शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसले गरेका कामको प्रचार हुन सकेन : वरिष्ठ नेता पौडेल

शनिबार, ०४ असार २०७९, २० : २८
शनिबार, ०४ असार २०७९

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसकै कारण तनहुँ जिल्लामा उल्लेख्य विकास भए पनि प्रचार गर्न नसकिएको बताएका छन् । तनहुँको व्यास नगरपालिका–११ रानीगाउँमा आज आयोजित युवा अग्रजहरूसँगको भेटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले काँग्रेसले गरेको विकासलाई प्रचार गर्न नसक्दा पछि परेको उल्लेख गरे। 

“यति धेरै भौतिक संरचना बनेका छन्, तनहुँवासीको आर्थिक उन्नति, रोजगारी सिर्जना भएको छ, तर काँग्रेसले गरेको हो भनेर प्रचार गर्न सकेनौँ”, पौडेलले भने । वरिष्ठ नेता पौडेलले काँग्रेसकै कारण जिल्लामा उल्लेख्य विकास भएको दाबी गरे ।

विसं २०४७ सम्म पृथ्वीराजमार्गबाहेक बाटोको पहुँच नभएको जिल्लामा काँग्रेसकै कारण बाटोघाटोमा ठूलो विकास भएको उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले भने, “शिक्षा, स्वास्थ्य, खानेपानीलगायतमा पनि हाम्रो ठूलो लगानी छ ।”

वरिष्ठ नेता पौडेलले गत निर्वाचनबाट केपी शर्मा ओलीको सरकारलाई देश बनाउनका लागि पाँच वर्षको म्याण्डेट दिइए पनि आपसी द्वन्द्वका कारण सरकार परिवर्तन भएको उल्लेख गरे । “देशको विकास होस् भन्ने हाम्रो पनि चाहना थियो, तर उहाँहरूकै झगडाका कारण काँग्रेस नेतृत्वमा सरकार बनेको छ”, पौडेलले भने ।

वरिष्ठ नेता पौडेलले काँग्रेस कमजोर हुनुमा काँग्रेसले जनताको चाहनाअनुसार काम नगर्नु मुख्य कारण रहेको बताउँदै भने, “कम्युनिष्टहरू मिलेका कारण पनि काँग्रेस कमजोर भयो, तर जनताको चाहनाअनुसार काम गर्न सकिए काँग्रेस एक्लै बलियो हुन्छ ।”

संविधान निर्माणका लागि काँग्रेसको योगदानलाई जनताले भुल्न नसक्ने बताउँदै उनले भने, “माओवादीलाई शान्तिपूर्ण प्रक्रियामा ल्याउन मेरो ठूलो भूमिका छ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप