शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्धन आपूर्ति : एसियाली बजारमा उपस्थिति बढाउँदै रुस

चीनको पहिलो ठूलो आपूर्तिकर्ता, भारतमा दोस्रो स्थान कब्जा
सोमबार, ०६ असार २०७९, १४ : ३२
सोमबार, ०६ असार २०७९

रुसले छिमेकी मुलुक युक्रेनमाथि सैन्य हमला सुरु गरेको १०० दिनभन्दा धेरै भइसकेको छ । रुसले छिमेकी मुलुकमाथि आक्रमण सुरु गरेपछि विश्व अर्थव्यवस्था नै बदलिएको छ । यसबीचमा युरोपको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्ताको स्थिति नै बदलिएको छ । रुसले आफ्ना पुराना इन्धन खरिदकर्ता गुमाएको छ भने नयाँ खरिदकर्ता भेट्टाइसकेको छ ।

युक्रेनमाथि हमला अघि युरोपको ७०/८० प्रतिशत इन्धन (पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास)को आपूर्तिकर्ता रुस थियो । जबकि, त्यो स्थिति बदलिएर रुस एसियाको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ताका रूपमा उदाउन सुरु गरेको छ । अर्थात् युक्रेनमाथि हमला गरेको जवाफस्वरूप युरोपले गरिरहेको रुसी तेल बहिष्कारको जवाफ रुसले उल्टै दिइरहेको छ ।

रुसले छिमेकी मुलुकमाथि आक्रमण सुरु गरेयता १०० बिलियन डलरभन्दा बढीको तेल निर्यात गरिसकेको छ । यस्तै, यसबीचमा भारतको सबैभन्दा दोस्रो ठूलो तेल आपूर्तिकर्ता बनिसकेको छ । अब रुस चीनको सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता मुलुकको सूचीमा उदाएको छ ।

यतिबेला चीनमा रुसको तेल सबैभन्दा धेरै आयात हुन थालेको छ । युक्रेनमाथि हमला सुरु गरेको १०० दिनयता चीन र रुस पेट्रोलियम पदार्थको व्यापारमा सबैभन्दा ठूला साझेदार मुलुक बनेका हुन् । यसअघि, चीनले खाडी मुलुकबाट पेट्रोलियम पदार्थको अत्यधिक हिस्सा आयात गर्थ्यो । जबकि, २ लाख ६१ हजार माइल लामो सीमा जोडिएको रुसबाट न्यून तेल आयात गर्थ्यो ।

यी दुई मुलुकबीचको अन्तर्राष्ट्रिय सीमा विश्वकै छैटौँ लामो हो । तर, पनि यी दुई मुलुक यसअघि कहिल्यै पनि इन्धनको सबैभन्दा ठूला साझेदार बनेका थिएनन् । र, कसैले रुस चीनको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्ता बन्ने आँकलन गरेका थिएनन् । जबकि, यतिबेला रुस चीनको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्ता बनिसकेको छ ।

चीन विश्व बजारमा अमेरिकापछि सबैभन्दा धेरै तेल खरिद गर्ने मुलुक हो । यसपछि विश्वको तेस्रो इन्धन खपतकर्ताको सूचीमा भारतको नाम आउँछ । चीन दैनिक १४.२३ मिलियन ब्यारल पेट्रोलियम पदार्थ खपत गर्छ । चीनभन्दा अघि रहेको अमेरिकाले दैनिक १९.७८ मिलियन ब्यारल इन्धन खपत गर्ने गर्छ । यसैगरी, तेस्रो स्थानमा रहेको भारतमा दैनिक ४.४४ मिलियन ब्यारल पेट्रोलियम पदार्थको खपत गर्छ ।

बीबीसीले सार्वजनिक गरेको पछिल्लो रिपोर्टअनुसार चीनले गत महिना रुसबाट ८.४२ मिलियन टन कच्चा तेल आयात गर्‍यो । जबकि, यसअघि शीर्ष स्थानमा रहेको साउदी अरेबियाबाट ७.८२ मिलियन टन मात्रै कच्चा पदार्थ किन्यो । चीनको भन्सार तथ्यांकअनुसार यतिबेला साउदी अरेबिया दोस्रो ठूलो इन्धन आपूर्तिकर्ताको सूचीमा खुम्चिएको छ ।

चीनले रुसबाट आयात गर्ने कच्चा तेल उत्तरी साइबेरिया क्षेत्रदेखि चीनसम्म रहेको पाइपलाइनबाट र पूर्वी प्रशान्त महासागरबाट समुद्री मार्ग हुँदै ल्याइएको छ । पछिल्लो आँकडाले गत वर्षको तुलनामा चीनमा रुसबाट आयात हुने इन्धन ५५ प्रतिशतले बढेको छ । खासगरी, युरोपियन मुलुकले प्रतिबन्ध लगाएपछि रुसले नयाँ खरिदकर्ता बजार खोज्ने क्रममा चीन र भारतलाई केन्द्रमा राखेको छ ।

चीनको संघीय सरकाबाट नियन्त्रित प्रशोधन कम्पनी सिनोपेक र राज्य नियन्त्रित जेन्हुवा आयलले रुसमार्फत तेल खरिद प्रक्रिया बढाएका छन् । खासगरी, रुसले कच्चा तेलको खरिदमा भारी छुट घोषणा गरेपछि यी दुई कम्पनीले रुसको तेल भारी मात्रामा किन्न थालेका हुन् । यद्यपी, यही समयमा संयुक्त राज्य अमेरिका र संयुक्त राज्यले रुसको तेल किन्न पूर्णरूपमा बन्द गर्ने घोषणा गरिसकेका छन् ।

अमेरिकाले रुसको तेल आयात पूर्णरूपमा कटौती गरिसकेको छ भने बेलायतले पनि यही वर्ष सन् २०२२ मा रुसबाट आयात हुने तेललाई पूर्णरूपमा कटौती गर्ने घोषणा गरिसकेको छ । रुसले भारत र चीनको बजारमा आफ्नो उपस्थिति बढाउँदै लगे पनि रुसको इन्धन र ऊर्जा व्यापारबाट हुने आम्दानी भने समग्रमा घटेको छ । अहिले रुसले दैनिक इन्धन र ऊर्जा व्यापारबाट दैनिक १ बिलियनभन्दा न्यून आम्दानी गर्न थालेको छ ।

एजेन्सीहरूको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप