ल्यान्डफिल साइटमा लगेर फाल्ने काम मात्रै होइन फोहोर व्यवस्थापन
आम जीवन बिताउने घरमा फोहोर नहुने भन्ने नै हुँदैन । जहाँ घर र घरायसी काम हुन्छ, त्यहाँ फोहोर उत्पादन हुन्छ नै । यद्यपि, फोहोरको निम्ति विश्वभर नयाँ नयाँ तरिकाले यसको व्यवस्थापन गर्न खोजिन्छ र खोजिएको छ । विकसित मुलुकको हकमा पनि फोहोर व्यवस्थापन चुनौती नै छ । केही वर्ष अघिको अनुसन्धानले विश्वभर सन् २०२० हुँदै २०५० सम्म पुग्दा वार्षिक लगभग ४ खर्ब टन फोहोर उत्पादन हुने अनुमान गरिएको छ । यसरी बढ्दो शहरीकरण र जनसंख्याका कारण फोहोर व्यवस्थापन चुनौतीको विषय बनेको छ । तर, विकसित मुलुकहरुले लामो समयदेखि अपनाएको सजगता र तरिकाका कारण फोहोर व्यवस्थापनमा उनीहरु अब्बल साबित भइ राखेका छन् । यद्यपि, नेपाल जस्तो मुलुकले यसबाट पाठ सिक्न सकेको छैन ।
फोहोर व्यवस्थापन नेपालमा मात्र नभएर विश्वको हकमा नै एक जटिल विषय जरुर हो । तर, नेपाल भन्दा कयौँ मात्रामा बढी फोहोर उत्पादन हुने देशहरुमा भने यी खालका विवाद र प्रसंग उठ्दैन । यस्ता प्रसंग नउठ्नुमा उनीहरुले फोहोर व्यवस्थापनका लागि बनाएको बलियो नीति नै हो । अमेरिकाको न्यूयोर्क, क्यानडाको टोरोन्टोलगायत युरोपका पनि निकै शहरहरुमा फोहोर दैनिक सयौं टन उठ्छ । तर, त्यसको उचित व्यवस्थापन पनि हुन्छ ।
माथि चर्चा गरिएका देश र सहरहरुले जनताको निम्ति नियम बनाएका छन् । जस्तै कुहिने फोहोर र नकुहिने फोहोर छुट्टाछुट्टै बाकसमा राखेका छन् । यसरी जनता आफैँ यी विषयमा सचेत भए फोहोर व्यवस्थापनमा सहज हुन्छ । १० औँ हजार टन फोहोर उत्पादन हुने न्यूयोर्क लगायतका सहरले जनतालाई बढी फोहोर उत्पादन गर्न नै हतोत्साहित गर्छ । त्यसैले जनता फोहोर न्युनिकरणमा विशेष ध्यान पुर्याउँछन् ।
हालै अमेरिकाबाट नेपाल भ्रमणको क्रममा आएकी एक अमेरिकी नागरिक लारा सियन्स भन्छिन्, ‘हामी आफैँ फोहोर कसरी कम मात्रामा सिर्जना गर्ने भन्ने विषयमा सचेत छौँ । कुहिने फोहोर आफैँ मल बनाउँछौँ र किचेन गार्डनमा प्रयोग गर्छौँ । यसले एक खालको फोहोर आफैँ कम हुन्छ । नकुहिने फोहोरलाई पनि सफा झोला, जुन सरकारको मापदण्ड अनुरुप पर्छ, त्यसलाई प्रयोग गरेर रिसाइकल गर्न मिल्ने अवस्थामा राखेर मात्रै फाल्छौँ । यसरी सहरबाट निस्किने अधिकांश फोहोर मल बन्छन् । पुनः प्रयोगमा आउन सक्ने वस्तु पनि बन्छन् ।’ आफ्नो अनुभव सुनाउँदै गर्दा अमेरिकाको डिसी राज्यस्थित भर्जिनियाकी बासिन्दा लारा निकै खुसी थिइन्, उनको सरकारले फोहोर व्यवस्थापनको निम्ति चालेको कदममाथि ।
नेपालको परिप्रेक्षमा फोहोर
फोहोर व्यवस्थापन यसै गरी गरिन्छ भन्ने कालो वा सेतो रंगझैँ छुट्याउन मिल्दैन । किनभने फोहोर व्यवस्थापन फलानो देशले यसरी गरेको छ, अब हामी पनि त्यसै गरी गरौँ भन्ने हुँदैन । यसरी त्यसलाई हेर्न वा गर्न खोजियो भने व्यवस्थापन झन् कुरुप हुन सक्ने धारणा राख्छिन् प्लाष्टिक व्यवस्थापनबारे अनुसन्धानरत मिरा लामिछाने ।
बैंककस्थित एसियन इन्सटिच्युट अफ टेक्नोलोजीबाट सामुद्रिक प्लास्टिक व्यवस्थापनमा स्नातकोत्तर गरिरहेकी लामिछाने भन्छिन्, फोहोर व्यवस्थापनको विषयसँगै आउने पहिलो विषय हो विहेवियर अफ पिपुल अर्थात् जनताको स्वभाव । अमेरिका वा अन्य देशका जनताको स्वभाव र नेपाली जनताको स्वभावमा अन्तर हुने भएकाले फोहोर व्यवस्थापन पनि फरक रुपमा हुनुपर्छ । फोहोरको प्रकारसँगै त्यसलाई विस्थापित गर्ने तरिकाको बारेमा पनि कुरा गर्नुपर्छ । उक्त देशमा चलिरहेको प्रणाली के हो र जनताको फोहोरसम्बन्धी चेतनाको स्तर कहाँ छ भन्ने कुराले नै फोहोर व्यवस्थापनमा विशेष टेवा पुर्याउने काम गर्छ ।
घरायसी काम, औद्योगिक क्षेत्र, बजारबाट निस्किएका फोहोरलाई सोलिड वेस्ट भनिन्छ भने नाला र ढल यसमा पर्दैनन् । नेपालको सन्दर्भमा हामीले बुझ्नुपर्छ कि फोहोरको प्रकार नै फरक हुन्छ, विश्वका अरु देशहरुको तुलनामा । नेपालमा लगभग ७० प्रतिशत अर्गानिक फोहोर हुन्छन् भने बाँकी मात्र अन्य फोहोर हुने हो । जबकि अन्य देशमा अर्गानिक फोहोर निकै कम हुन्छ र सुख्खा फोहोर धेरै हुन्छ । झट्ट हेर्दा फोहोर व्यवस्थापन सामान्य देखिए पनि यसका आफ्नै प्राविधिक पक्ष छन् । अब अर्गानिक फोहोर सजिलै कुहिने भएकाले त्यसको निम्ति के प्रावधान ल्याउने त ? ध्यान त्यतातिर जान जरुरी छ, लामिछानेको जिकिर छ ।
लामिछानेका अनुसार वातावरणले पनि फोहोर व्यवस्थापनमा असर पुर्याउँछ । पानी धेरै पर्ने ठाउँमा फोहोरको तौल बढ्छ र त्यसको मापन नै फरक किसिमले हुन्छ । फोहोरलाई खुला ठाउँमा राख्दा र घरभित्र राख्दा मात्रै पनि व्यवस्थापनमा फरक पर्छ । उक्त ठाउँको वातावरण र मौसमको आधारमा पनि फोहोर राख्ने तरिकामा परिवर्तन ल्याउनुपर्छ । यसरी अर्काले गरेझैँ गर्न खोजियो भने व्यवस्थापन धरापमा पर्छ । हरेक कोणबाट फोहोर व्यवस्थापन हेर्नुलाई इन्टिग्रेटेड सोलिड वेस्ट मेनेज्मेन्ट भनिन्छ ।
फोहोर व्यवस्थापनमा थ्रि आर अर्थात् रिड्युस, रियुज र रिसाइकल महत्वपूर्ण हुन्छ । नेपालमा सबैभन्दा बढी काठमाडौं उपत्यकामा फोहोर जम्मा हुन्छ । काठमाडौं महानगरका मेयर बालेन शाहले सुख्खा फोहोरलाई इनसिनेरेसन गर्ने भनेका छन् । इनसिनेरेन भनेको एउटा भाँडोभित्र सुख्खा फोहोरलाई राखेर त्यसलाई टेक्नोलोजीको मद्दतबाट जलाएर खरानी बनाउने प्रविधि हो । विकसित मुलुकमा यसको प्रयोग हुने गरेको छ र उनीहरुले त यसबाट पुनः उर्जा पनि निकालिरहेका छन् । तर, आम मानिसको बानी, व्यवहार र मौसमलाई केन्द्रमा नराखी नेपालमा यो गर्न खोजियो भने निकै कठिन हुन्छ ।
फोहोर व्यवस्थापन, अर्थ र जनता
इपिआर अर्थात् एक्सटेन्डेड प्रोड्युसर रेस्पन्सिबिलिटी, यस अन्तर्गत पर्छ आफूले उत्पादन गरेको सामग्रीबाट निस्किने फोहोरको आफैँले गर्नुपर्ने व्यवस्था । कुनैपनि उद्योगीहरुले आफूबाट उत्पादन हुने सामग्रीको फोहोर व्यवस्थापनमा दिनुपर्ने ध्यान । भारतमा यस किसिमको प्रणालीको सुरुवात भइसकेको छ तर नेपालका सम्बन्धित निकाय चुपचाप बस्नु दुःखद पक्ष हो ।
मिरा लामिछानेको विचारमा जनताले आफूलाई र आफ्नो सोच्ने शैलीमाथि ठुलो परिर्वतन ल्याउनुपर्छ । नट इन माइ ब्याकयार्ड (निम्बी) को सोँच पालेर बस्नेले फोहोर व्यवस्थापनमा राज्यलाई सघाउन सक्दैनन् । निम्बी भनेको फोहोर व्यवस्थापन चाहिँ हुन पर्यो तर मेरो वरपर वा बगैँचामा फोहोर रहिरहन भएन भन्ने खालका सोच हो । यस्तो साँगुरो सोच पालेर बस्नेले अब फोहोर व्यवस्थापनमा आफ्नो सोच फराकिलो बनाउनै पर्छ । एकचोटि उत्पादन भइसकेपछि पुनः उत्पादनको निम्ति सीमित रहेका कागज, प्लस्टिक लगायत सामग्रीलाई हामीले रिसाइकल गर्न सक्नुपर्छ । किनभने यसले सर्कुलर इकोनोमी अर्थात् घुमाउरो अर्थतन्त्रमा पनि ठुलो टेवा पुर्याउँछ । तसर्थ हामीले कसैको देखासिकी भन्दा पनि सबै कोणबाट अनुसन्धान गरेर आफ्नो देशको फोहोर व्यवस्थापन गर्न जरुरी छ ।
फोहोर व्यवस्थापन गर्ने भनेको ल्यान्डफिल साइटमा लगेर फोहोर फाल्ने मात्र हैन । जर्मनी, ब्राजिल, कोरिया लगायतका देशहरुले पनि एक तिहाइ फोहोरलाई रिसाइकल गर्छन् र केही प्रतिशतलाई मल बनाउँछन् भने त्यस पछिकोलाई मात्र पूर्ण रुपमा डम्पिङ साइटमा लगेर फाल्ने गरेका छन् । फोहोर भन्ने वित्तिकै फाल्ने मात्र बुझेका नेपाली जनमानसले पनि यो कुरा बुझ्न अत्यन्तै जरुरी छ । सोलिड वेस्ट मेनेजमेन्टमा स्नातकोत्तर गरेकी स्नेहा दाहालका अनुसार नेपालमा फोहोरको वर्गीकरण नगर्दा फोहोरको उचित व्यवस्थापन हुन सकेको छैन । हामीले अब फोहोर व्यवस्थापनको नीति तथा कार्यक्रम ल्याउनु सँगै कुहिने र नकुहिने फोहोरहरु अलग्गै राख्ने जनतालाई सचेतना कार्यक्रम ल्याउन अत्यन्तै जरुरी छ । जनता सचेत भए मात्र मात्र ल्याइएका योजना र कार्यक्रम सफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या