शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

नियन्त्रणबाहिर बजार महँगी : एक वर्षमा उपभोग्य वस्तुको मूल्य ४२ प्रतिशतले वृद्धि !

सोमबार, ०६ असार २०७९, १७ : ४१
सोमबार, ०६ असार २०७९

पछिल्लो समय बजार महँगी सहिनसक्नु गरेर बढेको छ । अन्तर्राष्ट्रिय बजारको प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि भएसँगै अन्य दैनिक उपभोग्य वस्तु खाद्यान्न, दाल, चामल, तेल लगायत अत्यावश्यक वस्तुको बजार मूल्यसमेत आकासिन पुगेको हो । यसले आम सर्वसाधारणको दैनिकी पछिल्लो समय निकै कष्टकर बन्न पुगेको छ । 

मुख्यतः बजार मूल्यवृद्धिको प्रमुख कारक तत्त्व मानिएको पेट्रोलियम पदार्थको मूल्य गएको एक वर्षमा अधिकतम ४२ प्रतिशतसम्मले वृद्धि भएको छ । नेपाल आयाल निगम (एनओसी) ले पछिल्लो पटक (२०७९ असार ५ गते, आइतबार) तोकेको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ, डिजेल र मट्टितेलको समान प्रतिलिटर १९२ रुपैयाँ रहेको छ । जबकि अघिल्लो वर्ष २०७८ असार महिनाको ९ गतेभित्र पेट्रोल, डिजेल र मट्टितेलको बजार मूल्य प्रतिलिटर क्रमशः १२७ रुपैयाँ, ११०÷११० रुपैयाँ रहेको थियो । समीक्षा अवधिको एक वर्षमा नै पेट्रोलियम पदार्थको मूल्य अधिकतम ४२ प्रतिशतले बढेको छ । 

यस्तै खाना पकाउने एलपी ग्यासतर्फ हेर्ने हो भने यस्तो मूल्यवृद्धि एक वर्षमा २२.२२ प्रतिशतसम्मले बढेको छ । अघिल्लो वर्षको असार ९ गतेभित्र प्रतिसिलिण्डर एक हजार ४०० रुपैयाँ रहेको ग्यासको मूल्य यस वर्षको असार ६ गतेसम्म ४०० रुपैयाँले बढेर एक हजार ८०० रुपैयाँ पुगेको छ । यसले थप आम सर्वसाधारण उपभोक्ताको भान्सा महंगो हुन पुगेको छ ।

खाने तेलमा ३३ प्रतिशतको मूल्यवृद्धि 

यस्तै तथ्याङ्कले खाने तेलको मूल्य एक वर्षमा नै प्रतिलिटर ३३.३३ प्रतिशतले बढेको देखाउँछ । स्वदेशी उत्पादन भनिएका भटमास, सनफ्लावर र तोरीको तेलमा नै गएको एक वर्षमा ११० रुपैयाँमाथिले मूल्य बढेको छ । 

अघिल्लो वर्ष २०७८ असार महिनामा प्रतिलिटर २४० रुपैयाँदेखि ३५० रुपैयाँसम्म रहेको तोरीको तेल यस वर्षको सोही अवधिमा ३८० रुपैयाँदेखि ४१० रुपैयाँ पुगिसकेको छ । यस्तै, अघिल्लो वर्ष प्रतिलिटर २२० रुपैयाँ रहेको भटमासको तेल अहिले ३३० रुपैयाँ पुगेको छ भने, प्रतिलिटर २४० रुपैयाँ रहेको सनफ्लावर तेलको खुद्रा मूल्य अहिले बजारमा ३५० रुपैयाँ पुगिसकेको छ । 

यी तेलहरुको कच्चा पदार्थ बाहिरबाटै आयात गर्नुपर्ने र पछिल्लो समय बढ्दो रुस–युक्रेन तनावले कच्चा पदार्थ ल्याउन नसकिएको र उतै मूल्य बढेकाले यता तयारी तेलमा समेत मूल्य बढाउनु परेको उद्योगीहरुको भनाइ छ । कारण जे भएपनि यता मूल्यवृद्धिले भने उपभोक्ताको ढाड नराम्रोसँग सेकेकै छ ।

खाद्यान्नमा ४० प्रतिशतको मूल्यवृद्धि

समीक्षा अवधिमा खाद्यान्न, दाल, चामल, गेडागुडी तथा मसलन्दसँगै खाने तेलमा ३३ प्रतिशतदेखि ४० प्रतिशतसम्मको मूल्यवृद्धि देखिन्छ । खुद्रा व्यापार संघले उपलब्ध गराएको तथ्याङ्क अनुसार अघिल्लो वर्ष २०७८ असार महिनामा रहेको खाद्यान्नको सरदर बजार मूल्यलाई यस वर्षको असारको मूल्यसँग दाँजेर हेर्दा अधिकतम ४० प्रतिशतसम्मले मूल्यवृद्धि भएको पाइन्छ । 

स्तर हेरेर चामलमा प्रतिकेजी ५ रुपैयाँदेखि १५ रुपैयाँसम्मले मूल्यवृद्धि भएकोमा यस्तो मूल्यवृद्धि प्रतिशतमा १०.३४ प्रतिशतले भएको देखिन्छ । अघिल्लो वर्ष प्रतिकेजी ७० रुपैयाँदेखि १३० रुपैयाँसम्म मूल्य रहेको चामल यस वर्ष ७५ रुपैयाँदेखि १४५ रुपैयाँसम्म पुगेको छ । 

यस्तै, दलहनमा ५ प्रतिशतदेखि १० प्रतिशत, अन्य गेडागुडीमा पनि ५ प्रतिशतदेखि १० प्रतिशत, गहुँ, मैदा, आँटा र सुजीमा ८ प्रतिशतदेखि ४० प्रतिशतसम्म मूल्यवृद्धि भएको छ । 

मसलन्दमा २७.६ प्रतिशतले मूल्य वृद्धि
यस्तै, दैनिक उपभोग्य वस्तुको रुपमा प्रयोग हुने धनियाँ र जिराको मूल्यसमेत गएको एक वर्षमा अधिकतम २७.६ प्रतिशतले मूल्यवृद्धि भएको छ । संघको तथ्याङ्क अनुसार अघिल्लो वर्ष २०० रुपैयाँ प्रतिकेजी पाइने धनियाँको मूल्य अहिले २५० रुपैयाँ पुगेको छ भने जिराको मूल्य ३६२ रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ । 


स्रोत : नेपाल खुद्रा व्यापार संघ

सरोकारवाला पक्ष आन्दोलनमा उत्रिने

बजार महँगीले सीमा नाघेसँगै यता सरोकारवाला पक्षहरुले महँगीको मुद्दामा सरकारविरुद्ध आन्दोलन चर्काउने भएका छन् । राजनीतिक पार्टी, विद्यार्थी, उपभोक्ता, उपभोक्तावादी लगायतले महँगीविरुद्ध आन्दोलन गर्ने भएका हुन् । 
सोमबार्मात्र एक निर्णय गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  पेट्रोलियम पदार्थको चरम मूल्यवृद्धि गर्ने सरकारविरुद्ध सदन र सडक दुवैबाट आन्दोलन चर्काउने उद्घोष गरेको छ । पेट्रोलियम पदार्थको स्टक नसकिँदै मूल्यवृद्धि गरेर सरकारले अर्बौँ रुपैयाँ घोटाला गरेको समेत एमालेले आरोप लगाएको छ । 

यस्तै, यता उपभोक्तावादी संघ संस्थाहरुले पनि मूल्यवृद्धिको विरोध गर्दै सरकारविरुद्ध कडा आन्दोलन गर्ने जनाएको छ । सोबारे रातोपाटीलाई जानकारी दिँदै कन्जुमर आई नेपालका महासचिव रञ्जन खनालले सरोकारवाला निकाय, सम्बद्ध व्यक्तित्वहरु लगायत उद्योगी व्यवसायी र विद्यार्थीलाईसमेत आन्दोलनमा होमिन आह्वान गरिएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

श्रेष्ठ रातोपाटीका लागि आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप