‘महिला स्वरोजगार हुनुपर्छ’
महिला सुरक्षा, अधिकार, उद्यमशीलताका कुरा र सूचनाको हकमा महिलाको सहभागिता विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । द्वन्द्वमा यौन हिंसा उन्मुलनको अन्तर्राष्ट्रिय दिवसको अवसरमा तारा मण्डल महिला सशक्तीकरण अभियानको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अभियानकी अध्यक्ष कुन्ती पोखरेलले संस्था मार्फत आफूहरूले महिलाको हितमा विगत लामो समयदेखि काम गर्दै आएको बताइन् । ‘महिलाहरूले कुनै व्यवसाय गर्न बैंकबाट कर्जा निकाल्नुपर्यो भने श्रीमानको हस्ताक्षर समेत आवश्यक पर्ने रहेछ । एक जना १५ करोडको व्यवसाय सञ्चालन गरिरहनुभएको महिलाले बैंकबाट एक करोड ऋण निकाल्न श्रीमानको हस्ताक्षर नभएको कारण वञ्चित हुनुपरेको अवस्था छ । यो एकदमै निन्दनीय कुरा छ,’ उनले महिलाहरू स्वरोजगार हुनुपर्नेमा जोड दिँदै उनले भनिन्, ‘महिलाहरूलाई उद्यमशीलताको बाटोमा ल्याउनुपर्छ । व्यवसायले नै जीवनस्तर उकास्न मद्दत गर्छ भन्ने ज्ञान हरेक महिलाहरूमा हुनु आवश्यक छ । हामीले देश भरका ४० बढी जिल्लाहरूमा पुगेर महिलाहरूलाई स्वरोजगार बनाउने कार्य गरेका छौँ ।’
उनले विगतको ५७ महिनामा १० हजार १३१ बलात्कारका घटना भएको उल्लेख गर्दै महिलाहरूले बाटोमा हिँड्दा सुरक्षित अनुभूति गर्न नसक्नु दुःखद भएको समेत जिकिर गरेकी छन् । त्यस्तै कार्यक्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त कमला ओलीले महिलाहरूलाई आफ्नो हक र अधिकारको विषयमा जानकारी गराएकी थिइन् ।
त्यस्तै सञ्चारिका समूहकी अध्यक्ष विमला तुमखेवाले शिक्षाले भन्दा पनि आत्मनिर्भरताले महिला हिंसा अन्त्य गर्ने बाटोमा समाजलाई लैजाने बताइन्। उनले भनिन्, ‘हामीलाई लाग्छ शिक्षाले हिंसाको अन्त्य गर्छ । तर शिक्षाले मात्रै पनि महिला हिंसाको अन्त्य गर्छ भनेर भन्न सकिने अवस्था छैन । त्यस्तो हुँदो हो त शिक्षित र विकसित देशमा महिला हिंसाको घटना नहुनु पर्ने हो । त्यसैले महिलाहरू स्वरोजगार हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ ।’
त्यस्तै कार्यक्रममा काठमाडौं महानगरपालिका ९ कि जनप्रतिनिधि सिर्जना भेटवाल, सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जीला अनिल (शर्मा), राप्रपाका केन्द्रीय सदस्यहरू सिर्जना रानी वर्मा, सरस्वती लामा, नानु नगरकोटी लामा, स्वाती थापा र मधेसी आयोगकी प्रतिनिधि रेणुदेवी साह लगायतको उपस्थिति रहेको थियो ।