बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

संसदीय समितिलाई देउवाको जवाफ : औपचारिक तय भएपछि मात्र भ्रमणबारे जानकारी गराइनेछ

आइतबार, ०५ असार २०७९, १६ : ५०
आइतबार, ०५ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरुपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् ।  नेपाली काँग्रेसका सचेतक पुष्पा भुसालसँगको भेटका क्रममा उनले भ्रमण तय भएपछि मात्र संसदलाई जानकारी गराउने बताएका हुन् ।

छलफलमा प्रधानमन्त्री देउवाले सदन वा संसदीय समितिमा आएर औपचारिक रूपमा जानकारी गराउने इच्छा व्यक्त समेत गरे । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका सम्बन्धमा जानकारी लिन प्रधानमन्त्री देउवालाई समिति बैठकमा बोलाएको सन्दर्भमा समिति सदस्यसमेत रहेकी सचेतक भुसालले आज उनीसँग भेट गरेकी थिइन् ।

समितिको यसअघिको बैठकमा परराष्ट्रमन्त्री डा.नारायण खड्काले प्रधानमन्त्रीको अमेरिका भ्रमणका सम्बन्धमा प्रारम्भिक छलफल भएको तर अन्तिम टुङ्गो लागिनसकेको स्पष्ट पारेका थिए । समितिले नेपालको परराष्ट्र नीति कार्यान्वयन र प्रधानमन्त्रीको भ्रमणका सम्बन्धमा छलफल गर्न आज बैठक बोलाएको थियो । प्रधानमन्त्री देउवा आफ्नो कार्य व्यस्तताका कारण बैठकमा उपस्थित हुन नसकेको बताइएको छ ।

बैठकले प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीबारे छलफल र जानकारीका लागि प्रधानमन्त्री÷रक्षामन्त्रीलाई आगामी बैठकमा पुनः आमन्त्रण गर्ने निर्णय गरेको समिति सभापति पवित्रा निरौला (खरेल) ले जानकारी दिइन्। साथै बैठकले समितिको प्रतिवेदन, २०७९ आवश्यक परिमार्जन समिति पारित गरेको छ । 

बैठकमा बोल्ने अधिकांश समिति सदस्यले अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सन् २०१९ पछि अमेरिकाकै ‘इण्डो प्यासिफिक रणनीति’ मा आबद्ध भएको प्रतिवेदनमा उल्लेख भएपछि नेपाल त्यसबाट फिर्ता हुन नेपाल सरकारले पत्र लेख्नुपर्ने सुझाव दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप