बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

मन्त्री नफेरिकन बाबुरामलाई रोक्ने उपेन्द्रको रणनीति

सोमबार, ०६ असार २०७९, ०० : ०५
सोमबार, ०६ असार २०७९

जनता समाजवादी पार्टी नेपाल (जसपा)मा मन्त्री फेर्नका लागि दबाब बढेको छ । पार्टीभित्र आन्तरिक विवाद चुलिरहेका बेला अध्यक्ष यादवमाथि मन्त्रीहरुको हेरफेरका लागि दबाब बढेको हो ।  आन्तरिक विवादकै बीच  दुई पक्षका नेताहरुले आआफ्नो पक्षमा बहुमत पुर्याउन दौडधुप गर्दै आएका छन् । 

जसपा संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले आफूसँग बहुमत रहेको भन्दै तीव्र दौडधुप गर्दै आएका छन् । यस्तै रक्षात्मक अवस्थामा रहेका यादवले पनि आफ्नो पक्षमा माहोल बनाउन रणनीतिक योजना बनाइरहेका छन् ।  उनले यो बीचमा सांसदहरुसँग एकपछि अर्को छलफल गर्दै आएका छन् । 

यादवले केही दिन पहिले बानेश्वरस्थित संसद भवनमा पार्टीका सांसदहरुको भेला गरेका थिए । सांसदको मुड थाह पाउनका लागि बोलाइएको बैठकमा बहुमत सांसदले मन्त्री फेर्न सुझाव दिएका थिए । ‘तपाईंले त ६ महिनापछि मन्त्री फेर्ने भन्नुभएको थियो, १० महिना भइसक्यो अहिलेसम्म किन फेर्नुभएन ?’ उनीहरुले भनेका थिए, ‘पार्टीको निर्णय एकातिर कार्यान्वयन अर्कोतिर किन भइरहेको छ ?’

उनीहरुले जसलाई सरकारमा पठाएपनि ढिलाइ भने गर्न नहुनेमा जोड दिएका थिए । जसपाका सांसद सुरेन्द्र यादवले ६–६ महिनामा मन्त्री फेर्ने निर्णय पार्टीमा भएको स्मरण गरे । सो छलफलमा आफूहरुले विगतको निर्णय कार्यान्वयन गराउन आग्रह गरेको बताए । बैठकमा बाबुराम भट्टराई, राजकिशोर यादव, महेन्द्र राय यादवबाहेक सबै सांसद थिए । हाल मन्त्रिपरिषद्मा रहेका रेणु यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव बाहेकका सबैजनाले एकस्वरमै मन्त्री फेरिनुपर्ने कुरा उठाएका थिए । 

तर अध्यक्ष यादवले यसबारे स्पष्ट जवाफ दिएनन् ।  उनले अहिले राजनीतिक उथलपुथल अवस्थामा रहेकाले थप छलफल गरि कुनै निर्णय लिने आश्वासन दिएका थिए । पछिल्लो समय मन्त्री फेर्ने कुरा जसपामा यादवका लागि ठूलो टाउको दुखाइको विषय बनेको छ भने संघीय परिषद्का अध्यक्ष भट्टराईका लागि त्यो अवसर बनेको छ । भट्टराई पार्टी कब्जा गर्ने रणनीतिका साथ अघि बढ्दै गर्दा यादवले भने मन्त्रीहरुको हेरफेर पनि नगर्ने बरु भट्टराईलाई रोक्दै पार्टीलाई जोगाउने रणनीतिमा छन् । 

तर, यो रणनीतिका बीच पनि यादवलाई सहज भने छैन । एक सांसदले भने, ‘यादवले मन्त्री फेर्न जति समय लगाउनु हुन्छ, त्यति त्यति भट्टराई बलियो हुँदै जानुहुन्छ ।’ उनका अनुसार अहिले संसदीय दलमा बाबुराम भट्टराई बलियो अवस्थामा छन् ।  तर मन्त्रीका कारण हस्ताक्षर गरेका छैनन् । यादवले मन्त्री हेरफेर गरे भने बाबुरामका पक्षमा रहेका सांसदहरु पनि उपेन्द्रको पक्षमा जान सक्ने ती नेताको आँकलन छ ।  ‘यदि फेरिएन भने अन्त्यमा हस्ताक्षर गरेर बाबुराम भट्टराईतिर जाने सम्भावना रहेको छ, त्यसैले बल उपेन्द्र यादवको कोर्टमा छ’, ती सांसदले भने, ‘अहिलेका सांसदमध्ये कम से कम चारजना नयाँ सांसद त मन्त्री बन्न पाउँछन्, एक चरण मन्त्री फेर्ने काम भयो भने पार्टीमा केही समयका लागि विवाद आफै समाधान हुन्छ ।’

तर यादव पार्टीमा देखिएको विवादलाई कुनै न कुनै रुपमा मिलाउन चाहन्छन् । भट्टराई, राजकिशोर यादव, महेन्द्रराय यादवले पार्टी छाडेर गएपनि फरक नपर्ने तर पार्टी भने जोगाउने उनको रणनीति रहेको बताइन्छ ।  अहिले मन्त्री हेरफेर गरे पार्टीमा पुनः अर्को लफडा सुरु हुने र अर्को असन्तुष्ट समूहको जन्म हुने यादवको बुझाइ छ । 

यसैबीच केन्द्रीय समितिलाई जोगाउन सकियो भने पार्टी आफ्नो पक्षमा रहन्छ भन्ने बुझाइका साथ यादवले केन्द्रीय समितिका सदस्यहरुलाई एक एक गरेर सम्पर्क गरिरहेका छन् ।  यादवले भट्टराई पक्षमा रहेका केन्द्रीय सदस्यलाई स्थानीय चुनावमा पार्टी हितविरीतको गतिविधि गरेको आरोप लगाउँदै कारबाही गरेर त्यो ठाउँमा आफ्नो पक्षका मान्छे राख्ने सोच समेत बताएको उनी निकट एक केन्द्रीय सदस्यले बताए ।  त्यसका लागि उनले जिल्ला जिल्लाबाट चुनावी समीक्षा प्रतिवेदन मगाइरहेका छन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप