बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

‘एमसीसीजस्तै एसपीपी पनि व्याख्यात्मक घोषणा गरेर पास गर्न खोजिएको त होइन ?’

आइतबार, ०५ असार २०७९, १३ : २९
आइतबार, ०५ असार २०७९

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेलले एमसीसी जस्तै एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास गर्न खोजिएको त होइन भनेर प्रश्न उठेकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई समितिमा बोलाइएको बताएकी छन् । समितिले एसपीपी सम्झौता र प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणबारे छलफलसहित प्रस्ट पार्न आइतबार प्रधानमन्त्री देउवालाई बोलाएको थियो । 

‘एमसीसी व्याख्यात्मक घोषणासहित पास भयो र एसपीपी पनि व्याख्यात्मक घोषणासहित पास हुने त होइन ? जनताले यो आवाज उठाइरहेका छन्’, सभापति खरेलले भनिन्, ‘विभिन्न ठाउँबाट व्याख्यात्मक घोषणासहित पास नहोस् है यो भनेर आइरहेको छ ।’ उनले यस्ता प्रश्नहरु आइरहेकाले देशको प्रधानमन्त्रीकै मुखबाट त्यसबारे धारणा सुन्न समितिले बोलाएको बताइन् ।

उनले २०१५ मा अमेरिकाले एसपीपीबारे प्रस्ताव राख्दा आइपीएसको कुरा नउठेको भन्दै विस्तारै विभिन्न जोड कोणबाट अनेकौं प्रस्ताव अमेरिकाले छिराउने प्रयास गरेको बताइन् । उनले भनिन्, ‘यो गलत छ । यस्तो कुरामा हामीले कुनै हालतमा सहि गर्न हुँदैन भनेर हामीले सरकारलाई घच्घच्याउन पाउनुपर्छ ।’

त्यस्तै उनले एसपीपी लागू गर्दा संविधान र परराष्ट्र नीतिको बर्खिलाप हुने बताइन् । तर प्रधानमन्त्री देउवा अन्तिम समयमा बैठकमा सहभागी नभएपछि समितिकै अपमान गरेको आफुलाई महशुस भएको भन्दै सभापति निरौलाले दुःख व्यक्त गरिन् । त्यसक्रममा काँग्रेस सांसद पुष्पा भुसालले अपमान शब्दको विरोध गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप