घृणाको यो समयमा हाम्रा बच्चाहरूलाई प्रेमको पाठ कसरी सिकाउने ?

person explore access_timeअसार ५, २०७९ chat_bubble_outline0

म सधैं आमा बन्ने सपना देख्थेँ । मलाई आफूमा पूर्ण विश्वास थियो । मलाई थाहा थियो म असल आमा बन्नेछु । म मेरो बच्चाको हात समातेर हिँडेको कल्पना गर्थेँ । हामी दुवै, फुर्तिलो चालमा पाइला चाल्दै । खुसीको लहरले हाम्रो हृदयलाई ढपक्कै ढाक्ने गरी ।  


मेरो पहिलो सन्तान हुनुभन्दा धेरै वर्ष अघि, मैले आफ्ना छोराछोरीलाई कसरी हुर्काउने भनेर धेरै नोट बनाइरहेको थिएँ ।  ती नोट असाध्यै राम्रा थिए ।



छोरीलाई पहिलो पटक बोक्दा मैले उनका लागि सुस्त आवाजमा गाउन सुरु गरेँ ।



छोरी असाध्यै रोइरहेकी थिइन् । तर मेरो गीत सुनेर उनको रोदन रोकियो । उनी सुनिरहेकी छिन्, मलाई यस्तै विश्वास थियो । मेरो आवाज उनले चिन्थिन् । उनी मेरो गर्भमा भएदेखि नै उनको लागि यो गीत गाइरहेको थिएँ ।

तर समय बित्दै जाँदा मैले महसुस गरेँ कि मेरो आवाजले उनलाई सधैं शान्त गर्दैन । केवल दुई हप्ताको अन्तरमा, मेरा श्रीमान्, मेरी आमा र म मिलेर बच्चा किन रुन्छ भनेर यस्तो चेकलिस्ट तयार पार्यौं । यो सूची यस्तो प्रकारको थियो

१. के उसलाई  भोक लागेको छ ?

२. के उसलाई केही खाएपछि उकुसमुकुस भएको छ ?

३. के उसको न्याप्पी भिजेको छ ?

४. के उसलाई सुताउनका लागि  बिस्तारै हल्लाउनु पर्छ ?

५. के उसको नाक बन्द छ ?

६. र पुनः पहिलो प्रश्नमा फर्किनुहोस्

कहिलेकाहीँ बच्चाहरूलाई जुन सुकै तरिका अपनाउँदा पनि शान्त पार्न गाह्रो हुन्छ । सबै प्रयास असफल भएपछि म आफ्नो एक नरम निलो सलले हामी आफ्नो बच्चालाई लपक्क बेरेर मोटरसाइकलको सवारीमा निस्कने गर्छौँ । यसो गर्दा सबैको मन शान्त हुने गर्दथ्यो ।

संसारको कुरा  सुन्ने अभ्यास

एक साँझ हावाहुरी चलिरहेको थियो र एक्कासी पानी पर्न थालेपछि बाटोको छेउमा रहेको चिया पसलमा ओत लाग्नुपरेको  एउटा घटना मलाई याद छ । हामी वरपरका मानिसहरूले यति सानो बच्चालाई लिएर किन हिँडिरहेको होला भनेर खासखुस गरिरहेका थिए । मैले बच्चालाई मेरो छातीमा सुरक्षित रूपमा टाँसेर राखेको थिएँ, तैपनि हामीले आफूलाई कठघरामा उभिएको महसुस गर्यौं ।

जति जति वर्ष बित्दै गए, जीवनको बाटोमा हाम्रो यात्रा अघि बढ्यो, ऋतुहरू परिवर्तन हुँदै गए र निकै प्रेमले पालिएका मेरो भ्रमहरु टाढिन थाले । मैले सिकेँ कि मानिसहरुले घुरिरहन्छन् भने घुरिरहुन् । मैले मानिसहरुको कुरालाई मनमा नलिन पनि सिकेँ ।

मैले अपरिचितहरूको टिप्पणी, उनीहरूको सल्लाह, यहाँसम्म कि उनीहरुको गालीमा पनि मुस्कुराउने बानी बसालेँ । जब बच्चाहरु आफ्नै तरिकाले संसारको अन्वेषण गर्न बाहिर निस्किए, मैले मेरो हृदय कठोर बनाएँ । सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि हाम्रो मानसिक सुरक्षाको लागि मैले यस्तो घर बनाउन सुरु गरेँ जुन हाम्रो गुँड होस् । जहाँ हामी सुरक्षित रहन, चर्को स्वरमा हाँस्न र आफैलाई ताजा गर्न फर्कन सक्छौं ।

अभिभावक हुनुको अर्थ के हो ?

अभिभावक हुनु भनेको सन्तान जन्माउनु मात्र होइन । केहि नयाँ बनाउने काम त पछि सुरु हुन्छ । पहिले धेरै चीजहरूको विनाश आवश्यक छ । तपाईंको अहंकार कुनै आवाजबिना ध्वस्त हुन्छ । गर्भधारण गर्नु अघि तपाईं जे जस्तो हुनुहुन्थ्यो, त्यसलाई बाईबाई भन्नु ।

भावनाबारे जे जस्तो बोध तपाईंमा छ, त्यसलाई नयाँ ढङ्गले परिभाषित गर्नु । बच्चा जन्मनु अघि हामीबीच जे जति हुने गर्दथ्यो त्यसको एउटा धमिलो स्मरण मात्रै बचाइराख्नु ।  

अभिभावक हुनु भनेको एउटै सासमा गर्व र खुशी दुवै महसुस गर्नु हो।  केही गुमाएको अनुभूति हुनु । यो अवधिमा तपाईंले के गुमाउनु भयो, त्यो भन्न गाह्रो हुन्छ । आफ्नो बाल्यकालको स्मृतिलाई तपाईंले बारम्बार अनुसन्धान गर्नुहुन्छ, यो पत्ता लगाउनका लागि कि आखिर हामी के खोजिरहेका छौँ ।

यो काम तपाईं ती आघात, ती डरलाई पहिचान गर्नका लागि पनि गर्नुहुन्छ, जुन तपाईं आफ्नो बच्चाको भागमा पर्न दिनुहुन्नँ । यो क्रममा तपाईं ती चोटसँग परिचित हुनुहुन्छ जसलाई तपाईंले अस्वीकार गर्दै आइरहनुभएको छ तर ती अझै आलै छन् ।

जब मानिस हुर्किन्छ र उसको सन्तान हुन्छ, उसको हराएको बाल्यकालले उसको चेतनाको ढोका ढकढक्याउँछ र आफ्नो उपचारको माग गर्दछ । आफ्ना सन्तान हुर्काउँदा मात्रै थाहा हुन्छ कि हामीले आफू भित्रको हराएको बच्चालाई पुनर्जीवित गर्न आवश्यक छ ।

मेरा छोराछोरी हुर्कदै जाँदा, घरदेखि बाहिरसम्म उनीहरूको वरपरको वातावरण कस्तो अराजक बनेको छ भनेर निगरानी गर्न आफूलाई रोक्न सक्दिनँ । उनीहरुका अुनभूतिमा नकारात्मक खबर, युद्ध र होहल्लाको बमबारी भइरहेको छ ।

टिभी स्क्रिनबाट आउने चिच्याहट, मोबाइलमा भरिएका भिडियोहरू, ठूला(ठूला आवाजमा गरिएका कुराकानी, चित्त दुखाउने खालका टिप्पणी, दुःख पुर्याउने खालका टिप्पणी, अरूको अपमान । तिनीहरूमध्ये धेरैजसो बच्चा आफ्नो परिवेशभन्दा टाढा हुँदा हुँदै युवाको रुपमा हुर्किने गर्छन् । यस्ता युवा जसलाई कुनै पनि प्रकारको हिंसाले छुँदैन र जुन मानिसमा उनीहरु निर्भर थिए, उनीहरुलाई अपरिचित मान्न थालेका छन् । संवेदनशील बच्चाले आफूलाई आफ्नो वरिपरिको दुनियाँबाट सधैँका लागि सम्पर्क विच्छेद गर्ने गर्छन् ।  

चिन्ता, डर र उदासीनताको यो समय हामीले आफूमाथि थोपरेका छौँ । तर आमा–बुवाको रुपमा हामीले यो बुझ्नुपर्छ कि हामी यो मामिलामा लाचार छैनौँ । आफ्नो बच्चाको बाल्यकाल जोगाउन हामीले पनि एउटा महत्वपूर्ण भूमिका निभाउनुपर्छ ।

केटाकेटीहरूले तपाईलाई जे गरेको देख्छन्, त्यही गर्छन्

आफ्नो जीवनको मध्यमा जब मैले अभिभावकको यात्रा सुरु गरे तब म आत्म–सुधारको कार्यक्रममा हस्ताक्षर गरिरहेकी छु भन्ने कहिल्यै सोचेकी थिइनँ । मैले केही कुरा सिकाउनु थियो, आफूले केही सिक्नु थिएन । तर अभिभावकत्वमा आफ्ना आमा–बुवाभन्दा भिन्न बाटो समात्ने इच्छा राख्नु कति सजिलो छ भन्ने मैले महसुस गरेँ तर आफ्नो सामाजिक–सांस्कृतिक पूर्वाग्रहबाट स्वतन्त्र हुन कति मुश्किल छ ।

आफ्नो नैतिक शिक्षाको पाठ मलाई याद थियो । चाल–चलन र संस्कारको जानकारी पनि मलाई थियो । इन्टरनेटमा जवाफ खोज्न मलाई धेरै नै आउँथ्यो । यहाँसम्म कि पेरेन्टिङका केही किताब पनि मसँग थिए जसमा विभिन्न सन्दर्भ तस्बिरसहित छापिएका थिए । तर जीवनका जुन मूल्य किताब र कक्षामा असाध्यै धेरै राम्रा लाग्छन्, त्यो वास्तविकतामा खासै प्रभावकारी हुँदैनन् । प्रत्येक क्षण तिनीहरूलाई परीक्षण र प्रश्न गर्न आवश्यक पर्छ ।

के ठूलाका कुरा हामीले सधैँ मान्नुपर्छ ? के शिक्षक सँधै सही हुन्छन् ? कति आइसक्रिमलाई बढी आइसक्रिम मान्ने ? के म लेहेङ्गासँग आफ्नो हवाई चप्पल लगाउन सक्छु ?

आफ्नो उदाहरणमार्फत् बाटो देखाउने यो मामिलामा यो सबैभन्दा असुविधाजनक पाठ सिद्ध भएको छ । तपाईंलाई याद छ, हाम्रा अभिभावकले हामीलाई भन्ने गर्नुहुन्थ्यो, ‘ठूलो भएपछि तिमीलाई जे मन लागेको छ, त्यो गर ।’

उहाँहरुले यस्तो त पक्कै भन्नुहुन्थ्यो तर यसको अर्थ यहि नै हुँदैनथ्यो । यदि म आफ्नो बच्चा राम्रोसँग सुतुन्, स्वस्थ खाना खाउन् र सिधा तरिकाले बसुन् भन्ने चाहन्छु भने सबैभन्दा पहिला यो कुरा म आफैँले गर्नुपर्छ । उनीहरुले मैले जे गर्छु, त्यहि गर्छन्, मैले भनेको भरमा केही पनि गर्दैनन् ।

म आफू भने सधैँ अनलाइन बसेर बच्चाहरु भने आफ्नो कम्प्युटर लग अफ गरेर पार्कमा खेल्न जाउन् भन्ने आशा राख्न सकिँदैन । हरेक कुरा म आफैँले गरेर देखाउनु पर्छ ।

बच्चाहरूले जटिल कुरा पनि सजिलै बुझ्छन्

अन्तिम कुरा, एउटा उपहारको पनि कुरा गरौँ । बालबालिकाको जीवन । यसले मेरो धेरैजसो दबाब हटाइदिएको छ । मैले सुन्नु मात्रै पर्छ । ठूलाको कुरामा झुटको जटिल जालो रहन्छ, बालबालिकाले त्यसलाई निकै सजिलैसँग देख्न सक्छन् ।

मेरी कान्छी छोरी चार वर्षकी हुँदा उनले भनिन्, ‘सबैजना मलाई प्रेम गर्छन् । मेरो घरमा आउने सबै पाहुना मलाई प्रेम गर्छन् ।’

‘सुन्दा त यो कुरा निकै राम्रो लागिरहेको छ,’ मैले उनलाई भनेँ । उनको लवजमा यस्तो थियो कि जस्तो उनको मनमा कुनै समस्या होस् ।

‘मलाई यो राम्रो लाग्दैन,’ उनले भनिन् ।

‘तिमीलाई राम्रो किन लाग्दैन,’ मैले सोधेँ ।

उनले भनिन्, ‘हिजो फुपूले मसँग राम्रोसँग कुरा गर्नुभयो तर त्यसको केही समयपछि उनले आफ्नी छोरीलाई गाली गर्नुभयो । मेरी बहिनीलाई कस्तो लागिरहेको होला, त्यो सोचेर मलाई असाध्यै नराम्रो लाग्यो ।’

मैले उनलाई अँगालो हालेँ । आमा–बुवा भएको नाताले मैले एउटा मात्रै कुरा गर्नुछ, त्यो हो आफ्नो बच्चामाथि भरोसा । यसले बालबालिकाले आफैँमा आत्मविश्वासी बनाइराख्न सहयोग गर्छ ।

सहि के हो, न्याय के हो ? बालबालिकामा यसको बुझाइ प्राकृतिक रुपमा नै आउने गर्छ । बच्चाहरुलाई महत्व दिनेहरूलाई नै उनीहरुले हेर्छन् । हामीलाई चोट लाग्यो भने उनीहरूलाई पनि चोट पुग्छ । उनीहरुले आफू  वरपरको संसार नियाल्छन् । हाम्रो सन्तान यस्तो पीढि बन्नेछन् जसले प्रेमको चिसो हावाले घृणाको बादल उडाइदिने छन् ।

नताशा बधवार, बीबीसी हिन्दी

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।