शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बागमती प्रदेश : २६ दिनमा ३३ अर्ब बजेट खर्च कति सम्भव ?

सोमबार, ०६ असार २०७९, १२ : ४६
सोमबार, ०६ असार २०७९

बजेट कार्यान्वयनमा बागमती प्रदेश सरकार यस वर्ष पनि असफल साबित भएको छ । चालु आर्थिक वर्ष सकिन २५ दिन बाँकी रहँदा वार्षिक बजेटको ५८ प्रतिशत खर्च गर्न बाँकी छ । प्रदेश सरकारलाई आगामी २६ दिनमा ३३ अर्ब भन्दा बढी बजेट खर्च गर्नुपर्ने चुनौती छ । प्रदेश सरकारले आगामी असार मसान्तसम्ममा ३३ अर्ब २३ करोड ११ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४२ प्रतिशतमात्र बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षमा करिव ७० प्रतिशत बजेट खर्च गर्ने लक्ष्य लिएको प्रदेश सरकारले बजेट खर्चको लक्ष्य पूरा गर्न आगामी २५ दिनमा कम्तीमा २८ प्रतिशत बजेट खर्च गर्नुपर्ने छ ।

प्रदेश सरकारको विभिन्न निकायहरुले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशतमात्र खर्च गरेका छन् । ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेटमध्ये प्रदेश सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँ अहिलेसम्म खर्च गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि विनियोजन गरेको कुल बजेट मध्ये चालु खर्च तर्फ ४६ दशमलव ८२ प्रतिशत, पुँजीगत तर्फ ३६ दशमलव ५८ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ, पुँजीगत तर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । बजेट कार्यान्वयनमा पुरानै शैली अपनाउँदा सरकारको खर्च बढ्न नसकेको अर्थ विज्ञहरु बताउँछन् । सरकार परिवर्तनका कारणले पनि बजेट खर्च हुन नसकेको उनीहरुको भनाइ छ ।

३ महिनामा १२ प्रतिशत बजेट खर्च

बागमती प्रदेश सरकारले गत ३ महिनामा १२ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले गत चैत, वैशाख र जेठमा कुल बजेटको १२ प्रतिशत रकम खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय हेटौंडाले जनाएको छ । प्रदेश सरकारले गत फागुन मसान्तसम्ममा कुल बजेटको ३० प्रतिशत रकम खर्च गरेको थियो भने त्यस यता जेठ मसान्तसम्मका प्रदेश सरकारले ४२ प्रतिशत बजेट खर्च गरेको हो ।

सरकार परिवर्तन र निर्वाचनले बजेट खर्चमा समस्या भयो : मन्त्री खनाल

बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालले सरकार परिवर्तनका कारण बजेट खर्चमा प्रगति हुन नसकेको बताए । उनले चालु आर्थक वर्षको लामो समय सरकार फेरबदलमा बित्दा योजना कार्यान्वयनमा समस्या भएको बताए ।

‘प्रदेश सरकारको करिव ५÷६ महिना सरकार परिवर्तनमा बित्यो । त्यस अवधिमा कुनै काम नै हुन सकेन,’ उनले भने, ‘सरकारको जिम्मेवारी गठबन्धनले लिएपछि मात्र काम अघि बढ्यो । हामीले नेतृत्व लिएपछि योजनाहरु कार्यान्वयनमा गएका छन् । बजेट खर्चको अवस्था सन्तोषजनक नै छ ।’

उनले स्थानीय तहको निर्वाचनले पनि बजेट कार्यान्वयनमा समस्या भएको बताए । सरकारको पूरा बजेट खर्च नभए पनि विगतको भन्दा कम प्रगतिको अवस्थामा नआउने उनको भनाइ छ ।

‘सबै बजेट खर्च हुन्छ भन्ने हुँदैन तर, विगतको प्रगतिभन्दा कम हुने अवस्था भने आउँदैन,’ उनले भने । बजेट एउटा सरकारले ल्याएको र कार्यान्वयन अर्को सरकारले गर्नु परेको उल्लेख गर्दै उनले फरक सरकारले ल्याएका योजना भएकाले कार्यान्वयनमा समस्या भएको स्वीकार गरे ।

‘कतिपय योजना कार्यान्वयनमा जान सक्ने अवस्थामा पनि थिएनन् । ती योजनाका कारण पनि बजेट खर्च कम देखिएको हो,’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप