शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

एन्फा चुनावमा आर्थिक चलखेल रोक्न निर्वाचन समितिलाई असहयोग

आइतबार, ०५ असार २०७९, १४ : ४३
आइतबार, ०५ असार २०७९

अखिल नेपाल फुटबल संघ (एन्फा)को चुनाव सोमबार हुँदैछ । चार वर्षे कार्यकालका लागि नेपाली फुटबलले नयाँ नेतृत्व पाउँदैछ । नयाँ नेतृत्वका लागि अध्यक्षदेखि लिएर सदस्यसम्मका पदका लागि ठूलो धनराशि खर्चेर मत आफ्नो पक्षमा पार्न सबै लागि रहेका छन् ।

यस्तो समयमा निर्वाचन समितिले आर्थिक चलखेल भएको विषयलाई प्राथमिकताका साथ निगरानीमा राखेको  छ । तर, एन्फामा महासचिव र कर्मचारी नै चुनावी माहोलमा होमिँदा निर्वाचन समितिलाई नियमन गर्न सकस परेको छ ।

निर्वाचनमा हुने आर्थिक चलखेललाई खासमा एन्फाको ‘इथिक्स’ कमिटीले नियमन गर्नु पर्ने हो । तर, एन्फामा ‘इथिक्स’ कमिटी छैन । केही सदस्य नभएको र भएकाले पनि राजीनामा दिएका कारण ‘इथिक्स’ कमिटी नभएको हो । इथिक्स’ कमिटीको अनुपस्थितिमा श्रीराम डटाडीको अध्यक्षतामा रहेको निर्वाचन समितिले  आर्थिक चलखेलको विषयमा नियमन गर्नुपर्ने भएको हो । तर, समितिमा निवेदन नपर्दा कुनै खाले अनुगमन हुने अवस्था छैन ।

समितिका सदस्य दामोदर भट्टराईले आर्थिक चलखेलको विषयमा आफूहरुले नगर्नु भन्ने कुरा मात्र भएकाले नैतिक रुपमा पदाधिकारीले आफै बुझ्न सकेमा सहज हुने बताए । ‘आर्थिक चलखेल रोक्न असहज छ । हामीले आर्थिक चलखेल नगर्नु भनेर आचार संहिता बनाइदिएका छौं । त्यसमा उहाँहरुले नैतिक हिसावले बुझ्ने मात्र हो । हामी मुद्दा दर्ता भएमा भने नियमन गर्छाैँ,’ उनले रातोपाटीसँग भने ।

एन्फाका महासचिव र कर्मचारीबाट आफूहरुलाई सहयोग नभएको  निर्वाचन समितिको गुनासो छ।  एन्फाका महासचिव इन्द्रमान तुलाधरले कर्मा छिरिङ शेर्पा प्यानललाई सहयोग गरिरहेका छन् । यसबारे उनलाई प्रश्न गर्दा आफूले संकटा क्लबको अध्यक्षको रुपमा सहयोग गरिरहेको जिकिर गरे । 

यता एन्फाका कर्मचारीहरु पनि चुनावमा व्यस्त छन् । उनीहरु आफू निकटलाई सहयोग गर्न ध्याउन्नमा छन् ।  ‘आर्थिक चलखेलको विषयमा हामीले नियमन गरिरहेका छौं । निर्वाचनको समयमा एन्फाका महासचिव र कर्मचारी स्वतन्त्र रुपले बस्नु पर्ने हो । तर, उहाँहरु नै चुनाव प्रचारमा छन्,’ निर्वाचन समितिका एक सदस्यले रातोपाटीलाई भने । 

 यस पटकको निर्वाचनमा अध्यक्ष पदका लागि कर्मा छिरिङ शेर्पा, पंकज नेम्वाङ र राजीव पौड्यालको दावेदारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप