शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्षको तयारीमा एमाले

‘सरकार खासखास व्यापारिक घरानाहरूको दास जस्तो भयो’
सोमबार, ०६ असार २०७९, १२ : २६
सोमबार, ०६ असार २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको भनाइ छ ।

चर्को महँगीविरुद्ध आज बस्ने प्रतिनिधि सभा बैठक अघि पार्टीका शीर्ष नेताहरूबीच छलफल गर्ने एमालेको तयारी छ । सोही छलफलअनुसार कसरी अघि बढ्ने भन्ने रणनीति तय गर्ने एमाले उपाध्यक्ष तथा संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङको भनाइ छ ।

‘हामी महँगीविरुद्ध कडाइका साथ प्रस्तुत हुन्छौ, महँगीको हामी विरोध गर्छौ तर प्रभावकारी विरोध कसरी गर्न सकिन्छ भनेर पार्टीमा पनि छलफल गर्दैछौँ’, उपाध्यक्ष नेम्वाङले भने, ‘सरकारलाई महँगी नियन्त्रण गर्न हामीले करका दर घटाएर सन्तुलित बनाउन सुझाव पनि दिएका हौ । सुनेझैँ गर्छ तर काम गर्दैन, समस्या यसैमा छ ।’  

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले अनियन्त्रित र चर्को मूल्य बृद्धिको मारमा जनता पिरोलिएको भन्दै यस्तो अवस्थामा प्रमुख प्रतिपक्ष दल चुप लागेर बस्न नसक्ने बताए । ‘सरकारलाई खबरदारी गर्ने सबै उपाय एमालेले अवलम्बन गर्छ । अव अति भयो, अत्याचार नै भयो, जनताले थेग्न सक्ने अवस्था नै भएन’, भट्टराईको भनाइ छ ।

त्यसो त नेकपा एमालेले यसअघि गत जेठ २१ गते नै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिविरुद्ध प्रतिनिधि सभामा अत्यन्त जरुरी महत्त्वको प्रस्ताव नै पेस गरेर छलफल समेत भएको हो । तर पनि सरकारले मूल्यवृद्धि नियन्त्रणतर्फ प्रभावकारी कदम चालेको छैन ।  

‘एमालेले यसअघि पनि मूल्यवृद्धिविरुद्ध सडक, सदन र बाहिर पनि कुरा उठाइरहेकै हो । हाम्रा विद्यार्थी संगठन र युवा संगठनहरुले सडकमा महँगीविरुद्ध सरकारलाई खबरदारी गर्ने काम पनि गर्दै आएका छन्’, भट्टराईले भने, ‘सँगसँगै संसद्‍मा म आफै प्रस्तावक भएर पेट्रोलियम पदार्थ र अरू सबै बस्तुको मूल्यवृद्धिविरुद्ध प्रस्ताव नै राखेर जेठ २१ गते प्रतिनिधि सभामा छलफल गरेका थियौ ।’

संसद्‍मा दिनहुँजस्तो महँगीविरुद्ध आवाज उठाइरहेपनि सरकारले सुनुवाइ नगरेको भट्टराईको गुनासो छ । ‘सरकार ७ प्रतिशत महँगी बढेको भनेर तथ्याङ्क प्रस्तुत गर्छ । तर, अहिले नै कयौँ वस्तुमा १५ प्रतिशत मूल्य बढिसकेको छ’, भट्टराईले भने, ‘यो वर्ष इतिहासमै सर्वाधिक मूल्यवृद्धि हुने खतरा देखिँदैछ । किनभने पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुनासाथ सबै बस्तुको मूल्यवृद्धि हुन्छ । त्यसले सबै वस्तुमा निरन्तर प्रभाव पारिरहेको हुन्छ ।’

भट्टराईले प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई गर्नुपर्ने खबरदारी गरिरहेको भन्दै सरकार नै नसुन्ने भएपछि केही गर्न नसकिएको पनि बताए ।

‘हामी प्रतिपक्षले खबरदारी गर्ने हो, त्यो काम गरिरहेका छौ, जनताका समस्या सम्बोधन गर भनेर सरकारलाई देखाउने र सुनाउने हो’, प्रतिपक्ष आफै सरकारका रूपमा प्रस्तुत भएर मूल्य घटाउन नसक्ने भट्टराईको भनाइ छ । ‘जनताको कुरा नसुन्ने, न्यायोचित आवाजहरूलाई नसुन्ने सरकारहरूलाई के नै गर्न सकिन्छ र ? आम जनतालाई यस्तो असफल सरकार हटाऔँ, जनताको सरकार बनाऔँ भन्ने हो’, भट्टराईले एमाले नेतृत्वको सरकारका पालामा २ रुपैयाँ मूल्यवृद्धि हुँदा बालुवाटारमा भाटा बोकेर जानेहरू कहाँ छन् ? भनेर प्रश्न समेत गरे ।

‘अहिले एकै दिन २७ रुपैयाँ प्रतिलिटर डिजेलको मूल्य बढ्दा ती साथीहरू कहाँ छन् ? यो जस्तो नालायकीपन के हुनसक्छ ? यस्तो हिसाबको मूल्यवृद्धि एमालेलाई सह्य हुँदैन,सदनदेखि सडक र सबै ठाउँमा एमालेले सशक्त सङ्घर्ष गर्छ’, भट्टराईको भनाइ छ ।

सरकारले अर्थतन्त्र ड्राइभ गर्न सकेन

अर्थतन्त्रलाई सरकारले सही किसिमले ‘ड्राइभ’ गर्न नसक्दा मूल्यवृद्धि आकासिएको एमालेको भनाइ छ । ‘सरकारले मुलुकको अर्थतन्त्र सही ढङ्गले ड्राइभ गर्न नसक्नुको परिणाम हो मूल्यवृद्धि । अर्थतन्त्रका सबै सूचकहरू कमजोर भएका छन् । नेपालका सबै संस्थाहरू कमजोर भए पनि सरकारको बजार अनुगमन पटक्कै छैन’, भट्टराईले भने, ‘बजार छाडा छोड्दा अराजकता बढेको छ । सरकार खासखास व्यापारिक घरानाहरूको दास जस्तो भएको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप