अमेरिकाद्वारा २२ लाख कोरोना खोप नेपाललाई प्रदान
अमेरिकाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न २२ लाख मात्रा कोरोना खोप प्रदान गर्ने भएको छ । यी सबै खोप बालबालिकाको प्रयोगको लागि भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।
‘५ देखि ११ वर्ष सम्मका बालबालिका लक्षित यी अत्यन्त प्रभावकारी, जीवन रक्षक खोप अमेरिकी जनताको उदारतामार्फत प्रदान गरिएका हुन् र यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपका २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल–मात्रा खोपको १५ लाख मात्रामा थपिने छन्,’ अमेरिकी दूतावासद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
अनुदानले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वासले दूतावासले लिएको छ ।
‘कोभिड–१९ महामारीको सुरुवातदेखि नै यस विरुद्ध लड्न, अत्यावश्यक स्वास्थ्य सेवाहरूको निरन्तरता सुनिश्चित गर्न र यस महामारीका सामाजिक तथा आर्थिक प्रभावहरू – विशेषतः शिक्षा र जीविकोपार्जनमा – न्यूनीकरण गर्न नेपाललाई मद्दत गर्न अमेरिकी सरकारले नेपाल सरकारसँग प्रत्यक्ष रूपमा काम गर्दै आएको छ,’ दूतावासले भनेको छ ।
बाल फाइजर खोप अभियानको तयारी स्वरूप अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले उक्त खोप लगाउने विषयमा ५६ जिल्लाहरूमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षण प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहयोग गरेको थियो ।
विश्वव्यापी रूपमा अमेरिकाले ११५ विकासोन्मुख देशहरूलाई १ अर्ब १० करोडभन्दा बढी कोभिड–१९ खोप अनुदान स्वरुप उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । अमेरिकाले ५० करोडभन्दा बढी मात्रा उपलब्ध गराइसकेको छ ।
चार अर्ब अमेरिकी डलरको योगदान गर्ने अमेरिका विश्वव्यापी खोप पहल कोभ्याक्सको सर्वाधिक ठुलो द्विपक्षीय दाता पनि हो ।
‘विश्वव्यापी कोभिड–१९ प्रतिकार्यको नेतृत्व गर्न अमेरिका प्रतिबद्ध छ किनकि यो सही कार्य हो र यसले अमेरिकी र नेपाली हामी सबैलाई एकनासले सुरक्षित बनाउने छ । यस महामारीको अन्त्य गर्न नेपालसँग सहकार्य गरेकोमा हामीलाई गर्व छ,’ दूतावासले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति विकास कोष र ट्रान्सफर्मरको दुई ठुला भ्रष्टाचार मुद्दा पेसीमा
-
वीरगञ्ज भन्सार : पेट्रोलियम पदार्थबाट ३७ अर्ब राजस्व सङ्कलन
-
दुई जिल्लाले धानेको सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र
-
कपिल शर्मा, राजपाल यादव, सुगन्ध मिश्रा र रेमो डिसुजालाई ज्यान मार्ने धम्की
-
जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पौडेल
-
छ महिनामा जीवनबीमा कम्पनीले उठाए ८१ अर्ब प्रिमियम