शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गैरराजनीतिक व्यक्तिहरूको राजनीतिक होड

सोमबार, ०६ असार २०७९, ०६ : २३
सोमबार, ०६ असार २०७९

नेपालको राजनैतिक व्यवस्थामाथि निरन्तर प्रश्न उठ्ने गरेको छ । बारम्बारको किचलो र कलहले नेपाली राजनीति सधैँजसो विवादमा रहन्छ । पुराना दलहरूको पदप्रतिको आशक्ति र जनताको वितृष्णाले गर्दा बिथोलिएको राजनीतिको अबको बाटो कस्तो बन्ला त ? यो प्रश्नको उत्तर स्थानीय निकायमा चुनाव जित्ने केही ‘स्वतन्त्र’ प्रतिनिधिले दिएका छन् । संघ र प्रदेशको चुनाव अझै टाढा भए पनि यसबेला गैरराजनीतिक व्यक्तिहरूको चुनावमा होमिने राजनीतिक लहड पुनः सुरु भएको छ । यसरी गैरराजनीतिक व्यक्तिहरू राजनीतिमा आएर परिर्वतनको संबाहक बन्न सक्लान् त ? यो प्रश्नको जवाफ समयले दिनेछ ।

२०७३ सालको फागुनबाट आफ्नो निकै लामो पत्रकारिता जीवनको अन्त्य गर्दै राजनीतिमा आएका हुन् रवीन्द्र मिश्र । बीबीसी नेपाली सेवाको प्रमुखको पदबाट राजीनामा दिँदै मिश्र राजनीतिको द्वारमा उभिए । उनको राजनीतिक यात्राको सुरुवाततिर नै उनका प्रशंसक र आलोचक दुवैको उत्तिकै मात्रामा उपस्थिति थियो । यद्यपि, उनले उक्त कुराको ख्याल राखेर कसरी अघि बढ्लान् त भन्ने कुरा एक विशाल प्रश्न थियो । र, पाँच वर्ष पछिको अवस्था हेर्दा उनी असफल भएको निष्कर्ष धेरै ठुलो जमातले निकालेको छ । विवेकशील साझा दलले नचिताएको अत्यन्त न्यून भोट ल्याएपछि पार्टी अध्यक्ष पदबाट उनले राजीनामा दिएका छन् । राप्रपामा छिर्ने हल्लाको बीच अबको राजनीतिक दृश्यमा उनी कसरी अघि बढ्छन्, त्यो भने हेर्न बाँकी छ । 

त्यसै गरी गैरराजनीतिक पृष्ठभूमिबाट राजनीतिमा आउने लहडकै क्रम यसपटक देखियो र्‍यापर बालेन शाहको उम्मेदवारी । उनको उम्मेदवारीलाई सामान्य रुपमा नै हेरिरहेका थुप्रै जनमानस र राजनीतिक दलका नेताहरूको मुखमा उनले भने बुझो लगाएर काठमाडौंको मेयर बन्न सफल भए । युवा जमातको अथाह प्रेम र राजनीतिक दलसँगको जनताको प्रतिरोधको पराकाष्ठा पनि भएको हो बालेन शाहको जीत भन्ने पनि तर्कहरू आए । गैरराजनीतिक व्यक्तिको राजनीतिक लहडको क्रममा काठमाडौँको मेयर बालेन पारदर्शी ढंगले अगाडि बढिरहेका छन् । उनको कार्ययोजना र कार्यान्वयनले आगामी दिनहरूमा उनको समीक्षा गर्ने नै छ । 

पत्रकार रवि लामिछाने दर्शकमाझ निकै लोकप्रिय टेलिभिजन कार्यक्रम सञ्चालक हुन् । ‘सिधा कुरा जनतासँग’बाट प्रेम बटुलेका रविले सामाजिक कार्यहरूमा पनि आफ्नो सक्रियता देखाउँदै आएका छन् । यसैबीच उनले गत हप्ता पत्रकारिता छाडेर अब राजनीतिमा आउने घोषणा गरेका छन् । जनता माझमा आइपुगेको यो समाचारले उनीप्रति जनताको मनोविज्ञान कसरी अघि बढ्छ भन्ने कुरा अब आगामी चुनावले पनि देखाउने छ । 

यसरी गैरराजनीतिक व्यक्तिहरूको राजनीतिक लहडले नेपाली समाजमा आफ्नो जरा गाडेर अघि बढ्न सक्छ वा पुराना परम्परागत पार्टीहरूको जस्तै आचरण बोकेर किनारामा पुग्छ ? उनीहरू नेपाली जनमानसको पीडा र माग सम्बोधनको निम्ति यो लहडमा सरिक भइरहेका छन् वा यसमा व्यक्तिगत पक्ष पनि हाबी छ ? के अब दलको विकल्पमा स्थानीय चुनावदेखि संघीय चुनावसम्मै स्वतन्त्रको लोकप्रियता बढेको हो ? यस्तै यस्तै प्रश्नको सिलसिला अहिले नेपाली समाजमा छाइरहेको छ । तर, लोकतान्त्रिक व्यवस्थामा दलको विकल्प स्वतन्त्र व्यक्तिहरू हुन नसक्ने बताउँछन् राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले । 

विश्लेषक वाग्ले भन्छन्, गैरराजनीतिक व्यक्तिहरूको राजनीतिमा आकर्षण हुनु राम्रो कुरा हो । बारम्बार दलहरूलाई विरोध गर्ने व्यक्तिहरू आफैँ राजनीतिमा आउनुलाई गलत भन्न मिल्दैन । तर, लोकतान्त्रिक प्रणालीमा दलको विकल्प एकल व्यक्ति हुनै सक्दैन । पछिल्लो समयको स्थानीय चुनावले स्वतन्त्रप्रतिको आकर्षण बढेको देखिए पनि यो दलको विकल्प भने बन्न सक्दैन । स्थानीय सरकार जस्तो प्रादेशिक सरकार र संघीय सरकार हुँदैन । त्यसैले दलको भूमिका नै निर्णायक हुन्छ । 

तसर्थ, जनताले अहिले पनि दलीय राजनीतिमा सुधार खोजेका हुन् न कि त्यसको विकल्प । दलको नेतृत्वमा कुशल व्यक्तिहरू आउनु र त्यसले समष्टिमा फाइदा गर्नु सबल पक्ष हो तर यसलाई स्वतन्त्रको दृष्टिबाट हेर्न मिल्दैन । समग्रमा भन्नुपर्दा, गैरराजनीतिक व्यक्ति राष्ट्रिय राजनीतिमा स्वतन्त्र भएर आउँदा भने प्रश्नवाचक चिन्ह खडा हुन्छ र त्यसको समीक्षा आगामी चुनावले पनि केही हदसम्म गर्ने नै छ, वाग्ले थप्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अग्रिम अधिकारी
अग्रिम अधिकारी
लेखकबाट थप