ad
x

कहिलेसम्म खेप्ने असारे विकासको चटारो ?

person explore access_timeअसार ६, २०७९ chat_bubble_outline0

असार महिना सबै नेपालीको लागि व्यस्त हुने महिना हो । खेतीपातीको लागि चाहिने पानीको लागि मनसुन सुरु भइसक्ने महिना हो यो । जमीन अरु महिनामा बाँझै रहे पनि धान रोप्न माचामाच हुने महिना हो यो । असार १५ दही च्युरा खाने दिन, हिलोमा टेक्नुपर्ने दिन अनि धान दिवसको रुपमा पर्व मनाउने दिन पनि हो ।


असार खेतीका लागि मात्रै महत्वपूर्ण छैन । यही असार महिनामा फलको राजा मानिने आँप बजारमा आउने र विभिन्न स्वादका आँपहरु चाख्ने महिना पनि हो यो । विद्यार्थीहरुको लागि महत्वपूर्ण ठानिएको एसएलसी (एसइइ) को नतिजा आउने महिना पनि असार नै हो ।



प्राकृतिक विपत्ति र प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै जोखिमयुक्त देशको श्रेणीमा पर्दछ । असार महिनामा नै नदीहरुको स्तर बढेर जलस्तर बढ्छ । यसले बाढी आउने, समुचित ढल निकासको अभावमा वस्तीहरु जलमग्न भई जनता जोखिम मोल्दै विपत्तिको सामना गर्नुपर्ने महिना पनि असार नै हुन गएको छ । पहाडी क्षेत्रमा धेरै पहिरो जाने, जमीन भासिने, कारणले आवत जावतमा ठूलो व्यवधान अवरोध खडा हुने गर्दछ । धेरै दुर्घटना भई धनजनको ठूलो क्षति हुने महिनाको रुपमा असारलाई लिने गरिन्छ ।

व्यवसायिक क्षेत्रमा असार महिना अत्यनत व्यस्त हुने महिना हो । सरकारलाई बुझाउनुपर्ने कर, राजश्व किस्ता बुझाउनुपर्ने महिना पनि हो यो । विकास निर्माण कामको त भेल र बाढी नै आउँछ असार महिनामा । काम नभए पनि प्रगति विवरणमा देखाउनको लागि आर्थिक वर्षको अन्तिम महिना असारमा सकेसम्म धेरै खर्च गर्ने गरेको पाउँछौँ । पानी निरन्तर परिरहेको बेलामा समेत ठेकेदारहरुले सडक कालोपत्रे गरिने काममा तीव्रता ल्याएको पाउँछौँ । खानेपानीका पाइपलाइन पनि यही महिनामा बढी विछ्याइन्छ । ढल निकासको लागि खन्ने काम पनि यही महिनामा गरिन्छ ।

मन्त्रालय, विभाग कार्यालयको लागि छुट्याइएको रकम खर्च नगरीकन रहेको अवस्थामा असार महिनामा कसरी खर्च गर्न सकिन्छ भनेर पालो पर्खेर बसेका हुन्छन् । असार महिनाको पत्रपत्रिका वा रेडियो, टेलिभिजन सुन्नु वा हेर्र्नु भयो भने दैनिक सरकारी गोष्ठी सेमिनार, अभिमुखीकरण, छलफलका दैनिक सयौं कार्यक्रम भइरहेको थाहा पाउन सकिन्छ ।

रातोपाटीको सोमबारको एउटा समाचारको शीर्षक छ, ‘बागमती प्रदेशः २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?’ । यो त एउटा सानो उदाहरण मात्रै हो । जब पर्यो राती, तब बूढी ताती भनेझैं ११ महिना निदाएर बस्ने तर असारमा आएर मात्र गरिने यस्ता विडम्बनापूर्ण कार्यहरु हाम्रो मुलुकमा भइरहेकै छन् । स्रोत र साधनको दुरुपयोग भइ रहेकै हुन्छन् । असार महिनामा नै यस्तो कामहरु गर्नुपर्ने स्थितिलाई सुधार गर्नुपर्ने परिस्थिति बनाउन जरुरी छ । हाम्रो जस्तो बिकसित मुलुकको लागि आम जनताबाट उठाइएको करको रकमलाई समुचित उपयोग गरी सरकारको विश्वसनीयता बढाउने तर्फ लाग्न जरुरी भएको छ ।

एकातर्फ तीव्र आर्थिक विकास सहित मुलुकलाई समृद्ध बनाउने आकांक्षा राखिएको छ भने अर्कोतर्फ हाम्रा सीमित स्रोत साधनलाई उपयुक्त ढंगले उपयुक्त ठाउँहरुमा खर्च गर्ने मेलोमेसो मिलाउन सकिएको छैन । यो अमूल्य स्रोत साधन दुरुपयोग हुन नदिन तदारुकता देखाउन सकिएको छैन । फलस्वरुप १०÷११ महिना काम नगर्ने प्रवृत्ति र बाँकी १ महिना असारमा सबै काम सकाउने प्रवृत्ति अन्त्य नगरेसम्म हाम्रो उद्देश्य प्राप्त गर्न अझै कठिन हुने देखिन्छ । यसमा सुधारको खाँचो छ, सुधारको थालनी जिम्मेवार व्यक्तिहरुबाट नै गरिनु पर्दछ । सिंहदरबारमा बस्ने व्यक्तिहरुबाट नै यस्तो कामको थालनी भए मात्र सुधार सम्भव छ । त्यहाँ बस्ने व्यक्तिहरुबाट नै बाँकी बचेको रकम असार महिनामा सिध्याउने निर्देशन भइरहेसम्म कुनै सुधारको सम्भावना देखिँदैन । यो त स्रोत साधनको अनावश्यक दुरुपयोग मात्र हो । विडम्बना सिंहदरबारको यो मानसिकता बाँकी ७५३ स्थानीय सरकारहरुमा पनि सरेको छ । यो असारे विकासको प्रवृत्ति व्यवस्थित गर्न चुनौतीपूर्ण छ । तर यो व्यवस्थित नगरेसम्म हाम्रो प्रवृत्ति र मानसिकता पनि परिवर्तन गर्न सकिँदैन ।

असार महिनाको अन्तिम दिन त हाम्रो सम्पूर्ण आर्थिक कारोबारहरू बन्द हुने दिन नै हो । राजस्व संकलनका लागि मात्र कार्यालयहरु खोल्ने गरिन्छ । यस्तै असारको अन्तिम दिन सँगै प्रायः असार २९ गते नेपालीहरुले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउँछन्, जुन ओझेलमा पर्छ ।

समग्रमा असार महिना हामी सबै नेपालीको लागि माना खाएर मुरी फलाउने महिना हो । यो महिनाले हामी सबैलाई सतर्क बनाउँछ, सचेत बनाउँछ । प्रकृतिप्रदत्त असारको पानी, बाढी, भेललाई रोक्न सकिन्न । तर आर्थिक वर्ष असारलाई नयाँ वर्ष अगावै अर्थात् चैतमा सार्ने हो भने विकासको नाममा देखाइने विकास मात्र नभई वास्तविक विकास हुने थियो । बरु एक वर्ष ९ महिनाको बजेट ल्याएर आर्थिक वर्ष चैत मसान्त तोकौं । खोलामा विकास पस्ने अधोगति रोकौँ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।