बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

वर्षायाम सुरु भएसँगै खोटाङका कच्ची सडक ठप्प

आइतबार, ०५ असार २०७९, ०८ : ०२
आइतबार, ०५ असार २०७९

वर्षायाम सुरु भएसँगै खोटाङका अधिकांश कच्ची सडक ठप्प भएको छ । वर्षाको सिजन सुरु भएसँगै कच्ची सडक हिलाम्मे भएपछि काठमाडौं–लामीडाँडा–खार्पा–दुबेकोल–ऐसेलुखर्क, दिक्तेल–मात्तिम–टेम्मा–याम्खा–पञ्चमी–खोटाङबजार, दिक्तेल–राजापानी–रेग्मीटार–रसुवा, दिक्तेल–जालपा–हौंचुर–फेदी माक्पा–ऐसेलुखर्क, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी–बालाबेँसी, रसुवा–सिमपानी–खोटाङबजार, रसुवा–रोक्सिङ–पञ्चमी–याम्खा–मात्तिम र रसुवा–टेम्मा–छितापोखरी सडक अवरुद्ध भएका हुन् ।

पानी पर्दा विभिन्न ठाउँमा सडक बिग्रेकाले ग्रामीण क्षेत्र जोड्ने सडकमा बस तथा जीप चल्न छाडेको खोटाङ यातायात प्रालिले जनाएको छ । वर्षाका कारण कच्ची सडकमा बनेको खाल्डाखुल्डी र हिलोमा सवारी साधन भासिने समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि कच्ची सडकमा सवारी साधन चलाउन छाडिएको प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । हिलाम्मे बनेका कच्ची सडकमा बस तथा जीप हिँड्न सक्ने अवस्था छैन । 

सवारी साधन सञ्चालन नहुँदा आकस्मिक कामका लागि यात्रा गर्नुपर्ने स्थानीय मारमा परेका छन् । सडक सञ्चालन नहुँदा गाउँबाट बिरामी ओसार–पसार गर्ने एम्बूलेन्स सेवा सबैभन्दा बढि प्रभाबित भएको छ । एम्बूलेन्स हिँड्न नसक्ने अवस्थामा कतिपय बिरामीलाई अस्पताल लैजान हेलिकोप्टर चार्टर गर्ने गरिएको छ । 

हाल जिल्लाका कच्ची सडकमा ट्याक्टर र बाईक जवरजस्त चलाउने गरिएको छ । मोटरसाइकल हिलोमा भासिँदा सकसका साथ निकाल्ने गरिएको प्रतिक्रिया सामाजिक सञ्जालमा छ्याप–छ्याप्ती देखिन्छ । हिलाम्मे सडकमा सकसपूर्ण यात्रा गरेका स्थानीयले स्थानीय तह, प्रदेश र संघका जनप्रतिनिधिमाथि आक्रोश पोख्ने गरेका छन् ।

अधिकांश बजेट कच्ची सडक खन्नमा खन्याउने स्थानीय तहले कच्ची सडक स्तरोन्नतीमा भने ध्यान दिएको देखिन्न । स्तरोन्नतीमा विनियोजन गरिएका बजेट पनि टालटुल पारेर सक्ने गरिएको स्थानीयको जनगुनासो छ । 

हाल कालोपत्रे भइसकेका मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी–जयराम तथा दिक्तेल चखेवाभञ्ज्याङ सडक खण्डमा मात्र सवारी साधन गुडिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप