आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गठबन्धनको गीत गाउन बन्द गरेर शक्ति बढाउन लाग्नुपर्छ :नेपाल

आइतबार, ०५ असार २०७९, १५ : १६
आइतबार, ०५ असार २०७९

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन भएकै कारण आफ्नो पार्टीले स्थानीय तह निर्वाचनमा महानगरपालिकामा उपस्थिति जनाउन सफल भएको बताएका छन् । आइतबार सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले निर्वाचन आयोगले आफूहरुसँग गरेको प्रतिवद्धता पूरा नगरेका कारण आफ्नो पार्टीबाट उम्मेदवारी दिएका काठमाडौं महानगरको उपप्रमुख तथा केही उपमहानगरमा उपप्रमुख पदका उम्मेदवार पराजित भएको बताए ।

उनले भने, ‘उम्मेदवार भएकाहरुको मात्र चुनाव चिह्न राखेर मतपत्र छपाइ गरेको भए मत बदर हुने थिएन ।’ आयोगले महानगर र उपमहानगरमा उम्मेदवारी परेकाहरुको मात्र चुनाव चिह्न समेटेर मतपत्र छपाइ गर्ने प्रतिबद्धता जनाए पनि त्यो प्रतिवद्धता पूरा नगरेका कारण ठुलो संख्यामा मत बदर भएको उनको भनाइ थियो ।

उनले पाँच दलको गठबन्धनको वृहत बैठक आयोजना गर्ने र अहिले विवाद सिर्जना भएका विभिन्न विषयमा गम्भीर छलफल गरेर सबै कुरा प्रस्ट पार्ने सहमति भएको बताए । अब निर्वाचनको तयारीमा जुट्नुपर्ने भन्दै उनले सम्भवतः ६ महिनाभित्र चुनाव हुने भएकाले पनि चुनावको तयारीमा सबै एकजुट हुनुपर्ने बताए ।

उनले गठबन्धन छ भनेर ढुक्क भएर नबस्न पनि कार्यकर्तालाई अपिल गरे । गठबन्धनको गीत गाउन बन्द गरेर आफ्नो शक्ति बढाउन केन्द्रित हुन उनले कार्यकर्तालाई सुझाव दिए । उनले भने, ‘७५३ पालिकामा पार्टी संगठन विस्तार गर्नुस् । बुथबुथ तहसम्म कमिटी निर्माण गर्नुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप