गन्धर्व बस्तीको नाम फेरियो, परिस्थिति उस्तै
सारङ्गी रेट्दै गाउँगाउँ डुलेर समाजका विभिन्न घटना, पौराणिक विषयलाई मौलिक भाकामा सुनाउँदै हिँड्ने गन्धर्व (गाइने) जाति अचेल जीविकोपार्जनका लागि वैकल्पिक पेसा अँगाल्न बाध्य भएका छन् । सारङ्गीको तालमा सुमधुर भाका हालेर विभिन्न घटनालाई गाउँगाउँ डुलेर सुनाउँदै हिँड्ने बौद्धिक श्रम छाडेर अचेल गन्धर्वहरू शारीरिक श्रम गर्दै गुजारा चलाउन थालेका छन् ।
नयाँ पुस्तामा सारङ्गीप्रतिको मोह घट्दै गएको र गाउँगाउँ डुलेर गीत गाउनुभन्दा अन्य रोजगारीका माध्यमबाट आय आर्जन गर्नु नै उचित लाग्न थालेपछि सारङ्गीका धुन सुस्ताएका हुन् । घोराही उपमहानगरपालिका–११ स्थित नयाँ बस्तीमा करिब डेढ सय घरधुरी गन्धर्वहरुको बसोबास छ ।
यीमध्ये धेरैजसोले पुर्ख्यौली पेसा छाडिसकेका छन् । उनीहरुमध्ये धेरैजसो काठमाडौं उपत्यकामा शारीरिक श्रमका लागि जाने गर्दछन् । कतिपय त स–परिवार नै श्रमका लागि जाने गर्दछन् । त्यसैले सो बस्तीका कयौं घरमा ६ महिना ताला लाग्छ ।
दसैँ तिहार मानेर इँटाभट्टामा काम गर्न काठमाडौं जाने, बर्खा लागेपछि घर फर्कने उनीहरुको नियति नै बनेको छ । सम्पत्तिका नाममा घरवास बाहेक अरु केही नभएका गन्धर्व बस्तीका बालबालिका शिक्षाको अवसरबाट पनि वञ्चित छन् ।
गन्धर्व बस्ती अर्थात् (गाइने डेरा) भनेर चिन्ने गरिएको यो बस्तीको नाम फेरेर अहिले ‘नयाँ बस्ती’ भन्न थालिएको छ । बस्तीको नाम फेरिए पनि त्यहाँ बस्नेको पीडा र अवस्था फेरिन सकेको छैन । स्थानीय उषा गन्धर्व भन्छिन्, ‘सम्पत्तिको नाममा घरबाहेक केही छैन । ६ महिनाको कमाइले बाँकी ६ महिना बाँच्नु हाम्रो बाध्यता हो ।’
बर्खा लागेपछि घर, हिउँद लागेपछि ईटा भट्टातिर रोजगारीका लागि जाने गरेको उनको भनाइ छ । सारङ्गी रेट्ने कला सबैजसो गन्धर्वको हातमा छ तर समाजले गन्धर्वको जातीय पेसा र सीपलाई सम्मान गर्न नसक्दा बाध्यताबस गन्धर्वहरू ज्याला मजदुरी गर्दै आत्मसम्मानका साथ बाँच्ने विकल्पतर्फ अग्रसर भएको उनले बताइन् ।
सारङ्गी रेटेर गुजारा चलाउनका लागि परिवार नै घर छाडेर हिँड्नु पर्दैनथ्यो । त्यतिबेला घरका पुरुषहरु सारङ्गी बोकेर विभिन्न जिल्ला, सहर चाहर्थे र कमाएर केही महिनापछि घर फर्कन्थे । तर शारीरिक श्रमका माध्यमबाट गुजारा चलाउन थालेपछि भने एक जनाको कमाइबाट परिवारका अन्य सदस्यको खर्च धान्न मुस्किल भएपछि घर नै खाली गरेर उनीहरु सहर पस्न थालेका छन् । जसले गर्दा बालबालिकाले शिक्षाको अवसर पाउन सकेका छैनन् ।
‘गरिबीले वर्षको आधा समय बाहिर, आधा समय घरमा बिताउनु परेको छ,’ उषाले रातोपाटीसँग भनिन्, ‘छोराछोरीले पढ्न नपाउने भए ।’
‘पुर्जा देउ सरकार !’
०२८ सालमा खड्ग, मागे, ज्ञानसिंह, सिले सन्चु र खुनीराम गन्धर्व सल्यानबाट आएर यो बस्तीमा बस्न थालेका हुन् । ‘यो बीचमा मुलुकमा राजनीतिक परिवर्तनका कयौं घटना भए, त्यो परिवर्तनले हाम्रो गाइने बस्तीको नाम, रुप–रङ फेर्यो । तर बस्तीको अवस्था अझै उस्तै छ,’ स्थानीय खड्ग गन्धर्व भन्छन्, ‘६ परिवारको बसोवासबाट उठेको बस्ती अहिले एक डेढ सय पुगिसक्यो तर पहिला जस्तो थियौं, अहिले पनि त्यस्तै अवस्थामा छौं, न खानेपानीको धारा आयो, न बाटो आयो, न रोजगार पायौं, न पढ्न लेख्न पायौं । न पुर्जा पायौं ।’
आफूहरु बसोबास गर्दै आएको जग्गाको पुर्जा पाउन सके त्यही पुर्जा धितो राखेर भए पनि केही काम गर्न सकिन्थ्यो कि भन्ने आश रहेको उनले सुनाए । तर पुर्जा नपाउँदा व्यापार–व्यवसायका लागि पुँजी अभावले गर्दा श्रम गर्न बाध्य हुनुपरेको उनको भनाइ छ ।
आफूहरु २८ सालदेखि बसोबास गर्दै आइरहे पनि नेताहरुले लालपुर्जाको आश्वासन मात्रै दिँदै आइरहेको उनले सुनाए । उनले थपे, ‘गरिबीले मैले पनि पढ्नलेख्न पाइनँ, मेरा नातीको पीडा पनि त्यही गरिबी नै बन्यो ।’
‘सरकारले छानो दियो, मानो रित्तै’
विपन्न दलित समुदायका लागि सुरक्षित बसोबास उपलब्ध गराउने उद्देश्य नेपाल सरकारले जनता आवास कार्यक्रम मार्फत गन्धर्व बस्तीमा हालसम्म ८० वटा भूकम्प प्रतिरोधक घर निर्माण गरेको छ । यसले गर्दा उनीहरुलाई बसोबासको समस्या त टरेको छ तर गाँसको पीडा कायमै छ ।
सरकारले छानो दिए पनि मानोको जोहो गर्न ज्याला मजदुरी गर्नु नै एकमात्र विकल्प रहेको स्थानीय मनिषा गन्धर्वको भनाइ छ । ‘सरकारले छानो त दियो, मानोको जोहो गर्ने सिप पनि दिन सके ढोका बन्द गरेर इँटाभट्टामा काम गर्न जानुपर्ने बाध्यताबाट मुक्ति पाइन्थ्यो कि भन्ने उनको अपेक्षा छ ।
‘व्यावसायिक अनुदान वा लगानी पाए, पशुपालनका लागि उचित योजना र लगानीको अवसर राज्यले हामीलाई दिए भट्टामा गएर भारी बोक्नुपर्ने थिएन,’ उनले भनिन्, ‘छोराछोरीले स्कूल छोड्नुपर्ने थिएन । साँझ बिहान के खाऔं भन्ने पनि चिन्ता हुन्थेन ।’
‘दिनको दुई छाक खान र एक सरो लुगा लगाउन यति कष्ट भइरहेको अवस्थामा छोराछोरीलाई पढाउने सामर्थ्य आफूहरुसँग नरहेको उनी बताउँछिन् । ‘गरिबका छोराछोरीलाई पढ्न पैसा लाग्दैन भन्छन्,’ उनले भनिन्, ‘बेला बेलामा स्कूलमा पैसा माग्छन् । बरु आफूसँगै काममा केटाकेटी गए केही रुपैयाँ भए पनि कमाउँछन् ।’
गरिबीकै कारण विद्यालय जान छाडेका मनोज गन्धर्व आफूले जेनतेन ४ कक्षासम्म पढेको बताउँछन् । उनले भने, ‘कयौं दिन भोकै पनि स्कूल गएँ, भोको पेटले स्कुलभन्दा काम खोज्यो । स्कूल छोडी कामको खोजीमा लागेँ ।’
मनोज मात्रै होइन, नयाँ बस्तीमा यस्तो पीडा भोग्ने धेरै बालबालिका छन् जो गरिबीका कारण स्कूल छोडेर काठमाडौं, भारतका विभिन्न सहर पुगेर श्रम गर्न बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगराइनकाे नगरसभा नहुँदा शिक्षक तथा कर्मचारीले तलबसमेत पाएनन्
-
नेपाल जलवायु अनुकूलन कोषको सदस्यमा पुनः मनोनीत
-
रिसव गौतमको पुस्तक ‘मौलिक अर्थतन्त्र’ बजारमा
-
गढीमाई मेलामा दिइने पशुबली निरुत्साहन गर्न ध्यानाकर्षण
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक