शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माउथ पब्लिसिटीले बढायो ‘चिसो मान्छे’ मा दर्शक

शनिबार, ०४ असार २०७९, १५ : ३१
शनिबार, ०४ असार २०७९

शुक्रबारबाट देशभर प्रदर्शनमा आएको फिल्म हो ‘चिसो मान्छे’ । देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले  शुक्रबार भन्दा शनिबार राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मले शनिबार देशभरको हलमा प्रायः हाउस फुलको ब्यवसाय गरेको निर्देशक दीपेन्द्र के खनालले बताए ।

‘फिल्म जतिले हेरेका छन् । राम्रो प्रतिक्रिया दिएका छन्’ निर्देशक खनालले भने, ‘शुक्रबार फिल्म हेर्ने दर्शकको राम्रो प्रतिक्रिया र माउथ पब्लिसिटीका कारण शनिबार राम्रो दर्शक पाएको छ ।’ शनिबार केही हलमा शो पनि बढाएको बताएका खनालले आइतबारबाट झन् फिल्मका दर्शक बढ्ने अनुमान लगाए ।

‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका खनालको फिल्मप्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा परेको पीडा देखाइएको छ ।

स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनालको मुख्य भूमिका रहेको फिल्ममा अशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्‍टि आचार्य, विकास खनाल लगायतको अभिनय देख्न सकिन्छ । फिल्मको कथा, पटकथा, संवाद तथा छायाङ्कन निर्देशक खनाल स्वयंले लेखेका हुन् । फिल्म दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

फिल्ममा स्वस्तिमाले बाजुराको अति विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । प्रचार सामाग्रीमा समेटिए अनुसार उनका बाजुराली लवज, लुक्स र गेटअपले दर्शक लोभ्याएका छन् । फिल्म डिएस डिजिटलको ब्यानरमा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप