शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीवनदर्शन : सफलताका शर्त

सोमबार, ०६ असार २०७९, ११ : २७
सोमबार, ०६ असार २०७९

प्रसङ्ग केही पहिलेको हो । एक पटक बाघ र दुम्सीको जम्काभेट भयो । बाघ आहारको खोजीमा हिँडेको थियो । अनायासै दुम्सी भेटेर ऊ यति खुसी भयो कि दायाँवायाँ नगरी आक्रमणमा उत्रियो । विचरा दुम्सीलाई आपत प¥यो । यसरी अकस्मात् बाघसित जम्काभेट होला भन्ने सोचेकै थिएन उसले । तैपनि हिम्मत हारेन र प्रतिरक्षा गर्नतिर लाग्यो । बाघ घुमीघुमी उसको घाँटी समाउन खोथ्यो दुम्सी तत्कालै पीठ फर्काएर घाँटी जोगाउने प्रयास गथ्र्यो । फलत: दुम्सीको काँडाले घोचेर बाघको मुख र खुट्टाबाट रगतको धारा छुट्न थाले । तैपनि उसले त्यसको वास्ता गरेन र आक्रमण जारी राख्यो । अन्ततः दुम्सी थाकेर यति हैरान भयो कि चरकभरक केही गर्न सकेन । बाघ यस्तै मौकाको प्रतीक्षामा थियो । उसले तत्कालै दुम्सीको घाँटी समात्यो र उद्देश्य पूरा गरिछाड्यो ।

कुरा सुन्दा सामान्य जस्तो लाग्छ । बाघ र दुम्सीको मात्र कथा हो कि जस्तो लाग्न पनि सक्छ तर यो त्यतिमा मात्र सीमित भने छैन । हामी सबैको कथा र व्यथा पनि योभन्दा भिन्न छैन । हामी सबै सफलता चाहन्छौँ तर सफलता भने सितिमिति प्राप्त हुँदैन । अनेक हन्डर खानुपर्छ । बिघ्नवाधा पर्न सक्छन्, समस्याहरू आउन सक्छन् । ‘श्रेयांसी बहु बिघ्नानि’ अर्थात् सफलताका मार्गमा अनेक समस्या तेर्सिन सक्छन् भन्ने त नीतिमै उल्लेख छ । त्यसैले सफलता त्यसैलाई मिल्छ, जसमा समस्यासित जुद्ध्ने धैर्य र साहस छ । सफलताका सिँढी चड्न धैर्य पनि चाहिन्छ, साहस पनि । बाघले धैर्य गुमाएको भए वा एकाध प्रयासमा हार मानेको भए न दुम्सीलाई पराजित गर्न सक्थ्यो न पेट भर्ने अवसर नै पाउन सक्थ्यो ।

भागवतमा एउटा कथा छ व्यासजीले भनेका । भगवान् कृष्ण शिशुपाललाई मार्न आएका थिए । शिशुपाललाई सनाकादि मुनिहरूले दिएका श्रापबाट उन्मुक्ति दिनु उनको उद्देश्य थियो तर सयवटा गाली नखाई मार्ने छैन भन्ने वचनमा पनि बाँधिएका थिए । यस अर्थमा उनी दोहोरो चेपुवामा परेका थिए । उनका निम्ति शिशुपाललाई नमारी पनि भएको थिएन र उनको तर्फबाट सयवटा गाली नखाई मार्न सकिने अवस्था पनि थिएन । तैपनि धैर्य छाडेनन् र उपयुक्त अवसर सिर्जना गर्नतिर लागे । फलत एक दिन त्यस्तो अवस्था आइछाड्यो, जसले उनको उद्देश्य पूरा गर्न सघायो । जब युधिष्ठिरको राजसूय यज्ञमा शिशुपालले सयवटाभन्दा बढी गाली गरे तब कृष्णले सुदर्शन चक्रद्वारा उनको शिरच्छेदन गरी उद्देश्य पूरा गरेका थिए ।

थाहा छैन यस कथामा केकति सत्यता छ । मानौँ व्यास कथा हो सत्य नै होला तर जहाँ पनि सफलता चाहने मानिसले धैर्य र साहस छाड्नुहुन्न भन्ने कुरालाई भने बिर्सन मिल्दैन । कसैले पनि जीवनमा सजिलै सफलता पाएका हुँदैनन् । सबैका आ–आफ्नै कथा हुन्छन, बेथा हुन्छन् । सबै धैर्यतापूर्वक कडा मिहिनेत गरेर मात्र त्यहाँ पुगेका हुन् । न बुद्ध सजिलै बुद्ध भनेका थिए न गान्धी सजिलै गान्धी बन्न सकेका थिए । न मण्डेला सजिलै मण्डेला बनेर चिनिन सकेका थिए न मार्टिन लुथर किङ्ग वा मदर टेरेसाहरू सहजै विश्वविख्यात हुन पुगेका थिए । यी केही उदाहरण हुन् । हाल हामीले जेजति सफलताका शिखरमा पुगेका व्यक्ति देखेका छौँ सबैको अवस्था यस्तै हो ।

प्रायः हामी भन्नासाथ सफलता मिलेन भनेर दिक्क मान्ने गर्छौँ । यसो गर्नु राम्रो होइन । यस्तो प्रवृत्तिले कहिल्यै भलो गर्दैन । सफलताको शिखर छुने क्षमता सबैसित हुन्छ । जन्मदै प्रकृतिले सबैलाई यस्तो शक्ति दिएर पठाएको हुन्छ तर सफलता भने तिनै व्यक्तिलाई मात्र मिल्छ, जसले आफूमा निहित शक्तिलाई उपयोगमा ल्याएका छन्, ल्याउन सकेका छन् । जो–जसले धैर्य र साहसका साथ हरेक असफलताबाट पाठ सिक्दै अघि बढेका छन् उनीहरू सफल भएका छन् । जो–जसले बीचैमा निराश भई प्रयास छाडेका छन् उनीहरू बीचैमा रहेका छन् । कतिसम्म माथि पुग्ने भन्ने कुरा आफ्नै धैर्य र साहसमा निर्भर गर्ने कुरा हो । मानौँ यो यस्तो तुलो हो, जसले हमेशा सफताको सीमा नाप्ने र जोख्ने गरेको छ । जति बढी समान राखियो तुलाको डाँठ त्यति नै उठ्ने हो । जति प्रयास गरिएको छ सफलताको विन्दु त्यहीँसम्म पुग्ने हो । त्योभन्दा एक पाइलो अघि बढ्दैन, बढेको हुँदैन ।

घिउ खान खोज्ने हो भने दहीलाई त्यतिबेलासम्म मन्थन गर्नैपर्छ जतिबेलासम्म घिऊ आउँदैन । बीचैमा घिऊ आएन भनेर छाड्ने हो भने न घिऊ खान पाइन्छ न दही दहीकै अवस्थामा रहन्छ । घिऊ दहीमै छ, दहीमै हुने हो तर त्यसलाई पाउन पहिले दूधलाई तताएर दही बनाउनुपर्छ अनि घिऊ नआएसम्म मन्थन गर्नै पर्छ । अन्यथा घिऊ खाने सपनामा सपनामै सीमित रहन्छ । उल्लिखित प्रसङ्गले हामीलाई यही सन्देश दिएको छ । बाघले बीचैमा हार खाएको भए वा यस वापत खाइएको हन्डर र चोटतिर अल्झिन लागेको भए पक्कै शिकार हत्याउन सक्ने थिएन र दिनभर भोको रहनुपर्ने थियो तर त्यस्तो गरेन, जसले गर्दा उसलाई दुम्सीको घाँटी समाउन मात्र नभई टन्न खाएर दिनभर सुखी रहने अवसर प्राप्त भयो । यसको अर्थ हो, जसले समस्यासित जुद्धे हिम्मत गर्छन् उनी सफलता पाएर सुखी हुन्छन् । बीचैमा थाक्नेहरू तलै रहेर दुःखी हुन वाध्य हुन्छन् ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप