकिरहेको छैन।  महानगरपालिकाले काठमाडौँ उपत्यकामा चल्ने पुराना ठुला र मिनी बस सस्तो मुल्यमा किनेर घुम्ती शौचालय बनाउन सक्छ। एउटै उपायले दुइ वटा समस्याको निराकरण हुन्छ। हेर्नुस् चाहे मेयर हुन् अथवा देशको केन्द्रीय नेतागण, यी सबैले 'बियर खाउँ, पानी जोगाउँ' जस्तो एनजीओवाला विकासे समाधानबाट सजग हुनुपर्छ।  यस्ता अभियन्ताहरुले के कुरा बुझेर पनि बुझ पचाउँछन् भने एक लिटर बियर बनाउन कति  लिटर पानी प्रयोग भएको हुन्छ ? मांसाहारलाई भोजनको विकल्प भन्नेले पनि के भुल्छन् भने एक किलो मासु उत्पादन गर्न कति  किलो अनाज र कति लिटर पानी व्यय भएको हुन्छ ?'

'काठमाडौँका शहरका अन्य समस्याबारे के गर्न सकिन्छ ?'

'काठमाडौँ र वरिपरिका क्षेत्रको अर्को ठूलो समस्या ट्राफिक जाम हो, जसबाट सबै नागरिक पीडित छन। नयाँ मेयरले आफ्नो कार्यकालमा काठमाडौँका विभिन्न ठाउँमा कम्तीमा ४०-५० ठाउँमा फ्लाइओभर बनाउन पहल वा सहकारी गर्नु पर्छ। सार्वजनिक यातायातको दुरावस्थाले गर्दा शहरवासीले दुइ पांग्रे र चार पांग्रे निजी सवारी साधन प्रयोग गर्नुपर्ने बाध्यता छ। महानगरपालिका स्वयंले ५००-६०० वटा विद्युतीय बस किनेर विभिन्न रूटमा परिचालित किन नगर्ने ? टाटा मोटर्स, महिंद्रा एंड महिंद्रा जस्ता कम्पनिसँग संपर्क गर्ने हो भने १० वर्षे किस्तामा तिर्ने गरी तीन महिनामै ५००-६०० वटा बस ल्याएर राजधानी र वरिपरिका क्षेत्रको सार्वजनिक यातायातलाई सहज बनाउन सकिन्छ। मेट्रो, मोनो रेलको सपना देखाउन सट्टा राजधानीवासीलाई सुविधा जनक बस यातायातकै सुविधा उपलब्ध गराउनु बुद्धिमानी कदम हुन्छ। सार्वजनिक यातायात चुस्त दुरुस्त र सुविधाजनक हुने हो भने नागरिकले निजी साना गाडीको सट्टा सार्वजनिक साधन प्रयोग गर्छन् र त्यसले ट्राफिक समस्या समेत धेरै हदसम्म स्वत समाधान हुन्छ।'

'यस्तै, राजधानीका १०-१५ स्थानमा आधुनिक किसिमका सवारी साधन पार्किङ स्थल बनाउन सहजीकरण गरी दिने हो भने उद्यमीहरुले लगानी गर्छन् र ८/१० तल्ले पार्किङ स्थल बनाउँछन्। सडक किनारमा पार्किङ निषेध हुनसाथ राम्रै प्रतिशतको जाम हुने समस्या अन्त्य हुन्न र ?'


'तपाईं मेयर भएको भए प्राथमिकताका साथ कुन कुन काम गर्नु हुन्थ्यो ?'

'मेयर त परै जाओस्, वडा अध्यक्ष, वडा सदस्य पनि छाड्नुस्, पत्रकारिता क्षेत्रकै कुनै पदमा चुनाव लड्ने हो भने पनि मैले ५-७ भोट पाउँदिन।'

'निठल्ला चिन्तक'का नाताले नयाँ मेयरलाई सुझाव दिनुस् न त उसो भए।'

'ल, टिप्नुस केहि ट्रिप्स:

-शहरको ड्रेनेज सिस्टम तत्काल सफा गर्नुस्। नदी नालामा खस्ने ड्रेनेजलाई नदी किनारमा ठुला पाइप जडान गर्न लाएर दक्षिणकालीदेखि पर निर्मलीकरण गरेर बागमतीलाई अर्पित गर्ने व्यवस्था गर्नुस्।

-शहरका रोड खाल्डा मुक्त, धूलो मुक्त गर्नुस्।  शहरभित्र जुनसुकै वर्गले गर्ने निर्माण कार्यमा फोहोर मैला धूलो आदि सामाग्री छरिएर जान निषेध गर्नुस्।'

'यस्ता सटिक 'आइडिया'हरु रहेछन्, मेयरलाई भेटेर सुझाव दिनुस् न।' डा सरोजले हल्का व्यंग्यसहित भन्नुभयो l

मैले पनि दिइ हालेँ, 'सित्तैमा सुझाव बाड्ने काम किन गरौँ म ? मेयरको आफ्नै टीम होला, उनलाई सघाउने जिताउने मित्रपंक्ति होला। यो काम उनीहरुको हो।  म त एउटा लेखक न हुँ ।  लेख्ने काम पनि, लेखको मानदेय पाए मात्र गर्छु, सित्तैमा गर्दिन। म बूढाबूढीलाई वृद्धभत्ता दिने बाहेक सबै खाले मुफ्तखोरीको विरोधी हुँ । हो, मेयरलाई एउटा सुझाव छ, उनले राजनीतिक दल र तिनका सूंड मुसुण्ड झै पपुलर हुने काम नगरुन् । जुनसुकै क्षेत्रको जुनसुकै काम गरे पनि समस्याको जरा पहिचान गरी दीर्घकालीन प्रभाव हुने काम गरुन् ।'

'तपाईं समग्रमा 'काठमाडौँका नयाँ मेयरप्रति कतिको आशावादी हुनुहुन्छ ?'

'काठमाडौँका नयाँ मेयर बालेन्द्र र महानगरपालिकाको के कुरा ? म देश र सिस्टमप्रति नै लेशमात्र  पनि आशावादी छैन। यसरी नै गइराखे नेपालकै स्वास्थ्यमा ठूलो प्रतिकूल असर पर्नेवाला छ ।  ४-५ वर्षमै ऊँट थला पर्छ। देशको राजनीति र कर्मचारीतंत्र नै भ्रष्ट न भ्रष्ट भएपछि एउटा व्यक्ति, एउटा मेयर, एउटा बालेन्द्रबाट के आशा  गर्नु ? 'वेट एन्ड वाच, सुन ही  विल बी पार्ट अफ अवर ग्लोरियस सिस्टम' ! देशको  केन्द्रीय नीति-नेतृत्व नै 'बियर खाउँ, पानी जोगाउँ' खाले विचार अभिप्रेरित भएको अवस्थामा देश जति दिन टिक्छ त्यो नै ठुलो कुरा हुनेछ।'

कमेन्ट

  1. June 21, 2022, 10:24 a.m. KIRAN
    कती पुर्वाग्रही हो?
  2.  0 Reply

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।