विज्ञका कुरा

‘३०/३५ वर्षका युवामा पनि मधुमेह देखिन थाल्यो’

शारीरिक कामभन्दा मानसिक तनाव बढी भएकाले मधुमेह भएको पाइएको छ : डा. दीपक मल्ल

person explore access_timeअसार ६, २०७९ chat_bubble_outline0

पछिल्लो नेपालमा डाइबिटिज अर्थात् मधुमेहका बिरामी बढ्दै गएको चिकित्सकहरूले बताउँदै आएका छन् । वीर अस्पतालमा मधुमेहको उपचार गराउन पुग्ने मध्ये युवाको सङ्ख्या ठूलो रहेको अस्पतालले जनाएको छ ।


वीर अस्पतालमा पाँच वर्षअघि मधुमेहका बिरामी दैनिक सरदर ३० देखि ३५ जना हुने गरेकोमा हिजोआज २५० देखि ३०० जनासम्म जाँच तथा उपचारका लागि पुग्ने गर्छन् । विगतमा ५५/६० वर्ष उमेर समूहका व्यक्तिमा देखिने यो रोग अचेल ३०/३५ वर्षका युवाहरूमै देखिएको मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा.दीपक मल्ल बताउँछन् ।



मधुमेह रोगी बढ्नुको कारण के हो र यसका लक्षणहरू के–के हुन्, यो रोग लाग्न नदिनका लागि के गर्ने र यो रोग लागिसकेपछि पहिलाकै अवस्था फर्किन सकिन्छ कि सकिँदैन भन्ने जस्ता विषयमा मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. दीपक मल्लसँग रातोपाटीकर्मी माया श्रेष्ठले गरेको  कुराकानीको सम्पादित अंश–



मधुमेह भनेको के हो ?

मधुमेह भनेको एक प्रकारको रोग हो, यसका बिरामीका पिसाबमा सुगरको मात्रा देखिन्छ । त्यसैले यसलाई सुगर रोग पनि भनिन्छ । यो रोग लागेका बिरामीमा रगतमा सुगरको मात्रा बढी हुन्छ र पिसाबबाट बग्ने गर्छ ।

शरीरलाई चिनी अर्थात् सुगर चाहिन्छ सुगरको मात्रा धेरै भयो भने यसलाई मधुमेह भनिन्छ । मधुमेह टाइप वान र टाइप टु गरी दुई थरीका हुन्छन् । शरीरमा मधुमेह सुगर कन्ट्रोल गर्ने इन्सुलिन भन्ने तत्त्व हुन्छ । इन्सुलिन शरीरमा नभएको अवस्थालाई टाइप वान डाइबिटिज भनिन्छ ।

यस्तै, इन्सुलिन पनि छ, सुगर पनि छ । इन्सुलिनले राम्रोसँग काम गर्ने ठाउँ पाएन । इन्सुलिनको मात्रा शरीरमा धेरै कम हुँदै आएको छ भने यसलाई टाइप टु मधुमेह भनिन्छ । नेपाली समुदायमा प्रायजसोलाई टाइप टु डाइबिटिज लाग्ने गर्छ । टाइप वान डाइबिटिज प्रायजसो युवाहरूमा देखिएको छ । टाइप टु डाइबिटिज ४० वर्ष माथिका व्यक्तिहरूलाई लाग्ने गर्दछ ।

 टाइप वान डाइबिटिज र टाइप टु डाइबिटिजका लक्षण फरक फरक हुन्छन् कि एउटै हुन्छ ?

टाइप वान डाइबिटिज भएको खण्डमा प्रायःको स्वास्थ्य स्थिति गम्भीर बनाउने गर्छ । टाइप वान डाइबिटिज भएको थाहा नपाउनेहरू निमोनिया भएर बेहोस भई अस्पताल आइसकेपछि मात्र आफूलाई टाइप वान डाइबिटिज छ भन्ने थाहा पाउने गर्छन् ।

टाइप वान डाइबिटिज हुनुभन्दा अगाडि केही मात्रामा खतरा हुन सक्छ । यो रोग हो भन्ने पत्ता लगाएपछि उनीहरूलाई इन्सुलिन चाहिन्छ । इन्सुलिन पाएको खण्डमा टाइप वान डाइबिटिज त्यति धेरै खतरा हुँदैन । टाइप टु डाइबिटिज लामो समयसम्मका लागि पनि खतरा हुन्छ । यसको लक्षण पछि थाहा हुन्छ । जस्तै, तिर्खा लाग्ने, मुख एकदम सुक्खा हुने, शरीरमा तागत नआउने, पिसाब धेरै लाग्ने र शरीरको तौल एक्कासि घट्दै जाने गर्छ । मोटो मान्छे एक्कासि घट्दै गएमा, अल्छी भएमा टाइप वान र टाइप टु मधुमेह भएको पाइएको छ । टाइप वान मधुमेह युवा उमेरमा हुने भएकाले त्यति ख्याल गरिँदैन र टाइप टु मधुमेह बुझ्ने अर्थात् परिपक्व उमेरमा हुने भएकाले सबैजसोले थाहा पाउँछन् ।

टाइप वान मधुमेह रोग वंशाणुगत हुँदैन । तर, टाइप टु चाहिँ वंशाणुगत हुन्छ । त्यसैले हामीले हरेक बिरामीलाई मधुमेहको विषयमा सोध्दा मामाघरको खलकबारे अर्थात् मामा घरको हजुरबुबा, हजुरआमामा के रोग थियो वा थिएन भनेर सोध्ने गर्छौँ ।

पछिल्लो समय मधुमेहका बिरामी साँच्चै बढेका हुन् त ?

वीर अस्पतालको ओपीडीमा आजभन्दा ५ वर्ष अगाडि दिनमा ३०/३५ जना मधुमेहका बिरामी उपचारका लागि आउने गर्थे । अहिले बिरामी बढेर थेगिनसक्नु छ । दैनिक २५० देखि ३०० जनासम्म त्यस्ता बिरामी उपचारका लागि आउने गर्छन्, जसमा तीन जना बिरामीमध्ये दुई जना मधुमेह भएका बिरामी हुने गर्छन् ।

प्रत्येक वर्ष १ प्रतिशतका दरले मधुमेहका बिरामी बढेका छन् । २०१८ मा ३.१ प्रतिशत बिरामी थिए भने २०१९ मा ४.२ र अहिले लगभग ५.५ प्रतिशत पुगिसेको छ । मधुमेह रोग देखिने दर उच्च छ । यसमा पनि मधुमेह युवाहरूमा बढी देखिने गरेको छ । पहिलापहिला ६० वर्ष माथिकालाई मात्रै मधुमेह देखिने गर्थ्यो । बाबा आमालाई हुने रोग अहिलेचाहिँ छोराछोरीलाई देखा परिरहेको छ । ३०/३५ वर्षका युवामा पनि मधुमेह देखिने गरेको छ ।

मधुमेह वंशाणुगत रोग हो ?

टाइप वान मधुमेह रोग वंशाणुगत हुँदैन । तर, टाइप टु चाहिँ वंशाणुगत हुन्छ । त्यसैले हामीले हरेक बिरामीलाई मधुमेहको विषयमा सोध्दा मामाघरको खलकबारे अर्थात् मामा घरको हजुरबुबा, हजुरआमामा के रोग थियो वा थिएन भनेर सोध्ने गर्छौँ । यस्तै, घरका काकाकाकी, हजुरबुबा, आमा, दाजुभाइ, दिदीबहिनी लगायतमा मधुमेह भए–नभएको बारे सोध्ने गर्छौँ । यो वंशाणुगत तवरबाट सर्न पनि सक्छ । वंशाणुगत रूपमा मधुमेह रोग ७२ प्रतिशतदेखि ८९ प्रतिशतसम्म सर्ने सम्भावना हुन्छ ।

मधुमेह रोग लागिसकेपछि ज्यान जाने खतरा हुन्छ कि हुँदैन ?

मधुमेहको उपचार गर्ने बेलामा सुगरमात्रै कन्ट्रोल गरेर हुँदैन । आज उपचार गराउन आएका बिरामी १०/२० वर्ष पछाडि पनि सोही डाक्टरको निगरानीमा उपचार गराउन पुग्नुपर्ने हुन्छ । बिरामीमा जटिलता आयो, अनि मृत्यु भयो भनेर आउने गर्नुहुन्छ । हाम्रो उद्देश्य भनेको सुगर कन्ट्रोल गर्ने मात्रै होइन । सुगरका बिरामीको आँखा जोगाइदिने, मिर्गौला जोगाइदिने, खुट्टामा घाउखटिरा आउन नदिने र मुटु अनि नसामा समस्या हुन नदिने हो । मधुमेहले यी पाँच विषयमा विस्तारै हान्ने गर्दछ ।

परिवारमा कसैलाई मधुमेह छ भने आफै जोगिने हो । कसैको बुबाआमालाई मधुमेह छ भने त्यो मलाई पनि लाग्न सक्छ भनेर जानकार भई जोगिनु एकदम महत्त्वपूर्ण कुरा हो ।

हाम्रो चाहना बिरामी अन्धो हुन भएन, बिरामीको मिर्गौला फेल हुन भएन र बिरामीको मुटुमा समस्या आउन भएन भन्ने हो ।

सहरी क्षेत्रबाट उपचार गर्न आउने बिरामी मधुमेह सम्बन्धी जानकार हुन्छन् । आफ्नो परिवारमा कसैलाई मधुमेह भएको छ भने जाँच गराउने गर्छन् । ग्रामीण भेगबाट उपचारका लागि आउने बिरामीमा मधुमेह भएको थाहा नपाइकनै मिर्गौला फेल भएको, आँखामा समस्या भई दृष्टि गुमेका व्यक्ति उपचारका लागि आउने गर्छन् । मधुमेह भएपछि विभिन्न किसिमका स्वास्थ्य समस्या आउने गर्छन् । त्यस समस्यालाई हामीले बढ्न नदिने हो ।

मधुमेह भएको कसरी थाहा पाउने ? यसका लक्षणहरू के–के हुन् ?

परिवारमा कसैलाई मधुमेह छ भने आफै जोगिने हो । कसैको बुबाआमालाई मधुमेह छ भने त्यो मलाई पनि लाग्न सक्छ भनेर जानकार भई जोगिनु एकदम महत्त्वपूर्ण कुरा हो । मधुमेहबाट जोगिनु मुख्य कुरा भनेको शारीरिक अभ्यास गर्नु हो । मानसिक अनि शारीरिक रूपमा स्वास्थ्य हुनु पर्छ । मुख्य कुरा तनाव लिनु भएन । बेलाबेलामा रगत जाँच गर्नुपर्छ । बा/आमालाई मधुमेह छ भने २५/३० वर्षको उमेरमै सुगर जाँच गराउनुपर्छ ।

पहिलो कुरा भनेको बिरामीमा यसबारे जनचेतना हुनुपर्‍यो । अर्का कुरा भनेको लक्षण सुरुमै पत्ता लगाउनुपर्छ । पहिला भन्दा दुब्लाउँदै गएमा, शारीरिक क्रियाकलापमा इच्छा कम हुन थालेमा, मुख सुक्दै गएमा, पानी तिर्खा धेरै लाग्ने, भोक धेरै लाग्ने, जति खाए पनि मान्छे दुब्लाउँदै जाने, लगायतका सुरुवाती लक्षण हुन् । यस्तै, दिसा पिसाब गर्ने स्थानमा चिलाउने, पिसाब धेरै गनाउने, पिसाब छिनछिनमा आउने अथवा पिसाबमा फिँज आउने हुन सक्छ । यस्तो अवस्थामा आँखा धमिलो हुँदै जान्छ । यी लक्षणहरू सुरु मै देखापर्छ भन्ने हुँदैन । यस्ता खालको लक्षण नदेखीकन एकैपटकमा आँखा, मिर्गौलामा समस्या आउन पनि सक्छ ।

मधुमेहका बिरामी खासगरी कुन उमेर समूहका हुन्छन् ?

वीर अस्पताल भनेको रिफरल सेन्टर अस्पताल भएकाले देशभरबाट बिरामी आउने गर्छन् । ३५ वर्षदेखि ५५ वर्ष बीचका बिरामी एकदमै धेरै आउने गरेका छन् । त्योभन्दा माथिका उमेर समूहले उपचार पाइसकेका छन् । सुगर भन्ने कुरा सबैलाई थाहा छ । विशेष गरी विदेश अर्थात् खाडी मुलुकबाट आउने अमेरिका, क्यानडाबाट आउने युवा धेरैमा मधुमेह देखिएको छ ।

बुझ्दै जाँदा के हुन्छ भने विदेशमा जीवनशैली नेपालीको जस्तो छैन । फास्फुडहरु धेरै खाने, मोबाइल, ग्याजेटमा धेरै समय बिताउने हुँदा मधुमेह भएको छ । तनाव लिने, मन शान्त नहुने मानिसमा यो रोग देखिन्छ । विदेशमा स्वदेशमा झै सुख र शान्ति मन हुँदैन । किनभने परिवार टाढा हुन्छ । काम, अध्ययन, परिवारको अपेक्षा पूरा गर्ने, लगानी गरेर गएको पैसाको चुक्ता गर्ने, आफ्ना सपना पूरा गर्नुपर्ने लगायतका कुरालाई सही तरिकाले व्यवस्थापन गर्न कठिनाइ हुँदा युवाहरू तनावमा हुन्छन् । विदेश गएर मधुमेह भएकाहरूलाई शारीरिक काम भन्दा पनि मानसिकरुपमा बढी तनाव भएकाले मधुमेह भएको पाइएको छ । राति निदाउने बेलामा पनि चिन्ता लिएर सुत्दा मधुमेह उच्च भएर आउँछ । २५ वर्षदेखि ४५ वर्षसम्मको उमेरमा धेरै तनाव हुने समय पनि हो ।

विदेशबाट आउने युवामा कुन टाइपको मधुमेह देखिन्छ ?

विदेशबाट आउनेहरूलाई कामबाट निकालिदिएको हुन्छ । मधुमेह भएको छ, अब काममा नआऊ भनिदिने रहेछन् । उनीहरू विदेशबाट आइसकेपछि पनि अस्पताल आउन नै तीनचार महिना ढिला गरी आउने गर्छन् । पहिल्यै सुगर देखिएको हुन्छ तर, औषधि खाएपछि नियमित खानुपर्छ भन्ने भ्रम हुन्छ । मधुमेह लाग्नुभन्दा अगाडि प्रि डाइबिटिज अर्थात् मधुमेहलाई शारीरिक अभ्यास गरेर, खानपानमा ख्याल गर्नुका साथै जीवनशैलीलाई परिवर्तन गरेर मधुमेह हुन नदिन पनि सकिन्छ । नियमित रूपमा ३० मिनेटदेखि ४५ मिनेटसम्म शारीरिक अभ्यास गर्ने गर्नुपर्छ । परिवारसँग समय बिताउनुहोस् ।

प्रि–डाइबिटिज लागेको ख्याल गरेमा यसबाट जोगिन सकिन्छ । पहिला जस्तो जीवनशैली थियो, त्यस्तै जीवनशैलीमा पुनः फर्कन सकिन्छ । डाइबिटिज भएकाहरुले केही गर्न सक्दैनन् भन्ने भ्रम छ । तर, सही समयमा उपचार र जीवनशैलीलाई ख्याल गरेको खण्डमा हरेक कार्य गर्न सक्छन् । विदेशबाट आउनेहरूलाई टाइप टु डाइबिटिज लाग्ने गर्छ ।

मधुमेहका बिरामीको तीनवटा कुरा जाँच गरिन्छ । आठ घण्टाको फास्टिङपछि रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच, तीनतीन महिनामा सुगर जाँच अर्थात् १२० दिनको सुगर जाँच गर्ने हो । सुरुमा औषधि चढाउनुभन्दा पहिला मिर्गौला, मुटुकोको जाँच पनि गर्नुपर्छ ।

मधुमेह रोग लागेकाले कस्ता खानेकुरा खानुपर्छ ?

नेपालमा मधुमेह भएका बिरामीले खाने कुराका बारेमा धेरै भ्रम छन् । धेरै नेपालीहरू प्रायः बाबाआमासँग बस्ने गर्छन् । घरमै खाने खाना भनेको सामान्य खाना हो । जब घरदेखि बाहिर फास्टफुड खान्छौँ, सफ्ट ड्रिङ्कस, सुर्तीजन्य पदार्थ, मादक पदार्थ लगायतको सेवनले मधुमेह गराउन सहयोग पुर्‍याउँछ । जब घरबाहिर गएर खाना खाइन्छ, त्यसपछि मधुमेह रोगीलाई असर गर्न सुरु हुन्छ । चामल कम, सागसब्जी, सलाद धेरै खानुपर्छ । फलफूलहरू स्वादका लागि खाने, आँप आधा मात्रै खाने, दुई तीन वटा लिची खान मिल्छ । खानै नहुने भनेको ‘वाटरमेलन’ हो । जसले सुगरको मात्रा ह्वात्तै बढाउँछ ।

मैदाबाट बनेका सबै खानेकुराहरू र सेतो चामलले सुगरको लेबल बढाउँछ । मधुमेह छ भनेर खाँदै नखाएर कहाँ भयो र ? शरीरलाई तागत चाहिन्छ । त्यसैले बिरामीले डाइट कन्ट्रोल गर्न एकदम जरुरी छ । तरकारीको सुप, दाल धेरै पिउने, माछा मासुहरू सामान्य तरिकाले पकाएर खाने गर्नुपर्छ । गुलियो भनेर जेरी स्वारी नखाने, सफ्ट पेय पदार्थ सेवन नगर्ने र औषधि सेवन गर्नुपर्छ ।

मधुमेहका बिरामीले के–के जाँच गर्नुपर्छ ?

मधुमेहका बिरामीको तीनवटा कुरा जाँच गरिन्छ । आठ घण्टाको फास्टिङपछि रगत जाँच, खाना खाएको दुई घण्टापछि रगत जाँच, तीनतीन महिनामा सुगर जाँच अर्थात् १२० दिनको सुगर जाँच गर्ने हो । सुरुमा औषधि चढाउनुभन्दा पहिला मिर्गौला, मुटुकोको जाँच पनि गर्नुपर्छ । औषधिहरू यस्ता किसिमका हुन्छन्, जसले मिर्गौलालाई असर गर्न सक्छन् । मिर्गौला पहिला नै खराब भएको छ भने सिधै सुगरको औषधिहरू चढाउन मिल्दैन । सुरुवाती जाँच यही नै हो । त्यसपछि जीवनशैलीलाई परिवर्तन गर्ने, औषधिहरू सेवन गर्ने, तागतिलो खाना खाने, तनाव नलिएपछि सुगर लेबल घटाउन सकिन्छ ।

मधुमेह हुन नदिन के गर्नुपर्छ ?

केही मानिसलाई मधुमेहबारे जानकारी भए पनि मधुमेह लाग्न सक्छ । हाम्रो उद्देश्य भनेको मधुमेह भएकाहरूलाई कसरी अन्धोपनबाट जोगाउने, मुटु, मिर्गौला बिग्रनबाट जोगाउने भन्ने हो । मिर्गौला बिग्रियो भने हत्तपत्त परिवारकै सदस्यले मिर्गौला दिन मान्दैनन् । हाम्रो उद्देश्य भनेकै आज १६० भएको सुगरलाई १२० मा पनि ल्याउने र आँखा, मुटु, मिर्गौला, खुट्टा पनि जोगाइदिने हो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।