मोरङको कानेपोखरीमा काँग्रेसभित्र कारबाहीको होड
नेपाली काँग्रेसमा गत स्थानीय निर्वाचनमा भएको पराजयको विषयलाई लिएर कारबाहीको होडबाजी चलेको छ । मोरङस्थित कानेपोखरी गाउँ कमिटीले स्थानीय तह निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो ।
काँग्रेसको कानेपोखरी गाउँ कमिटीले राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौला, काँग्रेसका महाधिवेशन प्रतिनिधि जयराज संयोग, क्षेत्रीय प्रतिनिधि मदन सेडाइ र कानेपोखरी गाउँपालिका उपसपभाति भानु फुयाललाई कारबाही सिफारिस गरेको थियो ।
निर्वाचनमा कानेपोखरी गाउँपालिकाको अध्यक्षमा पार्टीका आधिकारिक उम्मेदवार सञ्जय भट्टराईलाई उनीहरुले असहयोग गरेको ठहरका साथ कारबाहीको सिफारिस गरिएको थियो । कानेपोखरी गाउँ कमिटीको नेतृत्वमा काँग्रेसको संस्थापन इतर पक्ष छ भने कारबाहीको सिफारिस गरिएकाहरु संस्थापन पक्षका हुन् ।
पार्टीको गाउँ कमिटीको उक्त निर्णयपछि संस्थापन पक्षले वडा समितिबाट सभापति सहितका नेतालाई हटाउने निर्णय गर्न थालेको छ । नेपाली काँग्रेस कानेपोखरी गाउँपालिकाको २ नम्बर वडा समितिले पार्टीबाट वडा नम्बर २ का उम्मेदवारलाई हराउन विपक्षी पार्टीसँग साँठगाँठ गरेको भन्दै गाउँपालिकाका अध्यक्षका उम्मेदवारसहित ५ जनालाई कारबाहीको सिफारिस गरेको छ ।
कारवाहीको सिफारिसमा परेकाहरूमा मोरङको कानेपोखरी गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्षका उम्मेदवार एवम् नेपाली काँग्रेस प्रदेश १ का सदस्य सञ्जय भट्टराई, नेपाली काँग्रेस मोरङ ३ (क) का सचिव हिमप्रसाद तिम्सिना, नेपाली काँग्रेस कानेपोखरी गाउँपालिकाका सभापति योगेन्द्रप्रसाद दाहाल, नेविसंघ मोरङका पूर्व कार्यवाहक सभापति फडिन्द्र निरौला र नेपाल तरुण दल कानेपोखरी २ का सभापति अर्जुन खत्री छन् ।
उनीहरू पाँचै जनाले २ नम्बर वडाका अध्यक्षका उम्मेदवार गोपाल खड्कालाई हराउन नेकपा एमालेसँग साँठगाँठ गरेको संस्थापन पक्षको आरोप छ । काँग्रेसका २ नम्बर वडा समिति सभापति बमबहादुर पौडेल, प्रचारप्रसार समितिका संयोजक बिनोद बोहोरा र वडाध्यक्षका उम्मेदवार गोपाल खड्काले संयुक्त हस्ताक्षर गरी मोरङ काँग्रेसलाई कारबाहीको सिफारिस गरेको हो । कानेपोखरी गाउँपालिकामा नेकपा एमालेले निवर्तमान अध्यक्ष ताराबहादुर काफ्लेलाई टिकट नदिएपछि काँग्रेसभित्र एकाएक माओवादीसँग हुन लागेको गठबन्धन टुटेको थियो ।
एमालेसँग भट्टराईको कनेक्सन आरोप
एमालेले राजमति इङ्नाम र भोला अधिकारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाएपछि एमालेको असन्तुष्ट पक्ष र काँग्रेस उम्मेदवार सञ्जय भट्टराईबीच सुनसरीको तरहरास्थित एउटा सेकुवा कर्नरमा भद्र सहमति भएको काँग्रेसको एउटा पक्षको आरोप छ ।
उक्त सहमति अनुसार एमालेको असन्तुष्ट पक्षले वडा नंं. २ बाट काँग्रेसका गाउँपालिका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईलाई २ हजार मत सहयोग गर्ने त्यसबापत काँग्रेसले एमालेबाट वडा अध्यक्षका उम्मेदवार रहेका सुशील बुढाथोकीलाई सकेसम्म जिताउनका लागि सहयोग गर्ने र काँग्रेसबाट उम्मेदवार रहेका गोपाल खड्कालाई हराउने उद्देश्य थियो ।
दुई चरणमा भएको वार्तामा काँग्रेसका तर्फबाट स्वयं गाउँपालिकाका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराई र अर्का एकजना भट्टराई थरका नेता सहभागी रहेको बताइएको छ । एमालेका तर्फबाट असन्तुष्ट पक्षका तीन जना नेता रहेको बताइए पनि नाम उल्लेख गरिएको छैन ।
सहमति भएको कुरालाई काँग्रेसका अध्यक्षका उम्मेदवार सञ्जय भट्टराईले गत जेठ ८ गते बिहान स्वीकार गरिसकेका छन् । वडाध्यक्षका पराजित उम्मेदवार गोपाल खड्कालाई विराटनगरस्थित आफ्नै निवासमा बोलाएर भट्टराईले कम्युनिस्टको आश्वासनमा परेर गलत निर्णय गरेको बताइसकेका छन् ।
खड्काले भने, ‘उहाँले गल्ती स्वीकार गरिसक्नु भयो । अब किन कारबाहीको सिफारिस नगर्ने ?’ त्यतिमात्र होइन, खड्कालाई हराउनका लागि भट्टराईले एमाले उम्मेदवार सुशील बुढाथोकीलाई नगद ३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको समेत खुलासा भएको छ । समाचार स्रोतका अनुसार उक्त ३ लाख रुपैयाँ नेपाली काँग्रेस मोरङ ३ (क)का सचिव हिमप्रसाद तिम्सिनाले बुढाथोकीका प्रतिनिधिलाई हात लगाएका थिए ।
२८ गते राति भट्टराईले आफ्ना विश्वासपात्र हिमप्रसाद तिम्सिनालाई पैसा दिएर एमाले उम्मेदवारलाई हात लगाइदिन उर्दी गरेपछि सोही राति दलेलीमा पैसा बुझाउने र बुझ्नेबीच झडप भएको थियोे । काँग्रेस गाउँ सभापति योगेन्द्र दाहालसमेत खड्कालाई हराउन रातभर सक्रिय रहेको काँग्रेसका वडा सभापति बमबहादुर पौडेल बताउँछन् ।
२८ गते राति सञ्जय भट्टराई र योगेन्द्र दाहाल पक्षीय नेताहरू गोपाल खड्कालाई हराउन पैसा बाँड्ने अभियानमा थिए । उक्त अभियान रोक्न गोपाल खड्का समूहले प्रयास गर्दा पार्टी सभापति दाहाल, पथरी प्रहरीका डिएसपी वेदप्रसाद गौतम र मोरङ ३(क) का प्रदेश सभा सदस्य सूयर्माराज राईले ‘काँग्रेसहरू कोही पनि बाहिर ननिस्किनु, बाहिर निस्किँदा हुन सक्ने दुर्घटनाको जिम्मा आफै लिनु’ भनेर फोन गरेका थिए ।
दाहाल र सांसद राईले नै खड्काविरुद्ध पैसा बाँड्ने अभियान चलाउन एमालेलाई प्रहरीको सहयोग जुटाइदिएको खुलेको छ । यद्यपि सांसद राईले उक्त फोन बाहेक अरू कुनै गतिविधि नचलाएकाले कारबाहीको सिफारिस नगरिएको वडा समितिको भनाइ छ ।
उता नेविसंघका पूर्व कार्यवाहक सभापति फडिन्द्र निरौलाले खड्कासँग काँग्रेसको प्रचार प्रसार गर्न नगद लिएका थिए । नगद लिएपछि काँग्रेसका क्रियाशील सदस्यहरूको घरघर पुगेर उनले खड्काविरुद्ध भ्रम छरेको बताइएको छ । निरौलालाई तरुण दलका वडा सभापति अर्जुन खत्रीले भरथेग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना
-
क्रिकेट नयाँ पुस्ताको सपना र गौरव बनेको छ : प्रधानमन्त्री
-
महालक्ष्मी विकास बैंकले देशभरका ७७ स्थानमा घरजग्गा लिलामी गर्दै
-
कास्कीको अन्नपूर्णमा २२ देखि ‘हनि हन्टिङ’ महोत्सव
-
नारायणी अस्पतालको ‘क्याथ ल्याब मेसिन’ बन्यो उपयोगविहीन